2026 April 16/ 06:48: 30pm

    कोरोना भाईरसका कारण मुलुकले लामो समय ब्यहोर्नु परेको लकडाउन र संक्रमणको त्रासमा बाँच्नेहरुले अल्पायूमै ज्यान गुमाउन पुगेका छन्। लकडाउनको अवधीमा जिल्लामा विभिन्न कारणबाट ५० जनाले ज्यान गुमाएका छन्। कोरोना जोगाउन खोज्दा ब्यक्तिले अन्य रोगबाट ज्यान गुमाउनु परेको तर्फ ध्यान दिन सकिएको अवस्था छैन। अस्पताल जान ब्यक्तिलाई डर छ तर अस्पतालहरुले पनि डरलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै उपचार गर्न असफल भएका छन्। अस्पतालमा पुग्ने वित्तिक्कै उपचार गरेर निको हुनु भन्दा रोग लिएर फर्कनु पर्छ भन्ने त्रास हटाउन सक्नु पर्छ। कोरोना बाहेकका अन्य रोगहरुबाट ब्यक्ति मर्ने क्रम रोकिनु पर्छ। 
    सिन्धुपाल्चोक जिल्लाबाट उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदै गर्दा २९ बर्षीया सुत्केरी महिलाको निधन भएको खबरले मुलुकभर त्रास फैलियो। छिमेकी जिल्ला सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाका नागरिकहरु सन्त्रासमा रहे। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीहरु बीच उक्त घटनाले सन्नाटा छायो। तर दैनिक आत्महत्याबाट मर्नेहरुका बारेमा कसैको चासो, चिन्ता, सन्नाटा र अभियान रोक्ने विषयमा छलफल हुन सकेन। स्थानीय सरकार, नागरिक समाज, सुरक्षाकर्मी, विभिन्न सामाजिक संघ संस्थाको दायित्व आत्महत्या न्यूनीकरण गराउन लाग्नु पर्ने छ। लकडाउन अवधीमा आत्महत्याका कारण ३० जनाले ज्यान गुमाएका छन्। चालु वर्षको १० महिनामा १ सय ७ जनाले ज्यान गुमाईसकेका छन्। १० महिनामा १ सय ७ जनाले ज्यान गुमाउनु अघिल्लो वर्षको तथ्याङ्कमा अधिक हो। आर्थिक वर्ष २०७४÷०७५ मा १ सय २३ जनाले ज्यान गुमाएका थिए। २१ जना कम रहेको अघिल्लो वर्षको तथ्याङ्कलाई यो वर्ष १० महिनामै उछिनिसकेको छ। 
सामाजिक प्रतिष्ठामा आँच, अभिभावक तथा आफन्तहरुबाट सकारात्मक सल्लाहको कमी, आत्मबलमा कमी, अबैद्य यौन सम्वन्ध तथा गर्भ, प्रेम सम्बन्धमा असफलता, घरेलु हिंसा, पारिवारीक झै–झगडा, गरिबी, उच्च महत्वकांक्षा राख्ने तर असफल हुने, मानसिक तनाव, निराशा, डिप्रेसन भएका विरामीको मद्यपान वा लागुपदार्थ सेवन गर्ने बानी, मानसिक असन्तुलन, मदिरापानको लत, लागुपदार्थको सेवन गर्ने बानी, आर्थिक नोक्सानी, जुवा तास, आत्मग्लानी÷पछुतो, दाईजोको कारण हिंसा, अन्धविश्वास र दीर्घरोग, धेरै पीडा हुने शारिरीक रोग र एचआईभी एड्स लगायतका कारण आत्महत्या बढिरहेको निश्कर्ष निकालेको छ। आत्महत्या रोकथामका लागि युवा तथा किशोरकिशोरी, सम्बन्ध विच्छेद गरेर एक्लो जीवन बाँचिरहेका ब्यक्तिहरु, तनाबयुक्त बैवाहिक जीवन, घरवार विग्रिएर बसेका ब्यक्तिहरु, घरेलु तथा लैंगिक हिंसाबाट प्रभावित ब्यक्तिहरु, यौनशोषण, बलात्कार, सामाजिक लाञ्छना लगायतका विषयमा समाजले विशेष चासो राखी सकारात्मक सोचको विकास, अवसरको सिर्जनामा ध्यान जरुरी छ। 
दुर्घटना, आत्महत्या, हत्या, अन्य अपराध न्युनिकरण सँगै विभिन्न रोगका विरामीहरुको सहि समयमा उपचार सम्भव भयो भने त्रासमा बाँच्नु पर्ने र उपचार नै नपाई ज्यान गुमाउनु पर्नेहरुलाई बचाउन सकिन्छ कि ?