2026 September 18/ 03:38: 03pm

     बनेपा/डलर साट्ने भन्दै एक व्यक्तिबाट १४ लाख रुपैयाँ लिएर बीस रुपैयाँ दरका नोट भएको पोका दिएर फरार भएको भन्दै सोनाम नुर्पु तामाङले प्रहरीमा दिएको जाहेरीका आधारमा संलग्न ब्यक्ति पक्राउ परेका छन् । 
    रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ मा स्थायी बसोबास गरी चिलिमे युथ क्याफे होटल एण्ड लज र सोनम मोटरसाईकल वर्कशप संचालन गरी आएका सोर्पु तामाङले डलर साट्दा राम्रो रकम हुने प्रलोभन देखाएर योजनाबद्ध रूपमा ठगी गरिएको जोहरी दिएका छन् । घटनामा आफूले नगद १४ लाख रुपैयाँ दिएको र त्यसको बदलामा डलर भएको भन्दै पोका दिइएको तर पछि पोका खोल्दा त्यसमा बीस रुपैयाँ दरका नोट मात्र भेटिएको उनको दाबी छ । तामाङले दिएको जाहेरीअनुसार घटना काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ जिरोकिलोस्थित पूर्व–पश्चिम दोलालघाटदेखि पाँचखालतर्फ जाने अरनिको राजमार्गको सडकखण्डमा भएको हो । २०८२ साल माघ १४ दिउँसो भएको हो । डलर साट्ने भन्दै आफूलाई विश्वासमा पारेर नगद रकम लिएपछि सम्बन्धित व्यक्ति फरार भएका थिए । डलर भनेर दिइएको पोका खोलेर हेर्दा आफूलाई ठगी गरिएको थाहा भएको उनले दिएको जाहेरीमा उल्लेख छ । 
    प्रहरीले यस अघि पनि दर्ता भएका जाहेरीमा अनुसन्धान गरेको थियो । जसमा यहि समुह सक्रिय भएको खुलेको छ । सोनाम नुर्पु, पासाङ नाम्गेल स्याङबा, दिनेशकुमार राई, रामकाजी श्रेष्ठ र चक्रबहादुर कार्कीको जाहेरीमा पनि प्रहरीले अनुसन्धान गरेको छ । अधिकांशमा एउटै समुहको सक्रियता खुलेको छ । उनिहरुको समुहले दर्जनौं ब्यक्तिहरुलाई एउटै शैलीमा फरक–फरक स्थानमा पु¥याएर लुटपाट गरिरहेको खुलेको हो । इलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी राकेश थापाले डलर देखाएर ठग्ने गिरोहका बाँकी सदस्यहरुको खोजी भईरहेको बताए । 

पहिले विश्वास, त्यसपछि प्रलोभन
    जाहेरीमा उल्लेख भएअनुसार तामाङसँग सम्पर्क गर्ने व्यक्तिले आफूलाई सन्तोष भन्ने सुनिल डुम्जनसँग जोडेर डलर साट्ने प्रस्ताव गरेका थिए । सुनिल डुम्जनले साथी विजय तामाङसँग मिलेर नगद तथा सुनका गरगहना ठगी गर्ने योजना बनाएका थिए । उनीहरूबीच डलरसम्बन्धी कारोबारको योजना बनेको र त्यस क्रममा सोनाम सोर्पु तामाङलाई सम्पर्क गरिएको थियो । तामाङलाई ठूलो रकम बराबरको अमेरिकी डलर रहेको र त्यसलाई साट्दा राम्रो आम्दानी हुने प्रलोभन देखाइएको थियो । डलर साट्ने नाममा ५२ हजार अमेरिकी डलर रहेको बताइएको थियो । त्यसको नेपाली मूल्य ७० लाख रुपैयाँभन्दा बढी हुने भन्दै तामाङलाई आकर्षित गरेको थियो । यही प्रलोभनपछि तामाङसँग सम्पर्क बढाइएको र पटक–पटक फोनमार्फत कुराकानी गरिएको जाहेरीमा उल्लेख छ । अन्ततः तामाङलाई पाँचखाल नगरपालिका–४ जिरोकिलो नजिक बोलाइएको र त्यहाँ डलरको पोका देखाएर विश्वासमा पारिएको दाबी गरिएको छ । तामाङले नगद १४ लाख रुपैयाँ दिएपछि आफूलाई डलर भएको पोका दिइएको तर त्यसलाई खोलेर हेर्दा अमेरिकी डलर नभई बीस रुपैयाँ दरका नोट रहेको थाहा पाएको बताए । त्यसपछि आफू ठगिएको थाहा पाएर सम्बन्धित व्यक्तिहरूको खोजी गरेको तर उनीहरू सम्पर्कविहीन भएको तामाङको भनाइ छ । 
    तामाङले घटनापछि आर्थिक क्षतिसँगै मानसिक रूपमा समेत गहिरो असर परेको बताएका छन् । तामाङले आफूले विश्वास गरेर दिएको रकम व्यक्तिगत खर्चका लागि मात्र नभई मेहनत गरेर जम्मा गरेको पैसा भएको बताए । ठगीमा संलग्न व्यक्तिको पहिचान गरी रकम फिर्ता गराउन र दोषीमाथि कानुनी कारबाही गर्न उनले प्रहरीसमक्ष माग गरेका थिए । जाहेरीपछि प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान अघि बढाएको थियो । जाहेरीमा उल्लेख भएका विवरण र बयानका आधारमा घटनाको वास्तविकता, रकमको कारोबार तथा डलर साट्ने नाममा गरिएको योजनाबारे अनुसन्धान गरेको थियो । पक्राउ परेका सुनिल डुम्जन पुर्पक्षका लागि थुनामा गएका छन् । संलग्न अर्का ब्यक्ति विजय तामाङ फरार छन् । उनिहरु दुबै सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिका वडा नम्वर ३ का हुन् । पक्राउ परेका डुम्जनले लुटेको मध्ये १ लाख रुपैया बाहेक अरु पैसा आफुले नपाएको बयान दिए । 
    २०८२ असोज ३ गते चक्रबहादुर कार्कीसँग नगद तथा सुनका गहनाहरु ठगी गरेको घटना सफल भए पछि अन्य ब्यक्तिलाई समेत ठगी गर्नु पर्छ भन्दै विजय तामाङलाई लिएर सुनिल डुम्जन २०८२ साल मंसिर महिनामा रसुवा पुगेका थिए । सोहि स्थानमा सोनाम नुर्पु तामाङले क्याफे र मोटरसाईकल वर्र्कशपको बोर्डमा सोनामको मोबाईल नम्बर देखे । नाम ढाँटेर सुनिलले सोनामलाई फोन गरे । त्यहि क्रममा उनलाई प्रलोभनमा पारे । २०८२ पुष ४ गते दिउँसो काभ्रेको पाँचखाल बोलाएर १४ लाख रुपैयाँ ठगी गरी फरार भएका थिए । पैसा लिएर भागे पछि मोबाईलको सिम निकालेर फालेका थिए । त्यसपछि उनिहरु बीच भेट नभएको बयानमा उल्लेख गरेको भए पनि उनिहरु दुबै मिलेर ठग्दै आएको खुलेको छ २०८३ असार १९ गते स्कुटर लिएर घुम्न जाने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो । काभ्रेपलाञ्चोक जिल्लामा डलर देखाएर ठगी गर्ने क्रम निरन्तर चलिरहेको छ ।  विनोद काफ्लेले पनि प्रहरीकोमा जाहेरी दिएका थिए । उनका मामा माधव अधिकारीसँग चिनजान गराई प्रलोभनमा पारी बनेपा नगरपालिका १ नाला गुम्बा नजिकै १५ हजार अमेरिकन डलर ५ लाखमा रुपैयाँमा दिने शर्त गराए पनि ३ लाख रुपैयाँमा पनि साट्न सहमत भई २०८३ बैशाख १२ गते ठगेका थिए । 
    पासाङ नाम्गेल स्याङबाको २० लाख रुपैयाँ ठगी गरेका छन् । सुनिल डुम्जन, सोमबहादुर डुम्जन, बसन्त डुम्जन र देवा डुम्जनको समुहले पनौती १ रानिकोट पु¥याएर २०८३ असार ६ गते ठगी गरेका थिए ।  दिनेशकुमार राईको ५ लाख रुपैयाँ २०८२ चैत्र २४ गते बनेपा ३ नगरकोटको टाओर मुनीको जंगलमा ठगी गरेका थिए । रामकाजी श्रेष्ठको २ लाख ३० हजार रुपैयाँ २०८३ असार ५ गते बनेपा ३ शनिपानी स्थित जंगलमा बोलाएर लुटेका थिए । संलग्न मध्येका सोमबहादुर डुम्जन ५ वर्ष कैद र ७० हजार जरिवना तिरेर निस्कए लगत्तै पुनः यस्तै कार्यमा सक्रिय भएका हुन् । त्यस्तै चक्रबहादुर कार्कीको नगद र गहना सहित गरी १५ लाख रुपैयाँ बराबरको सामाग्री २०८२ असोज ३ गते भुम्लु गाउँपालिका वडा नम्बर ८ स्थित दोलालघाट नजिकै लुटपाट गरेका थिए । त्यसमा विजय तामाङ पनि संलग्न थिए ।