2026 April 17/ 12:39: 37am

    नयाँ संविधानले गरेको ब्यवस्था अनुसार तीन तहका सकारको पहिलो अभ्यास नागरिकहरुले अनुभूत गरेका छन् । घर दैलोको सरकार कृयाशिल हुँदा नागरिकहरुले प्राप्त गरेका सेवाहरु प्रशंसीय छन् । कोभिडमा होस् वा भुकम्प पछिको पुनर्निर्माणमा । विपद्का स–साना अवस्थामा पनि स्थानीय सरकार नागरिकहरुको सेवक बनेका छन् । यस्तो अवस्थामा सडक, पुल, पूर्वाधारसँगै गरिबी न्यूनिकरण प्रमुख चुनौती थियो र छ । गरिबीकै कारण ब्यक्तिले ज्यान गुमाउन थालेको छ । समाज असन्तुष्ट हुन थालेको छ । बेरोजगारले मुलुक भयावह अवस्थामा पुगेको छ । कृषि गर्न समस्या नै समस्या छ । युवाहरुको उर्जा शक्ति सहि स्थानमा खर्चन पाएको छैन । यस्तो अवस्थामा धुलिखेल नगरपालिकाले गरिबी न्यूनिकरण, रोजगार तथा आय–आर्जनका लागि खेलेको भूमिका सहनीय छ । धुलिखेले शुरु गरेको मेयर गरिबी न्युनिकरण कोष मार्फतका परिषद्हरुको सिकाई नेपालका अन्य स्थानीय तहहरुले पनि गरेका छन् । यो महत्वपूर्ण विषय हो ।
    घर जग्गाको स्वामित्व, आय आर्जन, आम्दानीको श्रोत, आवास घर कस्तो छ ? सुरक्षित कि असुरक्षित, उर्जामा दाउरा प्रयोग गरिन्छ कि गरिदैन ? स्वास्थ्य सेवामा पहुँच स्वास्थ्य केन्द्रमा पुग्न ३० मिनेट भन्दा धेरै समय लाग्नु हुँदैन, खरको छानो मुक्त, विजुलीको प्रयोग, शिक्षा, खानेपानी, सडक लगायतका सुचकहरुमा नागरिकको पहुँच पुगेमा गरिबी नभएको मानिन्छ । धुलिखेल नगरपालिकामा समायोजन भएका पातलेखेत, काभ्रे शारदा बतासेका सबै वडाहरु र शंखु, देविटार र रविओपी गाविसका केहि वडाहरु छन् । प्रतिशतका हिसावले १३ प्रतिशत रहेको थियो । अहिले प्रतिशत घटेर ४.३६ मा आएको छ । जनप्रतिनिधि निर्वाचित भए लगत्तै भएका नीतिगत ब्यवस्था सहितका योजनाबद्ध योजनाका कारण गरिबी घटेको तथ्य पुष्टि भएको छ । अहिले नगरपालिकामा २ सय २४ घर परिवार गरिबको सूचीमा छन् । जसमा अति गरिब ६१ परिवार, मध्यम परिवार ९२ र सामान्य गरिव ७१ परिवार रहेका छन् । २०७६ कार्तिक १७ गते देखि २०७६ फागुनसम्म संघीय सरकारले गरेको घर परिवारको सर्भेक्षणका आधारमा उक्त घर परिवारको सूची सार्वजनिक गरिएको हो । सर्भेक्षणमा नगरपालिकामा भएका ७ हजार ३ सय घर परिवार मध्ये ५ हजार ५ सय ९४ घर धुरी समेटिएका थिए । २०७८ को जनगणनामा धुलिखेलमा ७३ सय ९ घर परिवारमा ८ हजार ८ सय ८ परिवारको गणना भएको छ । प्रतिशतका आधारमा ४.३६ प्रतिशत हो ।
    गरिबी निवारणका लागि २०७५ माघ १४ गते कार्यपालिका बैठकबाट मेयर गरिबी निवारण कोषमा विनियोजन गरेको बजेट मार्फत कार्यक्रम संचालन गर्ने गरी महिला, दलित, युवा, आदिवासी जनजाति, अपाङ्गता भएका ब्यक्तिहरुका लागि परिषद् गठन गरी परिषद्हरु गठन तथा सञ्चालन कार्यविधि २०७५ स्वीकृत गरेको थियो । उक्त परिषद्हरुको भेला आयोजना गरी समिति गठन गरेको थियो । समितिमा नगर प्रमुख अध्यक्ष, उपप्रमुख उपाध्यक्ष र भेलाबाट छानिएका १२ वटा १२ जना प्रतिनिधिबाट सर्वसम्मत उपाध्यक्ष छानिएको थियो । समितिमा १२ जना सदस्य छन् । उक्त समितिले विनियोजित बजेटबाट गरिबी न्यूनिकरणका लागि कार्यहरु गरेका थिए । जसबाट १ हजार ५ सय भन्दा धेरै नागरिकले तालिम प्राप्त गरेका छन् । गरिबी न्यूनिकरणका लागि भएका प्रयास महत्वपूर्ण बनेका छन् । सडक यातायातको पहुँच, स्वास्थ्य संस्थाको पहुँच, खानेपानी, विद्युत्तिय उर्जा, सिप विकास लगायतमा धुलिखेलले उल्लेख्य प्रगति गरेको छ । जनप्रतिनिधि निर्वाचित भए लगत्तै सबै वडामा सडक, भएका सडकको स्तरोन्नती र पक्कि गरेको छ भने भएका स्वास्थ्य संस्थाको स्तर बृद्धि गरी नभएका स्थानमा स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाएको छ । आय आर्जनका लागि प्लम्बिङ्ग, सिलाई बुनाई, ड्राईभिङ्ग, सिपमुलक तालिम प्रदान गरिएको छ । आयआर्जन हुन थालेपछि गरिबीको अवस्थामा सुधार आएको छ । धुलिखेलबाट अन्य पालिकाले सिक्ने धेरै विषय छन् ।