2026 September 18/ 03:37: 52pm

    धुलिखेल/नेपाली सेनाको मेजर भएको भन्दै खाद्यान्न सस्तोमा उपलब्ध गराइदिने प्रलोभन देखाएर ३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा सप्तरीको दौतलपुर गाविस–१ घर भई हाल सुरुङ्गा नगरपालिका–३, लक्ष्मीपुर बस्ने ५३ वर्षीय गोपाल कार्की भन्ने राजकुमार राउत रहेका छन् । राउतले धुलिखेल नगरपालिका–२ का रामचन्द्र पौडेललाई उनकै पसलमा पुगेर आफू नेपाली सेनाको मेजर भएको बताएका थिए । पाँचखालस्थित ब्यारेकमा रासनका सामान बढी भएकाले सस्तो मूल्यमा उपलब्ध गराइदिने भन्दै उनले पौडेललाई प्रलोभनमा पारेका थिए । राउतले खाद्यान्नका सामानको सूचीसमेत बनाएर पौडेलसँग मोलतोल गरेका थिए । सामान खरिदका लागि पौडेल पैसा निकाल्न तयार भएर बनेपा आए । कृषि विकास बैंकमा रहेको आफ्नो खाताबाट ३ लाख ३९ हजार रुपैयाँ निकाले । राउतले बा २० च ३२५५ नम्बरको कार भाडामा लिएर पौडेललाई साथमा राखी रविओपी हुँदै बनेपा ल्याएका थिए । बैंकबाट रकम निकालेपछि पौडेलले उक्त रकमको पोको कारको पछाडिको भागमा राखेका थिए । त्यसपछि राउतले सामान राखिएको स्थान देखाउने भन्दै पौडेललाई कारबाट झारे । बनेपा नगरपालिका–७ स्थित तरकारी बजार क्षेत्रमा सामानबारे आलटाल गर्दै गर्दा उनी कारतर्फ फर्किए र कारभित्र राखिएको ३ लाख ३९ हजार रुपैयाँको पोको लिएर फरार भएको प्रहरीले जनाएको छ ।
    घटनापछि प्रहरीले सीसीटीभी फुटेजका आधारमा अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा राउतले बनेपा चारदोबाटोमा पार्किङ गरेर राखिएको शिवशरण मानन्धरको कार ४ हजार रुपैयाँमा भाडामा लिएर ठगीका लागि प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ । राउत यसअघि पनि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति भएको प्रहरीले जनाएको छ । उनले पाँच वर्ष कैद सजाय भुक्तान गरी २०८२ फागुनमा जिल्ला कारागार मोरङबाट छुटेका थिए । जेलबाट छुटेको एक महिना नबित्दै उनी पुनः ठगी कार्यमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
    यसअघि उनी दुईपटक जेल परेको प्रहरीले जनाएको छ । एउटा मुद्दामा चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा अर्को ठगी मुद्दामा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । प्रहरीका अनुसार राउतले २०८२ चैत २० गते धुलिखेल नगरपालिका–२, रवि देउरालीस्थित रुपा किनारा स्टोरमा पुगेर सञ्चालक रामचन्द्र पौडेलसँग भेट गरेका थिए । आफू पाँचखालको आर्मी ब्यारेकमा बस्ने मेजर भएको र पसलका लागि खाद्यान्न सस्तोमा मिलाइदिने भन्दै उनले पौडेललाई विश्वासमा पारेका थिए । त्यही योजनाअनुसार उनले कार भाडामा लिएर पौडेललाई बैंकसम्म लगेको र रकम निकालेपछि सामान किन्न जाने बहानामा बनेपा ल्याएको प्रहरीको भनाइ छ । प्रहरीले सीसीटीभी फुटेज तथा अन्य अनुसन्धानका आधारमा राउतलाई पक्राउ गरेको हो । अदालत पेश गरिएका राउतलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।