2026 April 17/ 12:39: 37am

    भुकम्प गएको ७ वर्ष लाग्न थालेको छ। भुकम्प पछिको पुनर्निर्माणका लागि गठित प्राधिकरण समेत खारेज भएको छ। भुकम्पबाट पीडित बनेका लाभग्राहीहरुलाई पुनर्निर्माणको रकम भुक्तानी गर्न सरकारले अझै आलटाल गरिरहेको छ। सरकारले आलटाल गरेका कारण काभ्रेपलाञ्चोक जिल्लामा मात्रै १ हजार ८ सय ७६ जना लाभग्राही पीडित बनेका छन् भने अन्य जिल्लाका पीडितहरुको अवस्था त्यस्तै छ। तर सरकार अझै रकम भुक्तानी गर्ने पक्षमा छैनन्।
    काभ्रेपलाञ्चोक जिल्लामा आवास निर्माण गरेर रकम नपाउने लाभग्राहीहरु १ हजार ८ सय ७६ जना तेश्रो किस्ताका पीडित छन् भने ६ सय २९ जना दोश्रो किस्ताका छन्। सरकारले रकम दिन्छु घर निर्माण गर्नु भन्ने निर्देशन पछि पुनर्निर्माण गरेका पीडितहरु पैसा नपाए पछि पीडामा परेका छन्। बनेपा नगरपालिकामा दोश्रो किस्ता प्राप्त गर्न बाँकी ३० घर धुरी छन् भने तेश्रो किस्ता लिन १ सय ७ घर धुरी बाँकी छन्। त्यस्तै पनौती नगरपालिकामा ९० घर परिवारको दोश्रो किस्ता र २ सय ५ घर परिवारको तेश्रो किस्ता बापतको रकम भुक्तानी हुन बाँकी छ। धुलिखेल नगरपालिकामा ३२ जना दोश्रो र ४५ जना तेश्रो किस्ता लिनबाट बञ्चित भएका छन्। पाँचखाल नगरपालिकामा १ सय १० दोश्रो र २ सय ४३ जनाको तेश्रो किस्ता लिन बाँकी छ। नमोबुद्ध नगरपालिकामा ८० जनाको दोश्रो किस्ता र २ सय १० जनाको तेश्रो किस्ता बाँकी छ। मण्डनदेउपुर नगरपालिकामा ४० जनाको दोश्रो र १ सय ७० जनाको तेश्रो किस्ता बाँकी छ। बेथान्चोक गाउँपालिकामा ८० जनाको दोश्रो र १ सय ३१ जनाको तेश्रो किस्ता बाँकी छ। महाभारत गाउँपालिकामा ७ जनाको दोश्रो र १५ जनाको तेश्रो किस्ता बाँकी छ। सबैभन्दा कम सोहि गाउँपालिकामा हो। त्यस्तै खानीखोला गाउँपालिकामा २० जनाको दोश्रो र ३० जनाको तेश्रो किस्ता बाँकी छ। तेमालमा ६० दोश्रो र १ सय ८० जनाको तेश्रो किस्ता बाँकी छ। रोशी गाउँपालिकाको ४० जनाको दोश्रो र १ सय ८० जनाको तेश्रो किस्ता बाँकी छ। भुम्लु गाउँपालिकामा १० जनाको दोश्रो र ५० जनाको तेश्रो किस्ता बाँकी छ। चौरीदेउराली गाउँपालिकामा ३० जनाको दोश्रो र १ सय ५० जनाको तेश्रो किस्ता रकम बाँकी छ। जिल्लामा ६ सय २९ घर परिवारको दोश्रो र १ हजार ८ सय ७६ घर परिवारको तेश्रो किस्ता रकम भुक्तानी गर्न बाँकी छ।
    भुकम्पले ध्वस्त बनाएका ७८ हजार ९ सय ५ घर धुरी मध्ये ६० हजार १ सय २ परिवारले तेश्रो किस्ता बापतको रकम प्राप्त गरेका छन्। दोश्रो किस्ता लिनेहरुको संख्या ६६ हजार ८ सय ८ रहेको छ। ७९ हजार २ सय ८८ घर परिवारले पहिलो किस्ता लिएका थिए। पहिलो किस्ता लिनेहरु मध्ये ४ हजार २ सय ७३ घर परिवारले रेट्रोफिटिङ्गका लागि सम्झौता गरी रकम लिएका थिए भने ७५ हजार १५ घर परिवारले पुनर्निर्माणको लागि रकम लिएका थिए। घर पुनर्निर्माणमा समावेश गरी पाउँ भनि ९८ हजार १९ जनाले पुनर्निर्माण प्राधिकरणमा आवेदन दिएका थिए। आवेदन दिएका मध्ये केहि त अझै लाभग्राहीमा छुटेका छन्।