धुलिखेल/धुलिखेल नगरपलिका वडा नम्बर ४ मा निःशुल्क बिल्डीङ्ग इलेक्ट्रिसियन तालिम सुरु भएको छ । वडा कार्यालयको समन्वय तथा सामाजिक विकास कार्यालय धुलिखेलको आयोजनामा ३ सय ९० कार्य घण्टाको इलेक्ट्रिसियन तालिम सुरु भएको हो । तालिममा विभिन्न क्षेत्रका २० जना युवा सहभागी छन् ।
तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले युवालाई सीपसँग जोड्दै आत्मनिर्भर बनाउने उदेश्यले तामिम आयोजना गरिएको बताए । आवश्यक दक्ष जनशक्ति स्थानीय स्तरमै उत्पादन गर्नका लागि तालिम महत्वपूर्ण हुने उनको विश्वास छ । उनले दतालिमबाट प्राप्त सीपलाई व्यवहारिक जीवनमा उर्तान तथा व्यवसायीक रुपमा अघि बढ्न आग्रह गरे । त्यसका लागि वडा कार्यालयले समन्वय गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।
अध्यक्ष तिमल्सिनाले आफूहरु निर्वाचित भएर आएदेखि नै स्वरोजगारमूलक तालिमलाई प्राथमिकता दिएको बताएका छन् । महिला उद्यमशीलता विकासका लागि अचार बनाउने तालिम, व्युटिसियन तालिम लगायतका तालिम सञ्चालन गरेको उनले बताए । सामाजिक विकास मन्त्रालयका प्रशिक्षक शम्भु आचार्यले ७८ दिनसम्म तालिम सञ्चालन हुने बताए । तालिममा शैद्धान्तिक र व्यवहारिक विषय सिकाइने छ । तालिम उद्घाटन कार्यक्रममा वडा सदस्य गोवद्र्धन थापा मगर, वडा सचिव संगिता चौंलागाई लगायत स्थानीयको उपस्थिती रहेको थियो ।









