चालकको लार्पवाही र सडकको दुरावस्था सुधार हुन नसक्दा हरेक वर्ष चाडवाडमा हुने दुर्घटना बढिरहेका छन्। स्वरोजगार मुलक सवारी साधनमा चढ्ने खचाखच यात्रुका कारण अत्याधिक लोड धान्न नसक्दा केहि वर्ष अघि चाडपर्वको समयमा सवारी साधन दुर्घटनामा परेका छन् भने सडकको अवस्था सामान्य हुन नसक्दा पनि दुर्घटना बढिरहेको छ। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी एकलको प्रयासले सम्भव छैन र हुँदैन पनि। चाडपर्व लक्षित प्रहरीको योजनामा सरोकारवाला निकायहरु गम्भीर हुन सक्दा मात्रै दुर्घटना न्यूनीकरण सम्भव छ। दुर्घटना न्यूनीकरणका लागि कुनै एउटा पक्ष गम्भिर हुँदैमा पनि सम्भव छैन। त्यसकारण सबै पक्षले दुर्घटना न्यूनीकरणमा जोड दिनु आवश्यक छ।
पछिल्ला चार महिनामा जिल्लामा सडक दुर्घटनामा २२ जनाको निधन भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पछिल्ला चार महिनामा सडक दुर्घटनाको कारण २२ जनाले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गरेको छ। दुर्घटनामा मृत्यु हुनेमा पुरुष १४ जना छन्। महिला ६ जना र बालबालिका २ समेत गरी २२ जनाको मृत्यु भएको छ। यो डरलाग्दो तथ्याङ्क हो। दुर्घटना बढेसँगै प्रहरीले शुरु गरेको सवारी कारवाहीको चार महिनामा १५ हजार २ सय ११ सवारी साधन कारवाहीमा परेका छन्। दुर्घटनाबाट धेरैको परिवार उजाड भएको छ। सँगै हिडेका परिवारका सदस्यहरु मध्ये एकजनाको निधन भएर अर्काे बाँचेको अवस्था छ। कारुणिक र पीडादायी अवस्था निम्त्याउने दुर्घटना हुनै नदिने तर्फ सचेत गराउन सबै पक्ष सक्रिय हुनु जरुरी छ। चाडपर्व लक्षित सुरक्षा योजनाका सन्दर्भमा ट्राफिक प्रहरीले दुर्घटना हुन नदिन अपनाउनु पर्ने पूर्व तयारीका बारेमा तयारी गरेको छ। ग्रामीण क्षेत्रमा सडकका समस्या, कम सवारी साधन धेरै यात्रुहरुको चाप, शहरी क्षेत्रका समस्याहरुको समाधान तथा ट्राफिक ब्यवस्थापनका सन्दर्भमा सुझाव लिएको छ। चाडपर्वको अवसरमा हुन सक्ने भिडभाडका कारण सम्भावित दुर्घटना न्युनीकरण गर्ने र यात्रुहरुलाई सहज यात्राका लागि ट्राफिक ब्यवस्थापनको पूर्व तयारीमा ट्राफिक प्रहरी जुटेको छ।
दुर्घटनामा दुर्घटनामा सख्त घाईते ४८ जना छन्। जसमा ५ बालबालिका, १३ जना महिला र ३० जना पुरुष रहेका छन्। घाईते भएकाहरु मध्ये केहि अपाङ्ग छन्। केहि जीवनभर ह्विलचियरको सहारामा हिड्न समेत नसक्ने अवस्थामा पुगेका छन्। यस्तो अवस्थामा सवारी साधनहरुले तिर्नुपर्ने रकम समेत तिर्न सक्ने अवस्था छैन। वीमामा गरिएको थोरै रकमको वीमाले पनि धान्न सकेको छैन। दुर्घटनामा सामान्य घाईते १ सय जना छन्। बालबालिका ३ जना, महिला ४६ जना र पुरुष ५१ जना रहेका छन्। प्रहरीले प्रेसर हर्न बजाउने ४ सय २० वटा सवारी साधनलाई कारवाही गरेको छ। उनिहरुले प्रयोग गरेका सामाग्री जफत गरी जरिवाना गरिएको सिलवालले बताउनु भयो। प्रेसर हर्नको कारवाहीबाट मात्रै ट्राफिक प्रहरीले ४ लाख २० हजार राजश्व संकलन गरेको छ। २ हजार वटा स्टिकर बरामद गरिएको छ भने ओभरलोड, जथाभावी पिक एण्ड ड्रप गरेकाका सवारी साधनलाई कारवाही गरिएको छ। कारवाहीबाट पछिल्ला चार महिनामा १ करोड ६५ लाख ९४ हजार ५ सय राजश्व संकलन भएको छ। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले १४ हजार ६ सय ३८ जनालाई अभिमुखीकरण गराईएको छ। दुर्घटना न्यूनीकरणका लागि चालक, सह– चालक, बालबालिका, यात्रु र ब्यवसायी लगायत सरोकारवालासँग पटक पटक अन्तक्र्रिया गरिएको, सडकमा दुर्घटना हुन सक्ने सम्भावित स्थानमा होर्डिङ्ग बोर्ड राखिएको, पार्किङ्गलाई ब्यवस्थित बनाउने प्रयास गरिएको छ। तर पनि न्यूनीकरण भन्दा दुर्घटना बढिरहेका छन्।





