2026 April 16/ 08:50: 55pm

    गर्भपतन गर्न पाउने कानुन बने सँगै लिङ्ग पहिचान पछि गर्भमै छोरीको हत्या गर्ने क्रम बढेको छ। जिल्लाको मात्रै नभई नेपालकै पछिल्लो तथ्याङ्क अनुसार पनि छोरीको गर्भमै हत्या गर्ने क्रम रोकिएको छैन। विश्वमा १३ प्रतिशत अर्थात् ८ जना मातृ मृत्युमध्ये एक जनाको असुरक्षित गर्भपतनका कारण मृत्यु हुने गरेको छ। प्रत्येक वर्ष ४७ हजार महिलाको मृत्यु असुरक्षित गर्भपतनका कारणले हुने गरेको छ भने विश्वमा प्रत्येक वर्ष ५० लाख महिलाहरू असुरक्षित गर्भपतनको जटिलताले विभिन्न रोगको सिकार हुन्छन्। नेपालमा कुल मातृ मृत्युमध्ये ७ प्रतिशत मातृमृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ। ३८ प्रतिशत प्रजनन् उमेरका महिलालाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको ज्ञान छ। अशिक्षित र कानुनी ज्ञान नभएका २० प्रतिशत र आर्थिक अवस्था कमजोर भएका २२ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउँछन्। एक सय गर्भवती महिलामध्ये ८ जनाले गर्भपतन गराउँछन्। कुल गर्भवतीमध्ये २५ प्रतिशत महिलाहरू आफ्नो चाहना विपरीत गर्भवती हुन्छन्। 
    २०५९ असोज १० गते नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिईएको थियो। २०६० असारमा सुरक्षित गर्भपतन सम्बन्धी राष्ट्रिय नीति पारित गरी २०६० चैत्र ५ गते परोपकार, प्रसूति गृह काठमाडौंमा सुरक्षित गर्भपतन सेवाको शुरुवात गरिएको थियो। २०६२ बाट नर्सिङ स्टाफद्वारा सुरक्षित गर्भपतन सेवा शुरु गरी २०६३ बाट १२ हप्तापछिको सुरक्षित गर्भपतन सेवा शुरु भएको थियो। त्यस्तै २०६५ बाट औषधिद्वारा गरिने गर्भपतन सेवाको शुरुवात गरिएको थियो। २०६६ बाट देशभरकै जिल्ला अस्पतालबाट गर्भपतन सेवा शुरुवात गरिएको थियो। काभ्रेपलाञ्चोक जिल्लामा आर्थिक वर्ष २०७६÷०७७ मा १ हजार ९ सय १ जनाले गर्भपतन गराएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसा ती मध्ये १ हजार ४ सय ४१ जनाले औषधिबाट गर्भपतन गराएका छन् भने ४ सय ६० जनाले औजार प्रयोग गरि गर्भपतन गराएका छन्।
    गर्भपतन गराउनेहरू मध्ये आधा भन्दा धेरैले छोरी भएकै कारण गर्भपतन गराउने गरेको तथ्य फेला परेको छ। सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंलगायत काभ्र्रे जिल्लाका छोरा चाहाने दम्पतीहरू लिङ्ग पहिचान र १२ हप्तापछिको भु्रण हत्या गर्ने उद्देश्यले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न क्लिनिकमा गर्भपतनका लागि आउने गरेका छन्। जिल्लाबाहिरका महिलाहरू आफ्नै जिल्लाका क्लिनिकहरूमा गर्भपतन गराउँदा पहिचान खुल्ने डरले काभ्रे आउने गरेका हुन्। गर्भपतनका लागि आउनेहरू उपत्यका भित्रका केही अविवाहित जोडीहरू पनि छन्। जिल्लाको केन्द्र बनेपामा तीनवटा गर्भपतन गराउने पोलिक्लिनिक छन्। नीजि क्षेत्रबाट सञ्चालित केही क्लिनिकहरूमा अवैध गर्भपतन हुने गरेको गुनासो छ। सरकारी अनुमगन हुन नसक्दा उनीहरूको मनोबृत्ति बृद्धि हुँदै गएको र त्यही अवैध गर्भपतनमा छोरीहरू मारिदै छन्। 
    शहरमा मासु काट्ने वधशाला नभए पनि गर्भमै छोरीको हत्या गर्ने प्रयोगशाला फस्टाउँदै गएको छ। लिङ्गका आधारमा हुने अवैध गर्भपतनलाई रोक्न सरकारी अनुगमन र नियमन जरुरी रहेको छ। नेपाल परिवार नियोजन संघ बनेपा र पाँचखाल शाखामा तीन वर्षमा ८ सय २२ जनाले गर्भपतन गराएका छन्। गर्भपतन गराउँदा लिङ्ग पहिचान गर्ने र हत्या गर्ने क्रम रोक्न कानुनको प्रयोग गर्नु जरुरी छ।