2026 September 18/ 03:37: 47pm

            बनेपा/बनेपा नगरपालिका अन्तर्गत वडा नं. १ देखि १४ सम्म कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूले रसुवामा भएको विपत्तिपछिको उद्धार तथा राहत कार्यका लागि आर्थिक सहयोग गरेका छन् ।
             महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो तर्फबाट प्रतिव्यक्ति १ हजार रुपैयाँका दरले रकम संकलन गरी कुल ८२ हजार रुपैयाँ सहयोग गरेका हुन् । विपत्तिमा परेका नागरिकको उद्धार तथा राहतका लागि आफ्नो तर्फबाट पनि सहयोग पुगोस् भन्ने उद्देश्यले स्वयंसेविकाहरूले उक्त रकम प्रदान गरेका हुन् । विपद्को समयमा आफूले सक्ने सहयोग गर्नु सामाजिक उत्तरदायित्व समेत भएकाले महिला स्वास्थ्य स्वयंसेविकाहरूले व्यक्तिगत रूपमा रकम संकलन गरी सहयोग गरेको जनाइएको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरूको यस सहयोगले विपद्का बेला मानवीय सहयोग र सामाजिक एकताको भावना थप बलियो बनाउने विश्वास गरिएको छ । विपत्तिमा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला बनेपाका महिला स्वास्थ्य स्वयंसेविकाहरूको यो पहलले समुदायमा सकारात्मक सन्देश दिएको छ ।