२०७० सालमा पनौतीमा निर्माण शुरु भएको क्षेत्रीय रंगशाला अझै निर्माण सकिएको छैन। ७ वर्ष लामो विवादास्पद विषयलाई नगरपालिकाले गत साता टुङ्गयाए पछि क्षेत्रीय रंगशाला निर्माणका लागि बाटो खुलेको हो। पनौती र जिल्लाकै लागि रंगशालाको विवाद अन्त्यसँगै खुशीको सञ्चार छाएको छ। नगरपालिकामा निर्वाचित जनप्रतिनिधिको अथक प्रयास, स्थानीयहरुको सहयोग र सद्भावका कारण विवाद समाधान भएको छ। तत्कालका लागि नगरपालिकालाई आर्थिक रुपले घाटा जस्तो देखिए पनि दीर्घकालसम्म नगरपालिका र जिल्लाकै लागि गौरवपूर्ण आयोजनाले सहयोग पु¥याउने निश्चित छ। नगरपालिकाले स्थानीयहरुको साथ र सहयोगमा कानुनीबाटो अवलम्बन गरी जग्गा ब्यवस्थापनको योजना बनाएको थियो। कानूनी रुपमा नगरपालिकाका सबै आधार सकिए लगत्तै शुरु भएको छलफल र वार्ताले मुर्त रुप पाए लगत्तै रंगशाला निर्माणका लागि बाटो खुल्ला भएको हो।
पनौती नगरपालिका साविकको वडा नम्वर ५ अन्तर्गत पर्माडीटोल इन्द्रेश्वर प्रावि पूर्व दक्षिणपट्टि एउटा ढिस्को थियो। मल्लकालमा त्यो ढिस्को पनौती राज्यको एउटा सैनिक किल्ला अर्थात व्यारेक थियो। त्यसताकाको सैनिक व्यवस्थाको महत्वपूर्ण पक्ष राजधानी वा शहरहरु र सामरिक दृष्टिकोणले महत्वपूर्ण रहेका वस्ती र क्षेत्रहरुलाई ठूला र अग्ला पसलेहरुले घेर्ने र यस्ता पर्खालहरुमा ठाउँ ठाउँमा ठूला साना ढोकाहरु बनाइएका हुन्थे। आपत्कालमा ढोकाहरु थुनेर शहरलाई सुरक्षित गर्ने कार्य गरिन्थ्यो। प्राचीनकालमा पनौतीमा ६ ढोकामध्ये उक्त क्वाठमा एक थिए। क्वाठमा रहेका सैनिकहरु हरेक दिन परेड खेल्न माथिल्लो चौरमा जान्थे। क्वाठका सैनिकहरु परेड खेल्ने भएकोले उक्त चौरको नाम नै क्वाठ ख्य भयो। पछि अपभ्रंश भई क्वाप ख्य भयो। नेवारहरु अझै उक्त चौरको नाम क्वाप ख्य नै भन्छन्। अर्काेतर्फ नेपाली भाषाको विकास भएपछि पनौती बजारको सिरानी झै रहेकोले उक्त चौरको नाम सिरानचौर हुन पुगेको ऐतिहासिक तथ्य छ। पनौती एक स्वतन्त्र राज्य भएको बखत अथवा कुन राजाको समयमा हो वैज्ञानिक परिक्षण गरे पत्ता लाग्ला पनौती शहरभन्दा माथि सुरक्षित ठाउँमा हाल कँडेलहरुको घर भएको स्थानमा त्यहाँ फलामका कच्चा पदार्थ ल्याई खार्ने भट्टि हुनुपर्दछ। किनभने कँडेलहरुको घर भएको पूर्व उत्तर र दक्षिणको खेर गएको ठाउँहरुमा फलाम खार्दा निस्कने फलामका टुक्राटाक्रीहरु अझै प्रशस्त भेटिन्छन्। त्यस्तो ऐतिहासिक बोकेको सिरानचौरको जग्गा कसरी कँडेलहरुको हुन पुग्यो ? उनीहरुले को सित कहिले किने ? अथवा तत्कालीन राजा महाराजा राणाहरुबाट दान दक्षिणा वा विर्तामा पो पाए ? उपहार, वक्सिस जागिर खाएर पो पाए ? पाएको भए कति रोपनी वा आना त्यो पनि जनताले जान्नुपर्ने अवस्था थियो ? उक्त प्रश्नहरु अनुरत्तरित रहँदै नगरपालिकाले जग्गा खरिद गरी विवाद सल्टाएको छ। कित्ता नम्वर १३२ को १७ रोपनी १४ आना २ पैसा जमिन खरिद गरेको छ। निर्माण अधुरो रहेको क्षेत्रीय स्तरको रंगशाला अब प्रदेश स्तरको रुपमा रंगशालाको रुपमा निर्माण सम्पन्न हुनेछ।
प्रशासनिक भवन, प्याराफिट (पूर्व पश्चिम र दक्षिणतर्फ), टिकट काउण्टर, गार्ड हाउस, कम्पाउण्ड वाल (गेट सहित), कभर्ड हल र फुटबल ग्राउण्ड निर्माणका लागि बोलपत्र आब्हान गरिएको थियो। सोहि बोलपत्र अनुसार केहि काम सम्पन्न भएको थियो। केहि वर्ष निर्माण कार्यले सुस्त गति लिए पनि तत्काल निर्माण कार्यले गति लिने गरी रंगशाला निर्माणको कार्यले गति लिने छ। नगरपालिकाले नगरबासीहरुका लागि गरेको यो निर्णय र कार्य ऐतिहासिक छ।





