2026 April 16/ 08:51: 29pm

    कोरोना भाईरसको संक्रमण सबै उमेर समुहका ब्यक्तिहरुलाई हुन थालेसँगै सबैको आवश्यकता कोरोना खोप भएको छ। यसअघि सरकारले छिमेकी देश भारत, चीनको अनुदान र खरिदबाट ३० लाख भन्दा धेरै नेपालीहरुलाई खोप उपलब्ध गराएको छ। शुरुमा खोप प्रतिको अविश्वासका कारण धेरै सक्रिय र प्रभावित समुहले खोप लगाउने चासो गरेनन्। दोश्रो संस्करणले धमाधम संक्रमण बढ्ने र मृत्यु हुने क्रम बढेसँगै आम नागरिकलाई कोरोना खोप आवश्यक भएको हो। विगतमा स्वयम् जनप्रतिनिधि पनि कोरोना खोप लगाउन डराईरहेका थिए। अहिले जनप्रतिनिधि, कर्मचारीहरु खोपका लागि दौडिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन अघि नै सबै खोप लगाउने प्रतिबद्धता गर्नु भएको छ। प्रधानमन्त्रीको प्रतिबद्धता पूरा होस् शुभकामना। 
    खोपका कारण धेरै ब्यक्तिलाई संक्रमण हुनबाट जोगाएको छ। खोप लगाएकालाई कोरोना संक्रमण नभएको होईन तर पनि धेरै कम मात्रामा संक्रमण भएको र संक्रमण भएकाहरुलाई पनि गम्भीर समस्या देखिएको छैन। भारतबाट आएको खोप लगाउने अग्रपंक्तिका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायतले दोश्रो पटकको खोप समेत लगाईसकेका छन्। जसका कारण खोप लगाउने अग्रपंक्तिमा खटिने ब्यक्तिहरु यो पटकको कोरोना भाईरसको संक्रमणबाट बच्न सफल भएका छन्। काभ्रेपलाञ्चोक जिल्लाको तथ्याङ्कले पनि एकाध बाहेक अधिकांश ब्यक्तिहरु खोप नलगाएको अवस्थामा संक्रमित देखिएका छन्। खोप देखि डराउने वा खोप केहि होईन, यसले केहि गर्दैन भन्ने सोच भएकाहरुले खोप लगाएनन्। अहिले उनिहरु नै डरले पहिलो डोजको खोपको बारेमा चासो राखिरहेका छन्। खोप लगाउनेहरुलाई पहिलाको तुलनामा संक्रमण भएको छैन।
     छिमेकी देश भारतबाट ल्याएको खोपको लक्षण कोरोनासँग मिल्दोजुल्दो थियो। खोपले गाह्रो गराउने डरले धेरैले खोप लगाउन चाहेनन्। छिमेकी देश चीनको खोपको लक्षण केहि नभएकाले सहज भयो। नेपालमा जेष्ठ नागरिक, ४० वर्ष भन्दा माथी उमेर समुहका ब्यक्तिहरु, सवारी चालक, एम्बुलेन्स चालक तथा अन्य अग्रपंक्तिमा खटिने ब्यक्तिहरुले खोपको अवसर प्राप्त गरिसकेका छन्। महामारीकै बीच स्वास्थ्य कार्यालय काभ्रेले दोश्रो डोज खोप अभियान शूरु गरेको छ। संक्रमणसँगै जोगिएर नागरिकहरुको सुरक्षामा खटिने स्वास्थ्यकर्मीलाई राज्यका हरेक निकायले प्रोत्साहन र हौसला जरुरी छ। सबै नागरिकमा खोप पुग्ने राज्यले पहल गर्नु जरुरी छ।