२०७९ सालको स्थानीय तहको निर्वाचनमा धेरै मतदान केन्द्रमा धाँधली भएको आरोप लाग्यो। कतै विदेश जाने ब्यक्तिहरुको नाममा मत खसालिएको छ भने कतै मृत्यु भएका ब्यक्तिहरुको नाममा मत खसालिएको छ। कतै मतदान केन्द्रमा तोडफोड भएको छ भने कतै मतपत्र नै बदर गराईएको छ। कर्मचारी खटाउने बेला देखि नै धाँधली भएको आरोप राजनीतिक दलहरुले लगाएका छन् भने निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा अन्य ब्यक्तिहरुको सहयोगमा धाँधली भएको आरोप लागेको छ। कतिसम्म भने गठबन्धनका नाममा मतदाता सूचीमा नाम नै नभएका ब्यक्तिहरुले समेत मतदान गरेका छन्। निश्पक्ष निर्वाचनको अपेक्षा गरेका मतदाताहरुका लागि यस्ता थुप्रै प्रसंग र घटनाबाट आगामी निर्वाचन निश्पक्ष नहुने हो कि भन्ने आशंका बढाएको छ।
स्थानीय तहको निर्वाचन सकिएको ७ महिना पछि हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी आन्तरिक र बाह्रय रुपमा शुरु भएको छ। स्थानीय तहमा सत्ता गठबन्धनले गरेको बैद्यानिक कब्जाको विरुद्धमा अन्य दलले विरोध गराएका छन्। चुनाव घोषणा भए लगत्तै उम्मेदवारहरुको चर्चा शुरु भएको छ। एमालेले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा पुनः गोकुल बास्कोटालाई उम्मेदवार बनाउने छ भने प्रतिनिधि सभा १ र प्रदेश सभाहरुका बारेमा छलफल चलाएको छ। सत्ता निकट दलहरुको गठबन्धनका कारण कोहि बोल्न सकेको छैन। कुन क्षेत्र कसलाई छाड्नु पर्ने हो ? पर्ख र हेरको अवस्थामा सत्ता निकट दलहरु काँग्रेस, माओवादी र नेकपा समाजबादी रहेको छ भने अन्य सानादलहरु उम्मेदवारी दिने तयारीमा जुटेका छन्। एमालेले आन्तरिक छलफलसँगै सर्वसम्मत उम्मेदवार टुङ्गो लगाउने प्रयास गरेको छ। यसअघि अवसर नपाएका पार्टीका कृयाशील र पुराना नेताहरु, पूर्व जनप्रतिनिधिहरु, अन्य पार्टीबाट एमालेमा समाहित भएकाहरुलाई पार्टीले प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार सिफारिस गर्ने तयारी गरेको छ। काभ्रेपलाञ्चोक जिल्लामा प्रतिनिधि सभा तर्फ २ र प्रदेश सभा तर्फ ४ वटा निर्वाचन क्षेत्र कायम छन्। झण्डै ३ लाख ११ हजार मतदाताले मतदानमा भाग लिनेछन्।
दलहरुले आन्तरिम तयारी गरिसकेका छन्। निर्वाचन आयोगले पनि मतदाताहरुको नामावली रुजु गरिरहेको छ। अन्तिम नामावली प्रकाशनका लागि तयारी गरिरहेको आयोगले यसअघि अपायक भएका मतदान केन्द्रहरु फेरबदल गराएको छ। सुरक्षा निकायले सुरक्षाको तयारी गरिसकेका छन्। स्थानीय तहको निर्वाचन २०७९ को बैशाखका लागि तयार भएका मतदाताहरुमा यो पटक ८ हजार ६ सयले थप फोटो खिचाएका छन्। सबै मतदाताहरुलाई सहज रुपले मतदान गर्न सक्ने गरी आयोगले वातावरण सिर्जना गरिरहेको छ। ४० वर्ष कटेका अधिकांश ब्यक्तिको मत एकाघरका सदस्यहरुले गठबन्धनका नाममा राखेर मतदानलाई धाँधलीबाट मुक्त गराउन सकेका छैनन्। स्थानीय तहको निर्वाचनमा देखिएको यो घटना पुनः नदोहोरियोस्। सबै मिलेर निर्वाचन सम्पन्न गरौं। निष्पक्ष गरौं। शुभकामना।





