धुलिखेल नगरपालिकाले पाँच वर्षको अनुभवलाई आधार मान्दै आगामी २० वर्ष भित्र नगरपालिकालाई समृद्ध बनाउँदै नगरबासीहरुलाई आयआर्जन बृद्धि गराउँदै नेपालमै नमूना नगरपालिका बनाउने संकल्प प्रस्ताव पारित गरेको छ। जिल्लामा रहेका १३ वटा पालिका मध्ये धुलिखेलको उक्त प्रस्ताव र योजना पहिलो र सहनिय छ। नेपालमै नमूना नगरपालिकाका रुपमा विकास हुँदै गएको नगरपालिकाले नागरिकहरुलाई खानेपानी मात्रै होईन स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेको छ। चालु वर्ष भित्रमै शतप्रतिशत घरमा खानेपानी पु¥याउने गरी गतिविधि संचालन गरेको धुलिखेल नगरपालिकाले नागरिकहरुलाई स्वस्थ राख्न स्वस्थ शहर कार्यक्रम संचालन गरिरहेको छ।
नगरपालिकाले तयार गरेको संकल्प प्रस्तावमा धुलिखेल नगरलाई निरपेक्ष गरिबी मुक्त शहर बनाउने, स्नातक तहसम्मको शिक्षा निःशुल्क गर्ने, स्वस्थ शहर घोषणा गर्ने, खानेपानी र विद्युतीय महशुल गरिब परिवारको निःशुल्क गर्ने, विद्यालय शिक्षा गुणस्तरीय बनाउने, एक घर एक रोजगार, एक घर एक सीपमुलक तालिम सुनिश्चित गर्ने, सबै परिवारलाई उद्यमशील बनाउने, औद्योगिक केन्द्रलाई ग्रीन इनर्जी युक्त बनाउने, कार्बन उत्सर्जन मुक्त र प्रदुषण मुक्त शहर बनाउने, एक वडा एक खेल मैदान बनाउने उल्लेख गरेको छ। खानेपानीमा आत्मनिर्भर शहर बनाउने, धुलिखेललाई पर्यटक मैत्री शहर घोषणा गर्ने, सबै वडामा नगर बस संचालन गर्ने, सबै टोलमा सडक बत्ति पु¥याई अँध्यारो मुक्त शहर घोषणा गर्ने, संग्राहलयमा सय बर्ष पुराना बस्तुको संग्रह गर्ने निर्णय गरेको छ। ३६ औं स्थापना दिवसको अवसरमा पनि नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु लगायतका ब्यक्तिहरुले धुलिखेलको नमुना विकास र यसको निरन्तरताको प्रतिबद्धता ब्यक्त गर्नुले धुलिखेल एक पछि अर्काे विकासको फड्को मारिरहेको पुष्टि हुन्छ।
नगरपालिकामा ड्रिम ल्याण्ड प्रोजेक्ट कार्यान्वयन गर्ने, अरनिको राजमार्ग छेउ आधुनिक बस पार्क निर्माण गर्ने, एक वडा एक कृषि उत्पादन केन्द्र बनाउने, दीगो विकास लक्ष्यका सबै लक्ष्य सन् २०३० पूर्व हासिल गरि नेपालको पहिलो नगर बनाउने, १०० किलो मिटर सडक बनाई सबै बस्तीमा पिच पु¥याउने, कृत्रिम ताल निर्माण गरि पर्यटन र सिंचाईको उपयोग गर्ने, आकस्मिक दुर्घटनामा परेको बिरामी उपचार गर्न १०० वेडको ट्रमा सेन्टर बनाउने, धुलिखेल आवास केन्द्र निर्माण गर्ने, सबै सामुदायिक वनको डिपिआर बनाई लागू गर्ने, सबै साँस्कृतिक सार्वजनिक सम्पदा (मठ, मन्दिर, पाटी पौवा, गुम्बा, मस्जिद)को पुनःनिर्माण तथा जीर्णोद्धार गर्ने संकल्प गरेको छ। धुलिखेल खेल मैदानलाई आधुनिक बनाउने, धुलिखेलमा कम्तिमा राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने, सबै खालको कला, साहित्य, संगीत अध्यन केन्द्र बनाउने, एक वडा एक वन नमुना र पर्यापर्यटन वन बनाउने, स्मार्ट शहरको डिपिआर बनाई लागू गर्ने, सबै वडाको सुविधा सम्पन्न कार्यालय बनाउने, सीप विकास केन्द्र स्थापना गर्ने, जेष्ठ नागरिक सेवा केन्द्र र बालबालिका हेरचाह केन्द्र निर्माण गर्ने संकल्प पास गरेको छ। प्रस्तावित योजनाहरुलाई कार्यान्वयन गर्न दुरदर्शी नेतृत्व आवश्यक छ। त्यस्तो नेतृत्व धुलिखेल नगरपालिकाले प्राप्त गरेको छ।





