2026 April 16/ 08:51: 57pm

    भुकम्प गएको पाँच वर्ष वितिसकेको छ। १९९०, २०४५ साल पछिको ठुलो भुकम्प २०७२ बैशाख १२ गते गयो। जनधनको ठुलो क्षति भए पनि नागरिकहरुले त्यसको पीडा भुल्न थालेका छन्। एकै परिवारका धेरै सदस्यहरुको निधन भए पनि, घाईते भए पनि, अपाङ्ग भए पनि भुकम्पको पीडा विर्सन अनेक प्रयास गरिएका छन्। तर भुकम्प प्रतिरोधी संरचना निर्माणमा अझै ध्यान जान सकेको छैन। सरकारका लागि भवन निर्माण गर्ने जस्तै गरी नागरिकहरुले भुकम्पका घरहरु निर्माण गरेका छन्। त्यो एउटा विपती हो। लगत्तै अर्काे विपद विश्वभर भोगिरहेको अवस्था छ। भुकम्प पछि कोरोनाको महामारीले थिलथिलो भएको जनजीवनलाई सहज बनाउन पनि नागरिक सचेत हुनु जरुरी छ। अहिले तीन तहका सरकार सक्रिय छन्। गतवर्ष शुरु भएको कोभिड १९ नियन्त्रण, रोकथाम र ब्यवस्थापनमा स्थानीय सरकारको सक्रियताले महामारी नियन्त्रणमा सहज बन्न पुग्यो । विपद यस्ता मात्रै हैनन्। अहिले देशभरका विभिन्न स्थानमा लागेको आगलागी केहि दिन अघिको मौषमका कारण नियन्त्रण हुन थालेको छ। वर्षात्को समयमा हुने बाढी पहिरो, चैत्र बैशाखमा हुने हावा हुरी, आगलागी चट्याङ्ग, नागरिकहरुका लागि हुने अनेकखाले विपद्का तयारी गर्नु जरुरी छ। 
    २०७२ बैशाख १२ गते गएको भुकम्पमा जिल्लामा ३ सय ७२ जनाको निधन भएको थियो। १४ हजार ८ सय ४३ जना घाईते भएका थिए। २ सय ३७ जनाको जिवितै उद्दार गरिएको थियो। ४ सय ९६ वटा प्राणी उद्दार गरिएको थियो। भुकम्पमा घाईते भएकाहरु मध्ये ४ हजार ७६ जना विरामीको उद्दार गरिएको थियो। जिल्लामा ८३ हजार २ सय २४ पुर्ण रुपमा क्षति भएका थिए। भुकम्पमा घाईते भएकाहरु मध्ये केहि अपाङ्गता भएका छन्। भुकम्प पछिका संरचनाहरु  अपाङ्गता मैत्री निर्माण हुनुपर्ने भएपनि ब्यक्तिले निर्माण गरेका आवासहरु अपाङ्ग मैत्री हुन सकेका छैनन्। सरकारी भवनहरु, सामुदायिक भवन, सहकारी भवन, गुम्बा, रेडक्रस भवन, लघु जलविद्यूत, मठ मन्दिर, दुध चिस्यान केन्द्र, सामुदायिक विद्यालय, स्वास्थ्य भवन, प्रहरी चौकी, कृषि उपजहरु १ अरब ३५ करोड ८२ लाख ५० हजार क्षति (खाद्यान्न, विय, तरकारी तथा नगदे बाली, हाट बजार, ब्यवसायीक कृषि फर्म लगायतको क्षति भएको थियो। खानेपानी, शौचालयहरु पुश सेवा केन्द्र र पशुधनमा समेत करोडौंको क्षति भयो। थुप्रै क्षतिका बाबजुत पनि भुकम्प पीडितहरु दुःख बिर्सेर सम्भावनातर्फ लागिरहेका छन्। सम्भावनालाई सहजतातर्फ अघि बढाउन सबै पक्ष सक्रिय हुन जरुरी छ। 
    आशा गर्ने ठाउँ धेरै छ। क्षति भएका आवासहरु निर्माण भईसकेका छन्। विद्यालय तथा अन्य संरचनाहरुले पुनर्निर्माणको अवसर पाएका छन्। वर्षाै बन्न नसक्ने भवनहरु निर्माण भएका छन्। संरचनाहरुले नयाँ आशा र सम्भावना बढाएको छ। भविष्यमा कुनैपनि समय हुन सक्ने विपद् न्युनीकरणका लागि सरोकारवाला पक्षहरु र स्वयं ब्यक्ति सचेत हुनु पर्छ।