2026 April 16/ 08:51: 56pm

    आज माघ १ गते। विभिन्न जाति समुदायले माघी पर्वलाई विशेष चाडका रुपमा मनाउने गरेका छन्। आजैका दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्छन्। आजको दिनलाई माघे संक्रान्ती, तिलुवा सक्रान्ती, मकर सक्रान्ती या माघीका रुपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्वका साथै मनाउने गरिन्छ। आजैका दिन राष्ट्रिय योग दिवस पनि हो। २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउन मन्त्रिपरिषद्को औपचारिक निर्णय थियो। २०७२ साल देखि देशका विभिन्न स्थानमा रहेका योग विज्ञान तथा साधनामा काम गरिरहेका विभिन्न संघ संस्थासँग सहकार्य मार्फत शिक्षा मन्त्रालयले समेत राष्ट्रिय योग दिवस मनाउन थालेको छ।
    माघ महिना र माघी पर्वको आफ्नै विशेषता र महत्व छ। सनातन सँस्कारमा तिलको विशेष महत्व छ, चाहे होमजप गर्नलाई चरुको रुपमा होस् या पूजा गर्दा अनि दान गर्दा होस् या कुनै पितृकर्म अनि शुभकार्य, तिल अपरिहार्य छ। आजको दिन तिलको पकवानका लागि प्रसिद्ध छ, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाईएका लड्डुहरु आजको विशेष परिकार हो। त्यसैकारण माघे सक्रान्तीलाई तिलुवा सक्रान्ती पनि भनिन्छ। आजका दिन सूर्य र पृथ्वीको दिशालाई लगभग यस्तै ध्रुवको अवस्थितिका आधारमा गणना र मापन गरिन्छ। सूर्यको दिशा उत्तरायणतर्फ लाग्दैछ, उत्तरउन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजवाट हिउँद घट्दै जाने र बसन्तका साथै ग्रिष्म बढ्दै जाने मान्यता छ। आज घरघरमा तिलको लड्डुसँगै कन्दमुल, खिचडी लगायतका खानेकुहरु खाने गरिन्छ। खिचडी विशेष प्रकारको खाना हो। यसको प्रयोग ब्यक्तिको स्वस्थता र चाडको निरन्तरताका रुपमा पनि लिने गरिन्छ। आजका दिन तरुल, सख्खरखण्ड, पिडालु खाने चलन छ। काँचो तरुल र घिउ अझै महत्वपूर्ण परिकारका रुपमा लिईन्छ। माघे संक्रान्तिको दिन विहान सबेरै नुहाई धुवाई गरेर, चोखो कपडा लगाई, व्राह्मणलाई दान दक्षिणा दिइनुको साथै कतिपय घरमा रुद्री या सत्यनारायण भगवानको पूजा लगाउने कार्य गर्ने चलन छ। तिल र चाकु मिसाएको परिकार तथा तरुल आदी खानाले जाडोमा शरीरलाई न्यानो प्राप्ति हुने गर्दछ। वैज्ञानिक अनि अर्थपूर्ण संस्कार नेपाली जनजीवनमा रहेको छ पोषिला खानेकुरा खानाले न्यानोका साथसाथै अन्य चर्मरोग र जोर्नीका समस्या आदीबाट मुक्ति मिल्ने विश्वास छ। 
    आजको दिन पवित्र नदिहरुमा मेला लाग्ने गर्छ। कोरोना भाईरसको महामारी, भुकम्प पछि थिलथिलो भएका मनहरुलाई पुनर्निर्माणको गति, पछिल्लो राजनीतिक घटनाक्रम अनि मुलुकको तरल स्थिति पछिको अनिश्चयले पनि चाडवाडलाई खल्लो बनाएको छ। नवलपरासीको देवघाट, सुनसरीको चतरा, कालीगण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाण्डौ शङ्खमूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरुको घुँईचो रहन्छ। माघी नुहाई सकेपछि तिलको सुकेको वुट्यानलाई बालेर आगो ताप्ने चलन छ। माघी नुहाएमा पापमोचन हुने जनविश्वास छ। स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने विश्वासका आधारमा समेत माघी पर्वलाई महत्वका साथ मनाउने गरिन्छ। १२ वटा संक्रान्ति मध्ये बैशाख, साउन र माघको सक्रान्तिलाई विशेष रुपमा मानिदै आएको छ। थारु, मगर, नेवार समुदायले यसलाई विशेष पर्वका रुपमा मनाउँछन्। सबै चाडहरु हाम्रा भावनाहरु, मनहरु र समुदायमा अझै हार्दिकता प्रदान गर्ने चाडका रुपमा लिने गरिएको छ।