२०७९ बैशाख ३० गते घोषणा गरिएको स्थानीय तहको निर्वाचनको तयारीमा निर्वाचन आयोगसँगै दलहरु आन्तरिक तयारीमा जुटेका छन्। दलहरुको तयारी सँगै उम्मेदवारहरुको छनौट, कार्य विभाजन र विजयीका लागि योजना बन्न थालेका छन्। २०७९ को निर्वाचन नआउँदै २०७४ को स्थानीय तहको समीक्षा शुरु भएको छ। स्थानीय तहको निर्वाचनलाई लिएर भईरहेका जोड घटाउ मतदाताहरुले फैसला गर्नेछन्। चुनावको तयारीसँगै राष्ट्रिय राजनीतिको प्रभावले मतदाताहरु भरङ्ग भएका छन्। धेरै स्थानीय तहमा पुरानै अनुहार दोहोरिने सम्भावनालाई मतदाताहरुको रुची र मतसर्भेक्षण पनि भईरहेको छ। जनप्रतिनिधिहरुले गरेका राम्रा अभ्यासहरुलाई निरन्तरता दिन निरन्तरताको प्रसंग चल्न थालेको छ। कतै कतै अवसरको कुरा उठ्न थालेको छ। दलहरु भित्र भईरहेको आन्तरिक तयारीले उम्मेदवार छनौटमा विवादित बन्न सक्ने आँकलन दलहरुले गरेका छन्।
एमालेले सम्भावित स्थानीय तहका प्रमुख उपप्रमुखहरुको एकसरो टुङ्गो लगाई सकेको छ। पालिकाहरुमा सर्वसम्मत उम्मेदवार चयन गर्ने र अधिकांश पालिकामा जित्ने एमालेको रणनीति छ। गठबन्धन हुँदा केहि कम मतले उम्मेदवारहरु पराजय हुने हो कि भन्ने शंसय एमालेमा छ। शंसय नहुने गरी माओवादी केन्द्र र राप्रपा तथा अन्य पार्टीबाट एमालेमा प्रवेश गराएकाले एमाले अझै धेरै स्थानीय तहमा जित्नेमा आशावादी छ। २०७४ सालको स्थानीय निर्वाचनमा समेत एमाले एक्लैले ७ वटा स्थानीय तह सहित जिल्ला समन्वय समितिमा एकलौटी विजयी हासिल गरेको थियो। एमालेले केहि स्थानीय तहका पदाधिकारीहरुलाई पुनः उम्मेदवार बनाउने तयारी गरेको छ। फुटका कारण घाईते जस्तै भएको एमाले काभ्रेले नेकपा माओवादी केन्द्रका नेताहरु प्रवेश गराएर क्षति पूरा भएको दाबी गरेको छ। टिकटका लागि एमाले भित्र पनि विवाद चुलिने सम्भावना भए पनि सर्वसम्मत हुने एमालेले घोषणा गरेको छ। एमालेमा राप्रपाको जिल्ला कार्य समिति नै प्रवेश गरेको छ। यसअघि राप्रपाले काभ्रेका १३५ वडामा ३ वटा वडामा विजयी हासिल गरेको थियो। अहिले दुईवटा वडाका वडा अध्यक्षहरु सहित जिल्लाको टिम नै एमालेमा समाहित भए पछि एमाले पहिलो र सशक्त पार्टीका रुपमा अघि बढेको छ। जिल्लामा प्रतिस्पर्धी देखिएको नेपाली काँग्रेस पनि निर्वाचनको आन्तरिक तयारीमा जुटेको छ। भर्खरै अधिबेशन सकेको नेपाली काँग्रेस काभ्रे भित्र घर परिवारका सदस्यहरु अलग अलग हुने गरी गुट बनेको घाउ निको भएको छैन। केहिले फेसबुक मार्फत उम्मेदवारी घोषणा गरिसके भने केहि पर्ख र हेरको रणनीतिमा छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले एउटा नगरपालिका र ३ वटा गाउँपालिकामा विजयी हासिल गरेको थियो। काँग्रेसमा आफु अनुकूलका स्थानमा ब्यक्ति निकटलाई टिकट दिलाउन लागेको भन्दै असन्तुष्टि चुलिन थालेको छ। तर काँग्रेसलाई एमाले फुटेको, माओवादी कमजोर भएको र नेकपा समाजवादी जन्मदै गरेको अवस्थामा धेरै क्षेत्रमा आफ्नो पार्टीले जित्ने हौसला बढेको छ। काँग्रेसले पनि स्थानीयस्तरमा कार्यक्रम शुरु गरेको छ। नेकपा माओावादी केन्द्र्र जिल्लाको तेश्रो दल हो। यसअघि दुईवटा पालिकामा विजयी हासिल गरेको माओवादी केन्द्र अहिले छिन्न भिन्न छ। टिकटका लागि आन्तरिक प्रतिस्पर्धा भए पनि मिलेर जानुपर्ने अवस्थामा माओवादी पुगेको छ। सम्भवतः जिल्लामा माओवादी केन्द्र र नेकपा समाजवादी मिल्ने सम्भवना देखिन्छ। तर पनि विजयीका लागि एमाले वा काँग्रेससँग समीकरण बनाउन दुई दललाई आवश्यक छ।





