विश्व कोरोना भाईरसको संकटमा छ। लाखौं ब्यक्तिहरुले कोरोनाकै कारण ज्यान गुमाई रहेका छन्। हिन्दुहरुको महान् चाड विजयादशमी, शुभ दिपावली, छठ पर्वमा आफन्तजनहरुसँग भेटघाट गर्ने, वर्षाैसम्म टाढिएका आफन्तहरु घर फर्कने, मान्यजनहरुबाट आर्शिर्वाद लिने र मिठो खाने, राम्रो लगाउने सपना तय हुने यि चाडपर्वहरुमा आफ्नै परिवारका सदस्यहरुबाट डराउनु पर्ने अवस्था सिर्जना भएको छ। बैदेशिक रोजगारमा रहेका वा मुलुक भित्रकै विभिन्न स्थानमा रहेका ब्यक्तिहरु पनि चाडपर्वको समयमा घर फर्कने चलन छ। नयाँ कामको शुरुवात पनि यस्तै चाडपर्वहरुलाई नै आधार मानेर गरिन्छ। तर यो वर्ष कोरोनाले यस्ता पेशा ब्यवसायको शुरुवात गर्ने कतै कतै भए पनि अधिकाश स्थानमा भएका उद्योग ब्यवसाय पनि बन्द भएका छन्।
दशैंको आफ्नै महत्व छ। दशैंका दश दिनको महत्व अलग्गै छ। त्यहि महत्वलाई हिन्दुहरुले विशेष चाडका रुपमा मनाउने गरेका छन्। दशैंको तयारी र दशैंको आर्शिर्वादका कारण थप संक्रमण फैलन सक्ने सम्भावना छ। संक्रमण फैलन नदिन सर्वसाधारणले अपनाउनु पर्ने सुरक्षा सतर्कता अपनाएको देखिदैन। चाडपर्वमा घर फर्कदाँ सवारी साधनको चाप, किनमेल गर्दा हुने भिडभाडका कारण नागरिकहरुलाई संक्रमण बढ्ने खतरा बढिरहेको छ। अस्पतालमा विरामीको चापका कारण अन्य विरामीहरु भर्ना हुन सकिरहेका छैनन्। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबै संक्रमित भईसकेका छन्। संक्रमितहरुको उपचारका लागि स्थानीय सरकारले तयारी गरे पनि सिमित श्रोत र साधनका कारण पर्याप्त हुन सक्दैन। विशेषगरी दीर्घरोग भएका नागरिकहरु, जेष्ठ नागरिकहरुलाई कोरोनाले थप संकट बनाईरहेको छ। संकट निम्तिन सक्ने विरामीहरुका लागि घर परिवार र आफन्तले पनि सचेतना अपनाउन जरुरी छ। दम, सुगर, प्रेसरका विरामीहरुले नियमित खानु पर्ने औषधीको मात्रा मिलाउने, घर परिवारकै सदस्यहरुबाट पनि जोगिने अवस्थामा मात्रै रोगबाट बच्न सकिन्छ।
जिल्ला कमाण्ड पोस्टले ५ सय भन्दा धेरै सक्रिय संक्रमित भएको जिल्लामा वा जिल्ला भित्रको कुनै भागमा कुनै सेवा वा कार्यमा रोक लागाउन सक्ने निर्देशन दिएको छ। सोहि निर्देशन अनुसार जिल्लामा ५ सय भन्दा माथि सक्रिय संक्रमित रहेकाले बढी भिडभाड हुने सेवा प्रदायक सरकारी कार्यालयहरुले अत्यावश्यक सेवा बाहेकका सबै सेवा आईतबारबाट अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरेको छ। विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण जिल्लामा समेत बढ्दै गइरहेको सन्दर्भमा नेपालीहरुको महान चाड बडादशैंमा घटस्थापना देखि नवरात्र भर विभिन्न शक्तिपीठ तथा मन्दिरहरुका साथै स्थापना गरिने दुर्गा भवानीको पण्डालमा सर्वसाधारणहरुको भिड हुन नदिन जिल्लाका सबै शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पुजा बाहेक दर्शनका लागि सर्वसाधारणहरुलाई प्रवेश निषेध गर्ने निर्णय गरेको छ। हाम्रो हेलचेक्राईले दशैं दशा बनेर नभित्रियोस्। विजया दशमीको सम्पूर्णमा शुभकामना।





