गुठी जग्गामा भएका अनगिन्ति समस्या समाधान गर्न सरकारले ल्याएको ऐनको विरोध भए पछि अर्काे ऐनको तयारी भए पनि प्रस्तुत हुन सकेको छैन। गुठी भित्रका समस्या बग्रेल्ति छन्। गुठीका समस्यालाई थाती राखेर नागरिकहरुका हक र अधिकारलाई समाधान हुन नदिने गुठी माफिया सक्रिय छन्। संस्कृतिका नाममा गुठीहरु संरक्षण होईन मासिदै गएका छन्। गुठी अन्र्तगतका थुप्रै समस्याहरु्रलाई समाधानका लागि सरकारले लिएको पहलकदमी अर्थात ऐनलाई तत्काल पास गरी कानुन बनाउनु पर्छ।
विभिन्न जिल्लामा जस्तै काभ्रे जिल्लामा मात्रै ८१ वटा गुठी कायम छन्। ८१ वटा गुठीमा १० हजार १ सय ६५ कित्ता जमिन छ। झण्डै ५ हजार भन्दा धेरै गुठी जग्गाका मोहि छन्। स्थानीय सरकार र गुठी संस्थान बीच समन्वय अभाव हुँदा गुठीमा रहेका जग्गाहरु अतिक्रमण भईरहेका छन्। झण्डै २ हजार ७ सय रोपनी जमिन गुठी जग्गामा रहेको छ। गुठीमा रहेको जग्गाबाट बार्षिक गुठी संस्थान काभ्रेले १ करोड ९७ लाख ४८ हजार ३ सय ५२ रुपैयाँ संकलन गर्दै आएको छ। लकडाउनका कारण लामो समय कार्यालय बन्द रहेका कारण ५३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ। गुठीका मोहिहरु बर्षाै जग्गाको कुत बुझाउन आउने गरेका छैनन्। जग्गा किनबेच हुने अवस्था, बैंकमा धितो राख्नु परेको अवस्था तथा कुनै प्रयोजनका लागि राजश्व बुझाएको रसिद आवश्यक भए पछि मात्रै गुठीको जग्गा हुनेहरु राजश्व बुझाउन आउने गरेका छन्।
जिल्लामा तैनाथी गुठीको जग्गा अतिक्रमणमा परेको छ। राज गुठी र निजी गुठी दुई प्रकारका छन्। राजगुठी अन्र्तगत अमानत गुठी र छुट गुठी छन्। जिल्लाको धेरै समस्या रहेका अधिकांश गुठीहरु मध्ये बनेपाको चण्डेश्वरी गुठी, पलाञ्चोक गुठी लगायत छन्। चण्डेश्वरी गुठीका गुठीयारहरुले जग्गामा घर निर्माण गरि बसिसकेकाले आफ्नै नाममा हुनुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा मुद्दा दर्ता गरेका छन्। तर विद्यमान कानुनले उनीहरुले निर्माण गरेको घर ब्यक्तिको हुने ब्यवस्था छैन। विद्यमान कानूनले घर बनाएर बसेका ब्यक्तिहरुले चर्चेको ८ आना जग्गा ब्यक्तिलाई दिन सकिने ब्यवस्था छ। मठ मन्दिरका नाममा रहेको जमिन भने कसैको नाममा दर्ता गर्न मिल्दैन। मठ मन्दिरमा रहेका गुठीयार, खान्किदार र रकमीहरुलाई काम गरेसम्म खान पाउने गरी जग्गा ब्यवस्थापन गरिएको थियो। त्यहि जग्गा भाडामा लगाएर ब्यवसाय गरिहेको अवस्था छ। स्थानीयहरुले त्यसको पनि विरोध गर्दै आएका छन्। गुठी संस्थान मार्फत जिल्लाका केहि महत्वपूर्ण जात्राहरुको ब्यवस्थापनका लागि रकम उपलब्ध हुने गरेको छ। हालको चलनचल्तिको मूल्य भन्दा संस्थानले उपलब्ध गराउने रकम थोरै हुन जान्छ। तर पनि खर्चको मितब्ययीता अपनाउने र संस्कृतिलाई निरन्तरता दिने अभियानमा स्थानीयहरु सक्रिय हुँदै आएका छन्।
नेपाल सरकारको नाममा दर्ता भइसकेको जग्गा समेत कुनै अमुक गुठीको नाममा दर्ता गरी व्यक्ति विशेषको नाममा गुठीको मोही कायम गर्ने, गुठीको स्वामित्वमा रहेका जग्गाहरूको गुठी रैतानी नम्बरी कायम गर्ने निर्णय गरी गुठीको अस्तित्व नै समाप्त पार्ने, विभिन्न ऐेतिहासिक गुठीको लगत भित्रका जग्गाहरू (फिल्डबुकमा गुठीको नाम कायम भएका समेत) खोजी सम्बन्धित गुठीको नाममा दर्ता गर्न अग्रसर नहुने, गुठी संस्थानको एकलौटी स्वामित्व हुने गुठी तैनाथी जग्गामा समेत अमुक व्यक्तिहरूलाई नयाँ मोही खडा गरी÷गराई द्वैध स्वामित्व कायम गराउने, लगायतका कार्यहरु भईरहेका छन्। तत्काल ऐन मार्फत गुठी जग्गाका समस्यालाई समाधान गरिनु पर्छ।





