वैदेशिक रोजगार, प्रविधिको प्रयोग र स्वतन्त्रताका कारण ब्यक्तिगत सम्बन्धहरु भत्कन थालेका छन्। आर्थिक रुपले सबल बन्दै जाँदा ब्यक्तिका चाहनाहरु सक्रिय हुन थालेका छन्। चाहनाहरु पूरा हुन नसक्दा ब्यक्तिले सम्बन्ध तोडन् खोजेका छन्। कानूनी आधारमा अलग भएर पुनः अर्काे सम्बन्ध बसाल्ने क्रम फस्टाएको छ। पहिले महिलाहरुले चाहँदा मात्रै सहज रुपले सम्बन्ध विच्छेद हुने गरेको थियो। अहिले पुरुषहरुले पनि महिलाहरुसँगको सम्बन्ध सुमधुर हुन सकेन भने कानुनले तोकेको अधिकार उपलब्ध गराएर अलग हुन पाउने ब्यवस्था गरेको छ। त्यस्तो ब्यवस्था गरे लगत्तै महिलाहरुबाट पीडित भएका पुरुषहरुले अदालतमा मुद्दा दर्ता गरिरहेका छन्। मुद्दाको संख्या दोब्बर भएको छ। ब्यक्तिहरुका असरल्ल चाहनाहरु पुरा हुन नसक्दा, सम्वन्धलाई नयाँ परिभाषाबाट हेरिएकाले पनि सम्बन्धहरु भत्कँदै जान थालेका छन्।
ब्यक्तिगत जीवन भताभुङ्ग मात्रै भएको छैन परिवार र सामाजिक सम्बन्धहरु पनि भताभुङ्ग हुन थालेका छन्। ‘बैदेशिक रोजगार, शहरीकरण, माग र आपूर्तिको खाडल लगायतका थुप्रै कारणबाट सम्बन्धहरु विग्रन थालेका छन। पैसा कमाउनु मात्रै खुशी हो भन्ने सोच थियो। एकजमाना पुरुष मात्रै समाजका प्रमुख पात्र हुन् भन्ने थियो। पुराना कुराहरुलाई विसाउँदै समाजको विकास यति छिटो हुन थाल्यो कि ? आधा जनसंख्या भएका महिला, समुदाय भित्र हेपिएर रहेका विभिन्न जातजातिहरुको उत्थान र अधिकार संरक्षणका लागि राजनीतिक परिर्वतनले महत्वपूर्ण भूमिका खेल्यो। धेरै कुराको क्षति भयो होला तर मानसिक रुपमा ब्यक्तिलाई सबल, सक्षम र परिवर्तनको संवाहक बनाउने अभियानमा राजनीतिक क्रान्तिले एउटा कोर्ष पूरा गरेको छ। सम्बन्ध तोडिँदा वा भत्कँदा ब्यक्तिको जीवन सुखी बन्न सक्छ भने त्यसलाई कानूनले मान्यता प्रदान गरेको छ।
अदालतको तथ्यांकले समाजमा भएका विविध घटना मध्ये सम्बन्ध विच्छेद प्रमुख देखिन थालेको छ। मन पर्दा त्यहि ब्यक्ति असाध्यै राम्रो हुने र मन नपर्दा अपराधी हुने अवस्था सिर्जना हुन थालेको छ। अपराध न्यूनीकरणका लागि पनि सम्बन्ध विच्छेद प्रमुख माध्यम बन्न थालेको छ। स्वतन्त्रताका कारण अन्र्तजातिय सम्बन्ध झाँगिन थालेका छन्। सम्बन्ध केहि क्षणका लागि हुने र दीर्घकालसम्म टिक्न नसक्ने अवस्था प्रविधिका कारण हुन थालेको छ। अदालतमा दर्ता भएका अधिकांश मुद्दाहरु मध्ये अन्र्तजातीय सम्बन्धका छन्। आफ्नै समुदायमा भएको सम्बन्ध लामो समय टिकेका उदाहरण छन्। अन्र्तजातीय सम्वन्ध मात्रै खराब भन्ने होईन तर ब्यक्तिले संकटमा हेर्ने जात, समुदाय, धर्म, समाज रहेछ। त्यस्तो अवस्थामा घर परिवार र समाजले लगाईदिने आरोपबाट बच्न पनि मान्छे आफ्नै समुदायसँग रमाउँदो रहेछ। चालु वर्षको फागुन १५ गतेसम्म सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकमा २ सय २१ मुद्दा दर्ता भएका छन्। जसमध्ये १ सय ५६ वटा फैसला भएका छन् भने ६५ वटा मुद्दा फैसला हुन बाँकी छ। सम्बन्ध विच्छेदका लागि दर्ता भएका मध्ये १ सय ५६ वटा महिलाले विभिन्न कारण श्रीमान र घरपरिवारसँग सँगै बस्न नसकेको कारण देखाउँदै केहिले अंश सहित र केहिले सम्बन्ध विच्छेदका लागि मात्रै मुद्दा दर्ता गराएका थिए। डेढ वर्षको अवधीमा भएका सम्बन्ध विच्छेदका घटनाले समाजमा थुप्रै सम्बन्धहरु भत्कन लागेको संकेत गरेको छ।





