2026 April 17/ 04:36: 52am

    काभ्रेपाल्चोक जिल्लामा रहेका अधिकांश खानी तथा क्रसरहरु अबैद्य भएको प्रतिवेदन हरेक वर्ष प्रकाशन हुन्छ । हरेक वर्ष जिल्ला स्तरीय अनुगमन गरिन्छ । समितिले प्रतिवेदन सार्वजनिक गर्छ जिल्लाका अबैध क्रसर र खानीहरु बन्द गराईनेछ । स्थानीय तहको प्रमुख श्रोतका रुपमा रहेका खानी र क्रसरहरु तत्कालका लागि महत्वपूर्ण मानिन्छन् । निर्माणका हिसाबले मात्रै नभई आम्दानीका हिसाबले पनि खानी र क्रसरहरु प्रमुख श्रोत हुन् । तर सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा आएको जस्तो विपद काभ्रेका खानी तथा क्रसर संचालन भएका स्थानमा जति बेला पनि हुन सक्ने चेतावनी अनुगमन टोली, विज्ञहरुको समुहले दिए पनि स्थानीय सरकार सचेत छैन । खानी र क्रसर संचालकहरु पहुँचका आधारमा त्यसलाई लत्याउँदै आएका छन् । नेपालकै नमुना सडक जसले अन्र्तराष्ट्रिय स्तरको सम्बन्ध जोडिरहेको छ विपी राजमार्ग समेत परिवर्तन गराउँदै शक्तिका आडमा खानी संचालन भईरहेको छ । निरन्तरको पहिरो, खानीबाट उत्पन्न भएका डस्ट तथा अन्य सामाग्रीहरुले विपी राजमार्ग मात्रै होईन स्वच्छ पानी बग्ने रोशी खोला समेत दुर्गन्धित भएका छन् । सर्वसाधारणहरु त्रसित छन् । शक्तिका आडमा संचालन भएका खानी र क्रसरहरु नियमित संचालन हुँदा राज्यका कुनै निकाय बोल्न आँट गर्दैनन् । 
    काभ्रेपलाञ्चोक जिल्लामा ९ वटा पालिकामा खानी तथा क्रसर संचालनमा छन् । दर्ता भएका मध्ये १९ वटा क्रसर र खानी बन्द अवस्थामा छन् । दर्ता भएका ४८ वटा मध्ये २९ वटा संचालनमा छन् । संचालनमा भएका मध्ये अधिकांश कानून विपरीत रहेको अनुगमन समितिको निश्कर्ष छ । खानीको अनुमति लिएका उद्योगहरुले अनुमति विना क्रसर संचालन गरिरहेका छन् । तर पनि रोक्ने आँट र साहस कसैमा छैन । पछिल्लो समय २०७९ भदौ १५ देखी २०७९ असौज ११ गतेसम्म खानी तथा क्रसरहरुले कार्यविधीले तोकेको मापदण्ड पूरा गरे नगरेको, स्थलगत अवलोकनमा देखिएको यथार्थ अवस्था, नदीजन्य तथा खानीजन्य उद्योगहरुको वर्तमान अवस्था तथा जोखिमको क्षेत्र, नदीजन्य तथा खानीजन्य उद्योगहरुको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक सुझाव तथा कार्यविधिले तोकेका अन्य क्षेत्रहरुका बारेमा अनगुमन गरेको थियो । उद्योग स्थलमा खानी तथा क्रसर उद्योग दर्ता संचालन सम्बन्धी प्रमाणपत्र, इजाजत पत्र जस्ता कागजातहरु, क्रसर खानीले चर्चेको जग्गाको स्वामित्व देखाउने कागजात नभएको साथै सम्पर्क गर्दा समेत उपलब्ध नगराएको, क्रसरबाट उत्पादित डस्ट अधिकांश उद्योगले उचित व्यवस्थापन नगरेकोले खोला÷खोल्साको वहाव परिवर्तन गर्न सक्ने, खोल्सा हुदै नदी सम्ममा पुगी थिग्रिएर तटीय क्षेत्रमा असर गर्ने निश्कर्ष अनुमगन समितिले निकालेको छ । उद्योगले मेशिन चलाउने क्षेत्र घेरावार नगरिएको कारण बाह्य व्यक्ति सहजरुपमा प्रवेश गर्न सक्ने हुँदा कर्मचारी÷कामदारको असुरक्षा भएको हुँदा कम्पाउन्डको व्यवस्था गरी गेटमा चौकीदार राख्नु पर्ने व्यवस्था प्रभावकारी भएको नदेखिएको, खानीको माथिल्लो भाग अचानक पहिरो जान सक्ने र सो बाट माथिल्लो तथा तल्लो भागका मानव बस्ती÷खेती योग्य जमिनको मानवीय तथा भौतिक क्षति हुन सक्ने साथै खानी क्षेत्रमा संचालन रहेका मेसिन औजार, कर्मचारी, ज्यामी, मजदुरहरु  समेत उच्च जोखिममा रहेको समितिको निश्कर्ष छ । मेशिन संचालनको समयमा उद्योगबाट उड्ने धुलो धुँवाको व्यवस्थापन अधिकांश उद्योगले नगरेकोले उद्योग काम गर्ने सबै कामदार र सो क्षेत्र वरपरका मानव बस्तीका मानिसहरुको जनस्वास्थमा असर परेकोले धुलो धुवाँलाई उद्योग भित्र नै निष्क्रिय पार्ने प्रविधि जडान गर्नु पर्ने सुझाव दिएको छ । यो सुझाव मात्रै हो कार्यान्वयन सम्भव छैन । सधै अबैद्य खानी निरन्तर चलिरहेका छन् ।