काभ्रेपलाञ्चोक जिल्ला साक्षर घोषणा भएको छ। यसअघि जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको थियो भने साक्षर घोषणा गर्नु अगावै स्थानीय सरकारहरुले स्थानीय तहमा साक्षर घोषणा गरिसकेका थिए। राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्ला दुध, मासु र अण्डामा आत्मनिर्भर छ। हरेक दिन जिल्लाले तरकारी, दुध, अण्डा र मासु निर्यात गरिरहेको छ। उत्पादनमा आत्मनिर्भर जिल्ला खाद्यान्नमा पनि पूर्ण भएको छ। गहुँ, मकै, धान लगायतका बालीहरुमा आत्मनिर्भर भएको जिल्लाले कोदो लगायतका खाद्यान्नहरु निर्यात गरिरहेका छन्। पूर्ण भएका उत्पादन तथा कार्यक्रमहरुको गुणस्तर बृद्धिमा ध्यान दिन स्थानीय, प्रदेश र संघ सरकारको एकता, समन्वय र सहकार्य आवश्यक छ।
गतहप्ता काभ्रेपलाञ्चोक जिल्लालाई शिक्षामन्त्री गिरिराजमणी पोखरेलले जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको प्रस्तावमा साक्षर काभ्रेपलाञ्चोक जिल्ला घोषणा गर्नु भयो। २०६८ सालको जनगणना अनुसार काभ्रेपलाञ्चोक जिल्लामा १५–६० वर्ष उमेर समुहका ३ लाख ७३ हजार ७ सय २७ मध्ये ३ लाख ६० हजार ५ सय ६० जनालाई साक्षर बनाईएको छ। प्रतिशतका हिसाबले जिल्लामा रहेका नागरिकहरु मध्ये ९६.. ४८ प्रतिशत नागरिकलाई साक्षर बनाईएको छ। अक्षर समेत देख्न र लेख्न नसक्ने अझै ३.. ५ प्रतिशत नागरिक साक्षर हुन बाँकी छ। साक्षर हुन बाँकी नागरिकलाई साक्षर बनाई जिल्लालाई पूर्ण साक्षर बनाउने अभियानमा कृयाशील हुनु जरुरी छ। साक्षर काभ्रे घोषणाका लागि स्थानीय तहहरुमा निरन्तर ६ वर्ष देखि साक्षरता कक्षा संचालन हुँदै आएको थियो। जिल्ला शिक्षा कार्यालयले स्थानीय विद्यालय, संघ संस्थाहरुसँग समन्वय गर्दै निरक्षरलाई साक्षर बनाएको थियो। स्थानीय तह अनुसार रोशी गाउँपालिका सबैभन्दा धेरै साक्षर भएको पालिका हो। ९८.९८ प्रतिशत नागरिक रोशीमा साक्षर भएका छन्। त्यस्तै धुलिखेल नगरपालिकामा ९८. ०७, महाभारत ९७.९८, बनेपा ९७.०९, खानीखोला ९६.७१, नमोबुद्ध ९६.४०, मण्डनदेउपुर ९५.२७, बेथान्चोक ९५.०१, भुम्लु ९५.०५, पनौती ९६.०५, चौरीदेउराली ९६.८३, पाँचखाल ९५.४३ र तेमाल गाउँपालिका ९५.९७ प्रतिशत नागरिक साक्षर भएका छन्। साक्षरलाई निरक्षर हुन नदिन पनि अभियान चलाउनु जरुरी छ।
जिल्लालाई पूर्ण साक्षर बनाउन अर्काे दबाब थपिएको छ।राजधानीसँग जोडिएको जिल्ला विश्वविद्यालयको हब बन्दै छ। विश्वविद्यालय शिक्षा प्रदान गर्ने शैक्षिक भण्डार हो। भण्डार रहेका जिल्लाका नागरिकहरु पूर्ण साक्षर नहँुदा त्यसको सन्देश राम्रो जाँदैन। काभ्रेपलाञ्चोक जिल्लालाई साक्षरसँगै पूर्ण साक्षर बनाउने अभियानमा स्थानीय तहहरु सक्रिय भएका छन्। स्थानीय तहरुको जिम्मेवारीमा अरु थुप्रै दायित्व छन्। दायित्वलाई समयमै सम्पन्न गर्न नसक्दा स्थानीय तहहरुकै कारण जिल्ला पूर्ण हुनबाट रोकिन सक्छ। केहि वर्ष अघि नै जिल्लालाई साक्षर घोषणा गर्ने कार्य स्थानीय तहहरुकै कारण रोकिएको हो। त्यहिकारण काभ्रेपलाञ्चोक जिल्ला ५२ आंै साक्षर जिल्ला भयो। भुकम्प, नयाँ संरचना तथा अन्य विविध कारणबाट रोकिएको साक्षर घोषणा सकिएको छ। अब पूर्ण साक्षरताका लागि जनप्रतिनिधि, नागरिक समाज, सरोकारवाला निकायहरु सक्रिय हुनु जरुरी छ।





