कोरोनाका कारण संकटमा परेका आम नागरिकहरुको पीडा एकातिर छ । तर अर्काेतिर नियमित औषधी सेवन गर्ने गम्भिर प्रकृतिका विरामीहरु संकटमा पर्न थालेका छन्। गम्भिर प्रकृति मध्येका एचआईभी संक्रमित भएका ब्यक्तिहरु पनि हुन्। मुटु, क्यान्सर, मृगौला तथा अन्य दीर्घरोग लागेका ब्यक्तिहरु अस्पतालमा थप उपचार गर्न जान डराईरहेको वा नपाईरहेको अवस्थामा एचआईभी संक्रमितहरुले नियमित औषधी सेवन गर्न कठिनाई भोगिरहेका छन्। जिल्लाको तथ्याङ्क अनुसार ८० जनाले यो रोगको औषधी सेवन गरिरहेका छन्। २० वर्षमा ४० जनाले यहि रोगका कारण ज्यान गुमाई सकेका छन्।
एचआईभी संक्रमित ब्यक्तिको पहिचान हुँदा उसलाई गर्ने सामाजिक ब्यवहार र लाञ्छनाको बयान गरि साध्य छैन। अहिले कोरोना संक्रमितहरुलाई हेर्ने दृष्टिकोण र गरिने ब्यवहार ठ्याक्कै एचआईभी संक्रमितहरुको भन्दा चर्काे भएको छ। सक्रिय प्लस नेपालका काभ्रेका अध्यक्ष एवं एचआईभी संक्रमित अमिर खड्काको अनुभूति २० वर्ष अघि एचआईभी संक्रमितहरु छन् वा आए भने लगत्तै समुदाय नै त्रसित हुन्थ्यो। शुरुमा यो रोगलाई भयानक महामारीका रुपमा लिईएको थियो। घर परिवार, समाज, अस्पताल, विद्यालय, कार्यालय लगायतका क्षेत्रमा हुने गरेको लान्छना तथा भेदभावले अझै पनि संक्रमित खुल्न सक्ने अवस्था छैन। पहिला पहिला संक्रमित भएको ब्यक्तिलाई छुँदै नछुने, अगाडि नै नपर्ने, जुठो नखाने, सँगै नसुत्ने, कपडा धोएको नमिसाउने, लास नछुने जस्ता ब्यवहारहरु हुने गरेका थिए। विस्तारै ती कुराहरू सामान्य बन्दै गएको भए पनि एचआईभी संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन सकेको छैन। लकडाउनका कारण संक्रमितहरुले थप सास्ती ब्यहोर्नु परेको संक्रमितहरुका अध्यक्ष खड्काको अनुभूति छ।
जोखिम अवस्थामा अस्पतालको एआरटी सेन्टरहरुमा गई राख्नु पर्ने, समुदायमा औषधी वितरण गर्न जानुपर्ने, यति नै बेला नेपाल सरकारले एआरभी औषधी परिवर्तन गरेको अवस्थामा संक्रमितहरुलाई नयाँ औषधीको असर देखिन थालेको छ। तर पनि संक्रमितहरु अस्पताल जान सकेका छैनन्। नयाँ औषधी सेवन गरे पछि गर्नु पर्ने परिक्षणहरु गर्न गराउन समस्या भएको छ। जिल्लामा हालसम्म ५३ जनाले उक्त औषधी प्रयोग गरिसकेका छन्। कोरोना संक्रमितलाई गरिने ब्यवहार पहिले एचआईभी संक्रमितलाई गरिन्थ्यो। विस्तारै एचआईभी संक्रमितहरुलाई समाज, परिवारले बुझ्न थालेको छ। कुलतका कारण पनि संक्रमित हुन सक्ने भएकाले एचआईभी संक्रमित हुन नदिन अपनाउनु पर्ने सुरक्षाका उपायहरुका बारेमा समेत जनचेतना फैलाउँदै आएको छ। जिल्लाको तथ्याङ्कमा १६ वर्ष देखि ६८ वर्षसम्मका ब्यक्ति एचआईभी संक्रमित भएका छन्। समाजले गर्ने अवहेलना र फरक ब्यवहारको शिकार एचआईभी संक्रमितहरु बनिरहेका छन्। संकटमा रहेका संक्रमितहरुलाई सहयोग पु¥याउन सरोकारवालाहरुको ध्यान जान जरुरी छ।





