जिल्लामा बहुदल पछि ३५ जना सांसद बने। निर्वाचित, मनोनित र समानुपातिक सूचीबाट प्रतिनिधि सभा, संविधान सभा र प्रदेश सभामा ३५ जना सांसद बनेका हुन्। सांसद् भएकाहरु मध्ये पछिल्लो समय शक्तिशाली मन्त्री गोकुल बास्कोटा मात्रै बने। सरकारका प्रवक्ता एवं संचार र शहरी विकास मन्त्री भएका बास्कोटाले जिल्लाको विकासको खाका सहितको बजेट विनियोजन र योजना निर्माणमा खेलेको भूमिकाले काभ्रे जिल्लाको समृद्धिको खाका कोरिएको छ। जुन खाका दोश्रो पटक प्रतिनिधि सभामा विजयी भएर पुरा गर्ने योजनामा बास्कोटा छन्। केन्द्रीय सदस्य, पोलिटब्युरो हुँदै पार्टीको शक्तिशाली स्थानमा पुगेका बास्कोटाले पार्टीको नेतृत्वमा सरकार हुँदा पनि काभ्रेपलाञ्चोकमा विकासको बाढी ल्याएका छन्। जुन अरु मन्त्री र सांसद्ले काभ्रेपलाञ्चोकमा ल्याउन सकेनन्।
जिल्लामा एमालेबाट केशव बडाल र काँग्रेसबाट राजेन्द्र खरेल मन्त्री भएका थिए भने एमालेबाट गोविन्दनाथ उप्रेती, माओवादीबाट सुर्यमान दोङ, काँग्रेसबाट कञ्चनचन्द्र बादे र राप्रपाबाट रेशम लामा राज्य मन्त्री भएका थिए। एमालेका चन्द्र लामा, र बसुन्धरा हुमागाई र माओवादीका रत्न ढकाल प्रदेश मन्त्री बनेका थिए। बास्कोटा बाहेक अरु मन्त्री भएका बेला जिल्लाले सम्झने विकासको कुनै स्थायी संरचना निर्माण भएको छैन। काभ्रे निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित बास्कोटा संचार तथा सूचना राज्य मन्त्री हुँदै फुलमन्त्री, सरकारको प्रवक्ता र शहरी विकास मन्त्रालयको मन्त्री समेत बने। बास्कोटा मन्त्री हुँदा शुरु भएका जिल्लाका कयौ योजनाहरुले विकासको सम्भावना र अवसर सिर्जना गरेको छ। कयौं योजना पाईपलाईनमा थिए। अर्काे सरकार गठन भए लगत्तै मन्त्री बास्कोटाले विनियोजन गरेका योजनाको रकम कटौती गरिएको छ। तर पनि बास्कोटाले महत्वपूर्ण आयोजना सुनकोशी ड्याम, मदन भण्डारी विश्वविद्यालय, प्रतिरक्षा विश्वविद्यालय, सुरक्षण मुद्रण प्रेस, फिल्म सिटी, सडक, विद्यालय, स्वास्थ्य, खानेपानी, पर्यटन, करिडोर लगायतका परियोजनाहरु शुरु गरेका छन्। प्रदेश सभामा एमालेबाट निर्वाचित सांसद् चन्द्र लामा थोरै समय मन्त्री बने। मन्त्री हुँदा शुरु गरेका कयन राम्रा कामको निरन्तरता भए पनि अर्काे सरकार गठन भए लगत्तै उक्त आयोजनाहरु काटिएका छन्।
एमालेबाट निर्वाचित भएर अर्काे दल प्रवेश गरेका बसुन्धरा हुमागाई पनि प्रदेश सभाको मन्त्री बने। नेकपा माओवादीबाट निर्वाचित सांसद् रत्न ढकाल पनि मन्त्री बने। गंगाबहादुर दोङ, नविना लामा, गोमा भुर्तेल र लक्ष्मण लम्साल मन्त्री बन्ने भाग्यमानी सांसद् भएनन्। संविधान सभा २०७० मा निर्वाचित भएका कञ्चनचन्द्र बादे उद्योग राज्य मन्त्री बने। मन्त्री हुँदा उनले जिल्लाका लागि कुनै नयाँ योजना ल्याउन सकेनन्। उनि २०७४ मा उम्मेदवार भए पनि पराजय भए। अहिले फेरी प्रदेश सभामा उम्मेदवारका लागि प्रस्तावित छन्। राप्रपा नेपालबाट समानुपातिक सांसद् भएका रेशम लामा केहि समय राज्यमन्त्री बने। २०६४ सालमा एकीकृत नेकपा माओवादीबाट निर्वाचित सुर्यमान दोङ उर्जा राज्य मन्त्री भए। २०७० मा उनि पराजित भए। २०७४ मा टिकट पाएनन्। २०५६ सालमा नेपाली काँग्रेसबाट निर्वाचित राजेन्द्र खरेल महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा थिए। राज्यमन्त्री हुँदै फुलमन्त्री बने। २०५१ सालमा निर्वाचित केशव बडाल उद्योगमन्त्री बने। उद्योगमन्त्री हुँदा बडालले युवाहरुलाई विदेश पलायन हुन रोक्न स्वदेशमै गोलभेडा खेति गर्ने वातावरण बनाउने घोषणा गरेकै कारण गोलभेडा मन्त्री भन्दै २०५६ सालमा पराजित भए। उनि २०४८ सालमा पनि सांसद भएका थिए। २०६४ सालमा पनि उनि पराजित भए। २०७० सालमा उनि नेपाल सरकारको कोटाबाट मनोनित सांसद् भए। उनि राज्यमन्त्री हुँदै मन्त्री भएका थिए। २०४८, २०५१ र २०५६ सालमा लगातार सांसद् जितेका शिवबहादुर देउजा पलायन भए। २०४८ र २०५१ मा नेकपा एमालेबाट निर्वाचित गोविन्दनाथ उप्रेती एमालेबाटै जितेर नेकपा मालेबाट श्रम राज्यमन्त्री बने। तर उनि एमालेमा टिकिरहन सकेनन्। २०४८ सालमा निर्वाचित कमानसिं लामा राजदुत बने। कोभिड १९ का कारण उनको निधन भएको छ। पञ्चायतकालमा शैलेन्द्र उपाध्याय राज्यमन्त्री थिए।





