2026 April 16/ 06:48: 32pm

कोरोना संक्रमण दर बढिरहँदा स्थानीय सरकारले क्वारेन्टाईनको क्षमता विस्तार गरिरहेका छन्। संख्यात्मक रुपमा क्वारेन्टाईन विस्तार भईरहँदा त्यसको गुणस्तरमा ध्यान दिनु जरुरी छ। क्वारेन्टाईन रोग सार्ने केन्द्र भएको आरोप लागिरहँदा त्यसलाई मुक्त गर्न स्थानीय सरकारले ब्यवस्थापनमा चनाखो हुन जरुरी छ। क्वारेन्टाईनमा छिमेकी देश भारतबाट आएका नेपाली नागरिकहरुका अलावा संक्रमित जिल्लाबाट आएका नागरिकहरुलाई राख्न थालिएको छ। क्वारेन्टाईनमा एक जनालाई संक्रमण हुँदा अन्य ब्यक्तिहरुलाई संक्रमण फैलन नदिन अपनाउनु पर्ने सुरक्षाका विषयमा स्थानीय सरकारले रोग फैलदैन भन्ने आश्वस्त बनाउनु जरुरी छ। 
जिल्लाको सदरमुकाम धुलिखेल नगरपालिकाले संजीवनी माध्यमिक विद्यालयमा ६५ शैयाको क्वारेन्टाइन बेड निर्माण गरेको छ। उक्त क्वारेन्टाईनको क्षमता विस्तारका लागि नगरपालिकाले थप तयारी गरेको छ। जिल्लामा भएका मध्ये सबैभन्दा उत्कृष्ट ब्यवस्थापन भएको क्वारेन्टाईनका रुपमा लिने गरिएको छ। थप संख्यात्मक बेड विस्तारका लागि नगरपालिकाले तयारी गरेको छ। बनेपा नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा ५० शैयाको क्वारेन्टाइन बेड तयार गरेको छ। पनौती नगरपालिकाले पहिलाको १० बेडको क्षमता विस्तार गरी इन्द्रेश्वर माविमा ५० बेडको क्वारेन्टाईन निर्माण गरेको छ। नमोबुद्ध नगरपालिकामा १८ शैयाको क्वारेन्टाइन बेड, पाँचखाल नगरपालिकामा ११ शैयाको क्वारेन्टाइन बेड, रोशी गाउँपालिकामा ७५ शैयाको क्वारेन्टाइन बेड, महाभारत गाउँपालिकामा ३५ शैयाको क्वारेन्टाइन बेड तयार गरिएको छ। मण्डनदेउपुर नगरपालिकामा १५ शैयाको क्वारेन्टाइन बेड, चौरीदेउराली गाउँपालिकामा ३० शैयाको क्वारेन्टाइन बेड, भुम्लु गाउँपालिकामा ३० शैयाको क्वारेन्टाइन बेड, वेथानचोक गाउँपालिका ३५ शैयाको क्वारेन्टाइन बेड, तेमाल गाउँपालिका १ सय ५ शैयाको क्वारेन्टाइन बेड, खानीखोला गाउँपालिका १५ शैयाको क्वारेन्टाइन बेड र धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी प्रयोजनको लागि ५२ बेडको क्वारेन्टाइन बेड निर्माण गरिएको छ। जिल्लामा ५ सय ९६ शैयाको क्वारेन्टाइन बेडको क्षमता भए पनि थप विस्तारका लागि स्थानीय सरकारलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्वास्थ्यकर्मीहरुको सहयोग लिईरहेका छन्। 
    छिमेकी देश भारतबाट जिल्ला फर्किएका नागरिकहरुका लागि क्वारेटाईनको ब्यवस्थापन गर्न स्थानीय सरकार सक्रिय छन्। झण्डै चार सयको संख्यामा भारतबाट नेपालीहरु फर्किसकेका छन्। उनिहरुलाई पालिकास्तरको क्वारेन्टाईनबाट घरमै सुरक्षित पठाउन सकिने अवस्थामा ध्यान पु-याउनु पर्छ। परिक्षण, पहिचान र सुरक्षाका लागि स्थानीय सरकारले क्वारेन्टाईनको गुणस्तर र क्षमता दुवैमा ध्यान दिनु जरुरी छ।