केहि वर्ष अघिसम्म तराईका जिल्लाहरुमा मात्रै हुने डेंगु पहाडी जिल्लामा फैलन थालेको छ। पछिल्लो तथ्यांकले नेपालका पहाडी जिल्लाका साथै वन क्षेत्रमा बसोबास गर्ने ब्यक्तिहरुमा समेत डेंगु देखा पर्न थालेको छ। काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक, काठमाडांै लगायतका जिल्लामा समेत डेंगु रोग फैलन थाले पछि सचेतनाका लागि तयारी गरिए पनि प्रभावकारी हुन सकेको छैन। डेंगुको प्रभावकारी नियन्त्रणका लागि स्थानीय सरकारको तयारी छैन। कोभिड १९ को चौथो चरणको संक्रमण फैलिरहँदा डेंगुले थप प्रभावित बनाउन थालेको छ।
करिब २ दशक अगाडि लामखुट्टेले डेंगु रोग सार्ने र त्यो लामखुट्टे पनि भारत÷फिलिपिन्समा देखिएको तथ्य सार्वजनिक भएको थियो। सामान्य रुपमा डेंगु सार्ने लामखुट्टेले दिउँसो टोक्छ भनिए पनि नयाँ अध्ययनहरुले घाम उदाएको २–३ घन्टा पछि र गोधँुली बेला बिहान ४ बजे देखि ६ बजे र साँझ ४ देखि ६ बजे टोक्ने गर्छन्। यो प्रजातिका लामखुट्टेले डेंगुग्रस्त मानिस, जीवजन्तु, चराहरुलाई टोकेर स्वस्थ्य व्यक्तिलाई टोक्दा यो रोग सर्छ। सबै उमेर समूहका मानिसलाई डेंगु सर्ने भएता पनि बढीजसो नाबालक र स–साना केटाकेटीमा रोग धेरै देखिएको छ। कालो अनि सेतो मिसिएको खुट्टा र जिउ भएको सानो अनि छिटो टोकेर उडि हाल्ने यो लामखुट्टे करिब १००–१५० मिटरको दूरिसम्म उडेर टोक्ने गर्छ। यो लामखुट्टेले रोगीलाई टोकेको ८–१० दिनमा उसको जिउमा डेंगुको भाइरस गुणात्मक रूपमा बढ्छ। १ देखि १०० दिनसम्म बाँच्ने क्रममा यो ५०० मिटरभन्दा बढी दुरी सम्म उड्ने गर्छ। स्त्री लामखुट्टेले जमेको सफा पानी, ओसिलो भित्ता यहाँ सम्म कि पुराना चक्काहरुमा रहेको एक अञ्जुली पानीमा पनि उसले फुल पार्न सक्छे। पानी राख्ने गाग्रीहरु छोपेर राख्नु यसै कारण पनि महत्वपूर्ण छ। लामखुट्टेका यीनै फुलहरु बढेर लार्भा हुँदै वयस्क भएपछि पुनः रगत चुस्ने सिकारमा निस्किन्छन्।
खतराको संकेत बिनाको डेंगु ज्वरो, खतराको संकेत सहितको डेंगु ज्वरो, अत्ति गम्भीर अवस्थाको डेंगु तीन प्रकारका छन्। डेंगु रोग सामान्यतया ८ देखी १० दिनमा निको हुने गर्छ। कुनै खास औषधिले यसको उपचार गरिने होइन। तर बिरामीको शरीरमा पानीको मात्रा घट्न नदिन भने धेरै ख्याल गर्नुपर्छ। पेट धेरै दुख्नु, लगातार बान्ता हुनु, गिजाहरुबाट खुन बग्नु, नाथ्री फुटेको झैँ नाकबाट रगत आउनु, प्यास धेरै लाग्नु, खटपट÷छट्पटी हुनु, दिशा कालो हुनु यसका लक्षण हुन्। धुलिखेल÷काभ्रेपलाञ्चोक जिल्लामा डेंगुका विरामीको संख्या थपिदै जान थाले पछि स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक र स्थानीय तहमा रहेका स्वास्थ्य शाखाहरु मार्फत नागरिकलाई सचेत रहन जनचेतनामुलक कार्यक्रम गरिएको छ। डेंगुको पहिचान भईसकेका विरामीहरुको घरमा पुगेर स्वास्थ्यकर्मीहरुको टोलीले संक्रमणको श्रोत पहिचान गरी जोखिम हुन नदिन प्रभावकारी अनुगमनलाई जोड दिएको छ। विशेषगरी वर्षात्को समयमा पानी जम्न नदिन र जमेको पानीलाई तत्काल पोख्नु जरुरी छ। डेंगुबाट बच्न सरकारी निकायका अलावा ब्यक्ति स्वयं जिम्मेवार हुनु आवश्यक छ।





