2026 April 16/ 08:51: 56pm

    विश्वभरी फैलिएको कोभिड १९ ले विश्वका सबै क्षेत्र प्रभावित बनाएको छ। कोभिड संक्रमितहरुको संख्या घटिरहे भए पनि संक्रमणको जोखिम घटेको छैन। नेपाल सरकारले चरण चरणमा भाईरस विरुद्धको खोप कार्यक्रम शुरु गरिरहेको छ। खोप कार्यक्रम प्रभावकारी भए सँगै नागरिकहरुमा सन्तुष्टि र भाईरस प्रतिको वेवास्ता बढिरहेको छ। यसका बाबजुत कोरोना भाईरसको समयमा हरेक क्षेत्रले भाईरस फैलन नदिन, नागरिकहरुलाई एक अर्का प्रति सुरक्षित राख्न, घर भित्र निस्सासिन पुगेका नागरिकहरुलाई सहज र स्वच्छ वातावरण प्रदान गर्ने सामुदायिक वनको महत्वपूर्ण भूमिका रह्यो। सामुदायिक वनबाट नागरिकहरुले प्राप्त गरेको स्वच्छ हावा मात्रै होईन कोरोना भाईरसका कारण लकडाउनको अवधीमा वनहरुले निभाएको भूमिका सहनिय छ। 
    संकटमा नागरिकहरुलाई महामारी फैलन दिन विभिन्न क्षेत्रका नागरिकहरु, संघसंस्थाहरुको भूमिका फरक फरक रहेको थियो। महामारी रोकथाम, नियन्त्रण र ब्यवस्थापनसँगै सामुदायिक वन उपभोक्ता महासंघ अन्र्तगत वन समुहहरुले उपभोक्ताहरुलाई उपलब्ध गराएको सेवाका बारेमा फरक–फरक अनुभूति र अनुभव रहेको छ। कोरोनाको समयमा भएको लकडाउनका कारण बन समुहले स्वतन्त्र भएर काम गर्न सकेनन् तर पनि जति गरे त्यसले उपभोक्ताहरुका लागि सहज बनाएको भने पक्कै हो। कोरोना अवधीमा पनि बनेपा नगरपालिका वडा नम्वर ६ मा पर्जे गोसाईकुण्ड सामुदायिक वन संरक्षणका लागि १० वर्षे कार्ययोजना तयार गरिएको छ। जिल्लाका पुराना बनहरु मध्ये गोसाईकुण्ड पर्दछ। २०१९–२०२५ सालसम्म गोसाईकुण्ड क्षेत्रको नाङ्गो पाखालाई हरियाली बनाउन अष्ट्रेलियन वन सामुदायिक परियोजना मार्फत सल्लाका विरुवाहरु बृक्षारोपण गरिएको थियो। उक्त विरुवाहरु संरक्षण भएकै कारण उक्त क्षेत्र हरियाली देखिएको छ। सुख्खा र उजाड क्षेत्र हरियाली हुँदा त्यसले नागरिकहरुलाई दिएको स्वच्छ हावा, निरन्तर पिउने पानी र आन्तरिक तथा बाह्य पर्यटकीय क्षेत्र हुँदै दैनिक मर्निङ्गवाक आउनेहरुका लागि शारिरीक र मानसिक रुपमा पनि सहज बनाई रहेको छ। उपभोक्ताहरुको सक्रियता रहँदासम्म उक्त वनको संरक्षण भईरहे पनि खुल्ला क्षेत्रका कारण सिमानाबाट अतिक्रमण अर्थात धार्मिक क्षेत्र भएकाले त्यसले प्रभाव पारि नै रहेको छ। 
    कोरोना अवधीमै तयार भएको गुरुयोजना अन्र्तगत सल्लाका रुखहरु विस्थापित बनाउने योजना छ। सल्लाका रुखहरुले पानी सोस्ने र मुलहरु सुकाउँदै गएकाले त्यसका ठाउँमा रसिला रुखहरु अध्ययन गरेर लगाउने तयारी गरिएको छ। उतिस, चिलाउने जातका रुखहरुलाई समेत सल्लोले छायाँमा पारेको छ। उक्त वन भित्र हरेक वर्ष जनैपुर्णिमाको दिन छिमेकी जिल्लाहरुबाट समेत धार्मिक पर्यटकहरुको घुईचो लाग्ने गर्दछ। हिन्दु धर्मावलम्बीहरुको अलावा बुद्ध धर्म मान्नेहरु पनि उक्त दिन मेला भर्ने गरेका छन्। कोभिड १९ का कारण उक्त जात्रा यो पटक हुन सकेन। जात्रा नभएकै कारण उक्त क्षेत्रमा आवतजावत कमी हुन गयो।  कोभिड १९ ले वन योजना तयार गर्न र कार्ययोजना कार्यान्वयनमा चुनौती थपियो। समुहका सदस्यहरु समेत भेला भएर बैठक तथा भेला गर्न नसके पछि तत्काल कार्य अगाडी बढाउन सकिएन। 
    कोभिड १९ मा घर भित्रै बसिरहँदा ब्यक्तिमा पर्ने नकारात्मक असर छल्न तथा ब्यक्ति स्वस्थ बन्न शहरी क्षेत्रबाट ब्यक्तिहरुको घुँईचो लाग्यो। एक पटक त बनमा आगलागी समेत भयो। कोभिड १९ को बेला बनमा आगलागी भए पछि आगो नियन्त्रणमा लिन हम्मे हम्मे भयो। दैनिक २÷३ सय ब्यक्तिहरु वन भित्र स्वच्छ हावाका लागि आएका कारण वन क्षेत्र सुरक्षित भयो। कोभिडले उपभोक्ताहरुलाई सचेत मात्रै गराएन सामुदायिक वनहरुको संरक्षण हुँदा विपद्मा आश्रय लिन सहज बनायो।