2026 April 16/ 06:48: 30pm

    धुलिखेलमा रहेको काठमाडांै विश्वविद्यालयले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानमा जसरी नाम कमाउन सफल भएको छ त्यस्तै अन्तराष्ट्रिय स्तरमै प्रभाव जमाएर अल्पायूमै मारिनु भएका जननेता मदन भण्डारीको नाममा खुल्न लागेको विश्वविद्यालयले जिल्लाको मात्रै नभई विश्वमै फरक पहिचान दिनेछ। काठमाडौ विश्वविद्यालयको सफलतासँगै काभ्रेपलाञ्चोक जिल्लामा विश्वविद्यालय स्थापना गर्ने क्रम शुरु भएको छ। सिद्धार्थ विश्वविद्यालय नालामा स्थापना गर्ने अभ्यास भईरहे पनि सफल भएको छैन। तर पनि निरन्तर कार्य भईरहेको छ। नेपाल सरकारले केहि महिना अघि मात्रै काभ्रेको बनेपा नगरपालिका स्थित साँगामा नेपाली सेनाको प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ। विश्वविद्यालयका लागि आवश्यक जमिनको ब्यवस्थापन गरिसकेको छ। त्यस्तै पाँचखाल र नमोबुद्ध नगरपालिकामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना हुने भएको छ। यसले जिल्लाको शैक्षिक क्षेत्रलाई थप गर्विलो, गुणस्तरीय र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने छ। 
    जिल्लाको पाँचखाल नगरपालिका वडा नम्वर ७, १० र १२, नमोबुद्ध नगरपालिका वडा नम्वर २ र ३ नम्वर वडामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि निजी तथा सरकारी ११ हजार ६१ रोपनी जमिन ब्यवस्थापन गरिएको छ। मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार विकास समितिका नाममा मालपोत कार्यालय काभ्रेपलाञ्चोकले जग्गा हस्तान्तरण गरिसकेको छ। ब्यक्तिका नाममा रहेको ७ सय १४ रोपनी जमिन अधिग्रहणको तयारी भएको छ। साविक बालुवा गाविस वडा नम्वर ६ र ८, होक्से गाविस वडा नम्वर २, मेथिन्कोट गाविस वडा नम्वर ७, फुलबारी गाविस वडा नम्वर ५ र ६ नम्वर वडाका जग्गाहरु विश्वविद्यालयका नाममा दर्ता गरिएको छ। मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समिति (गठन) आदेश २०७५ नेपाल राजपत्रमा २०७६ असार ९ गते प्रकाशति भए पछि नेपाल सरकारले २०७६ मंसिर २३ गते विकास समितिका नाममा जग्गा भोगाधिकार दिने निर्णय गरेको थियो। सरकारले विश्वविद्यालयका लागि उपयुक्त स्थान र जग्गा खोज्ने क्रममा काभ्रेको पाँचखाल र नमोबुद्ध नगरपालिकामा रहेको ११ हजार ६१ रोपनी उपयुक्त देखिएको हो । काभ्रेमा केन्द्रिय कार्यालय रहने विश्वविद्यालयको मकवानपुरको चित्लाङ्गमा एउटा विभाग रहनेछ।
    अन्र्तराष्ट्रिय स्तरको उक्त विश्वविद्यालयका लागि आवश्यक पर्ने जग्गा समितिका नाममा हक हस्तान्तरण भईसकेको छ। ब्यक्तिका नाममा रहेको ७ सय १४ थान अधिग्रहणको प्रकृया शुरु भएको छ। नेपाल सरकारले नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिएको उक्त विश्वविद्यालयको पूर्वाधार विकासका लागि चिनियाँ पक्षले प्रारम्भिक रुपमा छलफल र अध्ययन गरी सहमती भएको थियो। मुलुकका लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक तथा अन्य विधाका आदर्शवान जनशक्ति, वैज्ञानिक तथा विचारकहरुको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्ने उद्देश्यले उक्त विश्वविद्यालय खुल्न लागेको हो। यसका अतिरिक्त मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय पनि खोल्ने सरकारको नीति छ। विश्वविद्यालयहरुको केन्द्रका रुपमा रहने जिल्ला विश्वविद्यालयको गौरवका रुपमा चिनिने छ।