हरेक वर्ष रेबिजको आतंक फैलिन थालेको छ। काभ्रेपलाञ्चोक जिल्लामा रेबिजको आतंकले नागरिकहरु त्रसित भएका छन्। रेबिजका कारण हरेक वर्ष नागरिकहरुको निधन हुने गरेको छ। नागरिकहरुलाई सचेत बनाउने, रेबिजबाट बच्ने र रेबिज फैलन नदिन अपनाउनु पर्ने उपायका बारेमा जनचेतना फैलाउन नसक्दा यसको सन्त्रास र आतंक फैलिदै गएको हो। अघिल्लो वर्ष कोशिपारीको चौरीदेउराली यसबाट प्रभावित बन्यो। यो वर्ष सँगै जोडिएको भुम्लु गाउँपालिका त्रसित र प्रभावित बन्यो। रेबिज भएका पशुपंक्षीहरुको मासु खाने, काँचो दुध खाने र मासुको प्रयो गर्दा सुरक्षा नअपनाउने कारण नागरिकहरुमा सहजै रेबिजले प्रवेश पाउन थालेको हो।
पहिले पहिले मासु खान सहज थिएन। मासु खानु प¥यो भने चाडबाड पर्खनु पर्दथ्यो। तर पनि सहज र सुलभ रुपमा मासु पाउन कठिन थियो। अहिले परिस्थिति बदलिएको छ। सहज रुपमा मासु उपलब्ध हुन्छ। आम्दानीको श्रोत पनि बढेको छ। तर पनि नागरिकहरु मरेको पशुको मासु खान लालायित छन्। थोरै पैसाको लोभमा पशु मरेका धनिहरुले विक्री गर्ने र थोरै पैसामा धेरै मासु आउने लोभमा स्थानीयहरुले सोहि मासु प्रयोग गर्दा हुन सक्ने सम्भावित जोखिमका बारेमा सोच्न नसकेको देखिन्छ। भुम्लु गाउँपालिकाको वडा नम्वर १ को सापिङ्गमा यस्तै देखिएको छ। ४ हजारमा १ लाख भन्दा धेरै जाने भैंसी प्राप्त गरे पछि १९ परिवारका ५१ जनाले मासु खाएका छन्। त्यहि मासुलाई कति जनाले मःमः बनाएर खाए रेकर्ड छैन तर पनि मरेको पशुको मासु खाँदा हुन सक्ने जोखिमलाई स्थानीयहरुले नजरअन्दाज गरेका छन्। भैंसी किन म¥यो ? जानकारी नलिईकन त्यहि भैंसीको मासु खाँदा स्थानीयहरुमा रेबिजको आतंक फैलिएको हो।
स्वास्थ्यका हिसावले मरेको पशुको मासु खान हुँदैन स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाईले घर–घर उक्त सन्देश सुनाउँदै हिड्नु भएको छ। कुन रोगले पुशपंक्षी म¥यो ? कारण पत्ता नलगाई मासु सेवन गर्दा त्यसमा भएको रोग ब्यक्तिमा फैलने सम्भावना छ। भुम्लुको सापिङको कात्तिकेमा मरेको भैंसी ४ हजारमा विक्री भए पछि अरु पशु पनि मर्न थाले। मरेका पशुमा रेबिज देखियो। रेबिज विरुद्धको खोप लगाउन गाउँभरी हल्ला गर्दा पनि केहि खुल्न सकेका छैनन्। सिनो खाने चलन पुरानै हो। चेतना नहुँदा, मासुको उपयोग कम भएको समयमा पशुपंक्षी मरेको अवस्थामा काटेर खाने चलन थियो। हरेक घरमा स्वस्थ पशुपंक्षी उपलब्ध हुने अवस्थामा पनि थोरै पैसामा धेरै मासु पाउने प्रलोभनमा सापिङको कात्तिकेमा मरेको भैंसी काटेर खाँदा स्थानीयहरु त्रसित भएका हुन्। स्वास्थ्य कार्यालय काभ्रे, पालिकाको स्वास्थ्य शाखा, पशु स्वास्थ्य शाखाले रोकथामको प्रयास गरे पनि नियन्त्रण बाहिर गएको छ। ५० भन्दा धेरै पशु मरिसकेका छन्। रेबिज फैलन नदिन थप सचेतना अपनाउनु जरुरी छ। स्थानीय सरकारले रेबिजबाट क्षति पुगेका पशुपंक्षीको क्षतिपूर्ति र कृषकलाई राहत उपलब्ध गराउनु जरुरी छ।





