2026 April 17/ 02:32: 58am

    बनेपा नगरपालिका वडा नम्वर १४ स्थित खाल्चोकमा स्थानीयले विक्री गरेको माटोका कारण सडक, विद्यालय, धार्मिक क्षेत्र मन्दिर तथा सर्वसाधारण प्रभावित भएका छन्। नगरपालिकाको कार्यपालिका बैठक छलेर स्थानीयले विक्री गरेको माटो कानून अनुसार निर्णय गरी राजश्व समेत ब्यवस्थित गर्न कार्यपालिका तयार हुनु पर्छ । कानून विपरित कार्यपालिका छल्दै बनेपा नगरपालिका वडा नम्वर १४ स्थित खाल्चोकबाट नीजि जमिनको माटो नेपाल नागरिक उड्डयन प्राधिकरणको पत्र देखाउँदै निर्यात भईरहेको छ। प्रदेश कानुन विपरित निकासी भईरहेको माटोको राजश्व वडा कार्यालयले असुल गरिरहेको छ। वडा कार्यालयले समेत नगरपालिकालाई जानकारी नगराई उठाईरहेको राजश्वका सन्दर्भमा स्थानीयहरुले समेत चासो ब्यक्त गरेका छन्। 
    खाल्चोकका साङगे लामा र र लर्ड बुद्ध इन्टरनेशनल कन्ट्रक्सन प्रा. लि. का मिम सिं तामाङले कानून विपरीत सम्झौता पत्र तयार गरी ३ हजार ३ सय ३३ टिप माटो विक्री गर्ने सम्झौता गरेका छन्। कानूनले तोके बाहेक माटो विक्री तथा निर्यात हुन सक्दैन। यसअघि बनेपा १३ को राहुल डाँडामा प्लटिङ्ग गरी ठुलो परिणाममा माटो कटिङ गर्दा पुरा गर्नुपर्ने कानूनी प्रकृया नपु¥याएकाले तत्काल रोक्न निर्देशन दिईएको थियो। माटो निर्यातमा प्रयोग भएका टिपरलाई कारवाही गरी प्रकृया पु¥याएर मात्रै माटो कटान गर्न निर्देशन दिने निर्णय भएको थियो। नगरपालिकालाई समेत गुमराहमा राखेर वडा कार्यालय आफैले विक्री गरेको माटोको राजश्व संकलनमा पनि प्रश्न उठेको छ। प्रदेश कानूनमा ढुंगा, गिटी, बालुवा, माटो, दहत्तर बहत्तर शुल्क सम्बन्धी ब्यवस्थामा माटोको स्वीकृत खानी क्षेत्र बाहेकमा प्रति घन फिट २ रुपैयाँ ५० पैसा दर तोकेको छ। सोहि अनुसूचीको ६ नम्वर बुँदामा ब्यक्तिको निजी जग्गाबाट माटो विक्री गर्दा जग्गा धनीले नै कति घनफिट माटो विक्री गर्ने हो यकिन गरी सम्वन्धित स्थानीय तहमा निवेदन दिनुपर्ने ब्यवस्था गरेको छ। सो सम्बन्धमा सम्बन्धित स्थानीय तहको कार्यपालिकाले निर्णय गरी बार्षिक रुपमा एकमुष्ट शुल्क लिने गरी ब्यवस्था मिलाउनु पर्नेछ। 
    सार्वजनिक जग्गा तथा स्थान बाहेक ब्यक्तिको स्वामित्वमा रहेको निजी जग्गाको बाटो उत्खनन् गर्दा साँध सिमानामा पर्ने जग्गा धनीको लिखित स्वीकृत भएको हुनुपर्ने, माटो उत्खनन्बाट प्राकृतिक श्रोतको दुरुपयोग, भौगोलिक संरचना, मानवीय बासस्थान, सार्वजनिक तथा ब्यक्तिगत भवन लगायतको संरचना, सडक, कुलो, नहर, साँध सिमानामा रहेको छिमेकीको जग्गाको सरचना आदीमा कुनै किसिमको असर नपरेको हुनुपर्ने उल्लेख छ। कानूनले तोकेको मापदण्ड कम्पनी र ब्यक्तिले पूरा गरेका छैनन्। माटो विक्री गर्ने ब्यक्तिले आफूले विक्री गर्न चाहेको माटोको परिणाम उल्लेख गरेर नगरपालिकामा निवेदन दिनु पर्नेमा त्यसो भएको छैन। तर नगरपालिकाको वडा नम्वर १४ ले प्रतिटिप ४ सय रुपैया राजश्व लिईरहेको छ। यो गैह्कानुनी हो। तत्काल नगरपालिकाको कार्यपालिका बैठकले यसलाई नियमन गर्नु पर्छ।