2026 April 17/ 02:49: 35am

    दशै सँगै चुनावको चटारो छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने समय नजिकिएको छ। दशैं नसकिँदै उम्मेदवारी दर्ताको समय तोकिएको छ। राजनीतिक दल र उम्मेदवारहरुले मतदातालाई दशैको अवसरमा भेटघाट गर्ने, आफ्नो दल र उम्मेदवारलाई मतदानका लागि प्रभाव पार्ने अवसर दशैंले उपलब्ध गराएको छ। निर्वाचनका लागि दलहरुको आफ्नो हैसियत, राजनीतिक पार्टीको उद्देश्य र लक्ष्य भन्दा पनि जसरी पनि गठबन्धनमा बनाएर भए पनि सत्तामा पुग्ने र मुलुकको बागडोर सम्हाल्ने योजनामा राजनीतिक दलहरु छन्। नेकपा एमालेले सुखी नेपाली समृद्ध नेपालको सपनालाई पूरा गर्ने अभियानलाई निरन्तरता दिएको छ। गठबन्धन बने देखि मुलुकको राष्ट्रियता, सार्वभौमिकता र विकासको अवरोध बनेको छ। महङ्गी, अभाव, अशान्ति र अस्थीरता बढेको छ। 
    दशैं दशा नबनोस्। चोरी, लुटपाट र अभाव शुरु भएको छ। मूल्यबृद्धि रोकिएन। बजार अनुगमन तिब्र भए पनि म्याद नाघेका सामान विक्री हुने क्रम रोकिएको छैन। अत्यावश्यक सामानको मूल्य आकाशिएको छ। दशैंका कारण सवारी चाप बढेको छ। नयाँ–नयाँ लुगा किन्ने, नयाँ र मिठो–मिठो खानेकुरा खाने, आफन्तहरुसँग भेटघाट गर्ने चाडका रुपमा दशैंलाई लिईन्छ। नहुनेले पनि दशैंका लागि भनेर जोगाई राखेको, नोकरी गरेको, ज्यालापानी गर्ने गरेका छन्। परदेशमा भएका नेपालीहरु फर्कने, देश भित्र भएका नेपालीहरु आफन्तको घरमा तथा आफ्नै घरमा पुग्ने चलन छ। हरेक वर्ष मनाईने दशैं उत्साह मात्रै नभई आर्थिक हिसाबले पनि सबल र सशक्त मानिन्छ। अरुबेला सामान खरिद नगर्ने ब्यक्ति पनि दशैंको बेला खरिद गर्छन्। 
    नवरात्रको पहिलो दिन आश्विन शुक्लको प्रतिपदा तिथीलाई घटस्थापना भनिन्छ। घट (कलश) स्थापना गरी सम्पूर्ण देवीदेवताको आह्वान गरेर शुरु गरिएको पुजा ९ दिनसम्म चल्नेछ। भगवती जगजननीलाई अत्यन्तै मन पर्ने भएकाले उनलाई खुसी पार्न पनि जमरा राख्ने चलन चलेको हो। जमरासँगै माटोको वा अन्य धातुको जलपूर्ण घडा (कलश) थापी वरीपरी नौ वटी देवीको प्रति मूर्ति मानी गाईको गोबरले नौ वटा उच्च आसन बनाई लेपन गरिन्छ। आफ्नो क्षमता भन्दा धेरै ऋण गरेर दशैं नमनाउ। गच्छे अनुसार मनाउँ भरपुर आनन्द लिउँ। चाडपर्व मनाउनेले नमनाउनेहरुलाई सम्मान गरौं। नमनाउनेहरुले पनि चाडपर्व मनाउनेहरुको सम्मान गरौं। सबै नेपालीहरु बीचको भातृत्व, मातृत्वलाई कायम राख्न दशैं महत्वपूर्ण चाडका रुपमा स्थापित भएको छ। सबै पक्षबाट यसलाई कायम राख्नु पर्छ। सम्पूर्णमा बडा दशैंको शुभकामना।