बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरु तथा स्वतन्त्र ब्यक्तिहरुले उम्मेदवारी दर्ता गरिसकेका छन् । लामो रस्साकस्सी पछि दलहरुले उम्मेदवार टुङ्गो लगाउँदै उम्मेदवारी दर्ता गरेका छन् भने दलहरुको निर्णय उपर चित्त नबुझेकाहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । दलमा आबद्ध नभएकाहरुले पनि स्वतन्त्र रुपमा आफ्नो उद्देश्य सहितको उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताकै दिन नमोबुद्ध नगरपालिकाका प्रुमख पदका नेपाली काँग्रेसका उम्मेदवार कुन्साङ लामाले पत्रकार समेत रहेका रोशन पाण्डेलाई कुटेका छन् । यस अघि २०७४ को स्थानीय तहको निर्वाचनमा समेत नमोबुद्धमा गोलीबाट एकजना सर्वसाधारण मारिएका थिए । यो पटक शुरु भएको स्थानीय तहको निर्वाचनमा भएका दलका कार्यकर्ताहरुको अराजकताका कारण निर्वाचन शान्ति पूर्ण नहुने हो कि ? आम चासो बन्न थालेको छ ।
जिल्लामा रहेका १३ वटा पालिकामा दर्ता भएका सबै उम्मेदवारहरु मतदाताकोमा पुग्न थालेका छन् । विगतका योजना तथा अबका प्रतिबद्धतापत्रहरु पनि उम्मेदवारहरुले ब्यक्त गरेका छन् । निर्वाचन कार्यालयले मतदाताको अन्तिम नामावली प्रकाशन गरेसँगै शुरु भएको निर्वाचनको चहल पहल ह्वात्तै बढेको छ । जिल्लामा ३ लाख ३ हजार ५ सय ६० मतदाताले मतदानमा भाग लिनेछन् । जसमध्ये सबै भन्दा धेरै पुरुष १ लाख ५४ हजार १ सय ८३, महिला १ लाख ४९ हजार ३ सय ७५ र अन्य २ रहेका छन् । यसअघिको निर्वाचनमा खानीखोलामा एक जना अन्य समुहबाट मतदान भएको थियो भने यो पटक भुम्लु गाउँपालिकामा एकजना थप भएका छन् । मतदानका लागि १ सय ८९ वटा मतदान स्थल कायम भएका छन् । जसमा ३ सय ८१ वटा मतदान केन्द्र कायम भएका छन् । आयोगले पालिका अन्र्तगतका सबै वडा र वडा अन्र्तगत रहेका निर्वाचन स्थल र केन्द्रमा सहभागी हुने मतदाताहरुको सूचीसँगै कर्मचारीहरु छनौटको क्रम शुरु भएको छ । छनौट भएका कर्मचारीहरुलाई तालिम सहित निर्वाचन सामाग्री दिएर निर्वाचनमा खटाउने तयारी भएको छ ।
जिल्लामा सबै भन्दा धेरै पनौती नगरपालिकामा ३८ हजार १ सय ४५ मतदाता रहेका छन् । बनेपा नगरपालिकामा ३७ हजार ५ सय ८१ मतदाता रहेका छन् भने सबै भन्दा कम खानिखोलामा १० हजार ३ सय ९ मतदाता रहेका छन् । चौरीदेउरालीमा २० हजार १ सय ९१, तेमालमा २१ हजार १ सय ८, धुलिखेलमा २५ हजार ५ सय ८, नमोबुद्धमा २५ हजार ९ सय ५२, पाँचखाल २९ हजार ६ सय ९७ रहेका छन् । बेथान्चोकमा १४ हजार ५ सय ५१, भुम्लुमा १७ हजार २४, महाभारतमा १२ हजार ४ सय २०, रोशीमा २२ हजार ५ सय ४३ र मण्डनदेउपुरमा २८ हजार ५ सय ३१ मतदाता रहेका छन् । सबै मतदाताहरुले शान्तिपूर्ण रुपमा मतदानमा भाग लिन पाउने वातावरण बनाउन झण्डै ३ हजार भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । सबै स्थानमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रशासनले दलहरुलाई अनुरोध पनि गरेको छ । समयमा हुन लागेको यो निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै पक्षको सक्रियता जरुरी छ ।





