शनिबार साँझ पाँचखाल नगरपालिका वडा नम्वर १२ मा २५ वर्षीया एक महिला सुत्केरी ब्यथाले छटपटाउँदै थिईन्। त्यति नै बेला रोशी गाउँपालिका वडा नम्वर १० कि सुत्केरी महिला उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा निधन भयो। ति दुई उदाहरण मात्रै थिए। स्थानीय सरकारको उपस्थिति, सरकारले नागरिकलाई दिने सेवामा बदलिन सक्नु पर्छ। हिजोको जस्तै स्थानीय निकाय भएर संचालन हुने हो भने नागरिकहरुको अधिकार र सुरक्षाका लागि स्थानीय सरकारको भूमिका फरक हुन सक्दैन। संघ सरकारले कोरोना महामारीको बीचमा ७ सय ५३ वटै स्थानीय सरकारले अस्पताल निर्माण गर्ने गरी बजेट त विनियोजन ग¥यो तर स्थानीय सरकारले त्यसलाई अवसरका रुपमा लिन नसक्दा नागरिकहरु थप स्वास्थ्य संकटमा पर्न थालेका छन्।
आफ्नै घर आँगनमा सुविधा सम्पन्न अस्पताल नपाउँदा पाँचखालकी महिलाले ज्यान जोखिममा राख्नु प¥यो। पाँचखालमा रहेको धुलिखेल अस्पतालको बैकल्पिक उपचार केन्द्रमा महिलाको उपचार हुन सकेन। तत्काल धुलिखेल अस्पताल पठाईयो। प्राविधिक कारण धुलिखेलले उक्त विरामी भर्ना लिन सकेन। विरामीका आफन्तले तत्काल बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा विरामी ल्याए त्यहाँ पनि सम्भव भएन। नागरिकहरुले सुत्केरी ब्यथामा छट्पटिएको अवस्थामा समेत सहज रुपमा उपचार सेवा प्राप्त गर्न सक्दैनन् भने लोककल्याणकारी राज्यको परिकल्पना कसरी गर्न सम्भव छ ? सहज र सरल स्थानमा, यातायातको पहुँच, अस्पतालको समेत पहुँच भएको राजधानीबाट ५० किलोमिटर टाढाको यो अवस्थाले मुलुकमा स्वास्थ्यको संकट कति गहिरिँदो छ भन्ने उदाहरण देखाएको छ। पहुँच हुनेहरुले त्यहि अवस्थामा पनि सुविधा पाउने पहुँच नहुने सर्वसाधारणहरु बाटोमै अलपत्र परेर मर्नु पर्ने अवस्थाबाट नागरिकहरुलाई कहिले मुक्त बनाउने ? यो प्रश्न गम्भीर भएर सबैका सामु तेर्सिएको छ।
मुलुकमा कोरोना भाईरसको महामारीले नागरिकहरु धमाधम ज्यान गुमाईरहेका छन्। दीर्घ रोग लागेका ब्यक्तिहरु कोरोना भाईरसको पहिलो शिकार बनिरहेका छन्। अस्पतालमा भेन्टिलेटर र बेडकै अभाव छ। सबै सुविधा भएको स्थानमा स्वास्थ्यकर्मीको अभाव छ। तीन तहकै सरकारको प्रमुख जोड शिक्षा र स्वास्थ्यमा हुनु जरुरी छ। नागरिकहरु बाँचे भने पो बाँकी विकास र समृद्धको कुरा गर्ने हो। नागरिकहरु बचाउने कुरामा सहज हुन सकेन भने राज्यले गर्ने हरेक विकास के का लागि उपयुक्त र आवश्यकता हुन सक्छन् र ? भएका अस्पताल, स्वास्थ्य चौकीहरुले आफूलाई स्तरोन्नति गर्ने र नभएका स्थानमा तत्काल दक्ष जनशक्ति सहित स्वास्थ्य सेवाको पहुँच पु¥याउँदै नागरिकको सुरक्षामा ध्यान दिनु आजको आवश्यकता हो। जनतासँग जोडिएको जनस्वास्थ्यसँग सम्बन्धित विषयमा तीन तहकै सरकार कृयाशील र सक्रिय भई नागरिकको सुरक्षामा ध्यान दिनु जरुरी छ।





