2026 April 16/ 08:51: 55pm

नेपाल सरकारले हिंसात्मक आन्दोलनमा सक्रिय रहेको विप्लव नेतृत्वको नेकपा माओवादीलाई शान्ति प्रकृयामा ल्याउन गरेको सहमति नेपाल र नेपालीको हितका लागि ऐतिहासिक उपलब्धी भएको छ। यसअघि केपी ओली नेतृत्वको सरकारले नेपालमै अलग्गै राज्य संचालनका लागि पृथकतावादी आन्दोलन शुरु गरेका सिके राउतलाई समेत शान्ति प्रकृयामा ल्याएर मुलुकलाई शान्तिको बाटोमा हिडाउने प्रयास गरेको थियो। दुवै सहमतिले मुलुक फेरी एक पटक शान्ति प्रकृया पछि देखिएका तमाम समस्याहरुको समाधान गर्दै अग्रगामी विकास र समृद्ध तर्फ उन्मुख भएको पुष्टी भएको छ। कम्युनिष्ट नेतृत्वको सरकारले गरेका ऐतिहासिक कार्यहरु मध्ये शान्तिपूर्ण राजनीतिमा समाहित गराउनुका साथै छिमेकी देश भारतले ओगटिरहेको नेपाली भूमी कानुनी र बैद्यताका साथ नेपालको नक्सामा समेट्नु अर्काे उपलब्धी हो। केपी ओली नेतृत्वलाई असफल बनाउने, सरकारबाट हटाउने र पार्टी भित्रै फुट सिर्जना गरी मुलुकलाई अस्थिरता, अराजनिकता, अशान्ति तर्फ मोड्न खोज्ने शक्तिहरुका लागि यो ठुलो झापड भएको छ। नेपाल र नेपालीहरुका लागि यो महत्वपूर्ण उपलब्धी हो। 
    १७ हजार नेपालीहरुले ज्यान गुमाएका घटना ताजै छन्। नेपालीहरु हिंसा होइन शान्ति चाहन्छन् भन्ने कुराको पुष्टि २०६२÷०६३ सालको जन–आन्दोलनबाट भईसकेको छ । नेपालीहरुका लागि केहि गर्छु भन्ने सोच राखेर हिंसात्मक आन्दोलन शुरु गरेका पुष्पकमल दाहालको समुहबाट उनकै सहयात्रीहरु उनका राजनीतिक गुरु मोहन बैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा, नेत्र विक्रम चन्द जस्ता दर्जनांै नेताहरु अलग भईसकेका छन्। यस्तो अवस्थामा पार्टी एकीकरण गरेर साख जोगाउन कम्मर कसेका पुष्पकमल दाहाल छिमेकी देश भारतको सजिलोका लागि आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्दै पार्टी फुटाएर काँग्रेसलाई सत्ता सुम्पन्न लागेका छन्। छिमेकीलाई सजिलो हुने सरकार बनाउन लागिपरेका पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतलाई नेत्रविक्रम चन्दको शान्ति प्रकृयाको प्रवेशले निद हराम भएको छ। ओली र चन्द राष्ट्रवादी नेताका रुपमा चिनिएका छन्। उनिहरुले राष्ट्र र राष्ट्रियता प्रति देखाएको नैतिक स्वाभिमानको उच्च सम्मान छ। विप्लवको पार्टीले घोषित रुपमा सशस्त्र आन्दोलन नगरे पनि उसले विभिन्न हिंसात्मक गतिविधिहरु गर्दै आएको थियो। दुई वर्षअघि एनसेल टावरमा बम विस्फोट गराएपछि ओली सरकारले नै उक्त समूहलाई प्रतिबन्ध लगाएको हो। त्यसयता पनि छिटफुट गतिविधि विप्लव समूहले गर्दै आएको थियो।
    तत्कालीन माओवादीका चर्चित नेता विप्लव पछि मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीमा गएका थिए। वैद्यसँग पनि कुरा नमिलेपछि चन्द छुट्टै पार्टी निर्माण गरेर भूमिगत भएका थिए। त्यसयता विप्लव समूहले विभिन्न स्थानमा आगजनी, तोडफोड, कुटपिट, अपहरण, धम्की, गोलीप्रहार, जग्गा कब्जा, तालाबन्दी पुत्लादहन लगायतका आपराधिक घटना गर्दै आएको थियो। यो समूहबाट चार सर्वसाधारण र दुई प्रहरीको हत्या भएको छ। विप्लव समूहतर्फ १६ जना हताहत भएका थिए। ग्रामीण भेगमा चन्दाको आतंक उत्तिक्कै थियो। चन्दकै नाममा भएका विकृति र विसंगतिहरु पनि त्यतिक्कै थियो। शान्ति प्रकृयामा आएसँगै नागरिकहरुमा देखिएको खुशीले मुलुकले अर्काे ऐतिहासिक उपलब्धी हासिल गरेको पुष्टि भएको छ। सहमतिलाई इमान्दारिताका साथ पालना गर्नु जरुरी छ।