बनेपा/नेपाली काँग्रेसभित्र असन्तुष्ट नेता तथा कार्यकर्ताको संख्या बढ्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवालाई हटाउँदै विशेष महाधिवेशनमार्फत गगन थापा सभापति बनेपछि सुरु भएको आन्तरिक विवाद अहिले जिल्लासम्म फैलिन थालेको छ ।
मंगलबार जिल्ला समिति सदस्य दीपेन्द्र पौडेलले राजीनामा दिएपछि अन्य नेताहरूले पनि पार्टी छाड्न सक्ने संकेत देखिएको छ । यस अघि पनौती १ रयालेका कुवेर सापकोटाले पार्टी परित्याग गरिसकेका छन् । उनी रास्वपा प्रवेश गरेका थिए । वडा अध्यक्षको निर्वाचनको समयमा रयालेमा १५ लाख रुपैया भन्दा धेरै खर्च गर्ने सापकोटाले पार्टीको रवैया प्रति चित्त दुखाउँदै राजिनामा दिएका थिए । उता केन्द्रीय सदस्य तथा पूर्व सांसद शिवप्रसाद हुमागाईले केही दिनअघि सामाजिक सञ्जालमार्फत सक्रिय सदस्यता नवीकरण नगर्ने घोषणा गरेका थिए । उनले पार्टीले सुरु गरेको सदस्यता अध्यावधिक अभियानले पार्टीभित्र थप विभाजन र विचलन ल्याउने निष्कर्ष आफूले निकालेको बताएका छन् ।
उनले लेखेका छन् –‘नेपाली काँग्रेसको १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण एवं नयाँ सदस्यता वितरणको कार्य निर्वाचनअघि नै सम्पन्न भइसकेको अवस्थामा पुनः अध्यावधिक अभियान सञ्चालन गर्नुले पार्टीलाई थप कमजोर बनाउने देखिन्छ । त्यसैले म मेरो क्रियाशील सदस्यता पुनः अध्यावधिक नगर्ने निर्णयमा पुगेको छु ।’ जिल्ला समितिको ब्यवहार पनि चित्त बुझ्दो नभएको जिल्ला समिति सदस्यहरुले बताएका छन् ।
गगन थापा इतर समूहका अधिकांश नेता तथा कार्यकर्ताले हालसम्म सदस्यता अध्यावधिक नगरेको बताइएको छ । काँग्रेस केन्द्रीय समितिको निर्देशनअनुसार वैशाख मसान्तभित्र सदस्यता नवीकरण नगर्ने व्यक्तिहरू महाधिवेशनका कुनै पनि प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ । सदस्यता अध्यावधिक गर्न दुई दिन मात्र बाँकी रहँदा जिल्ला समिति सदस्य तथा शिक्षा शाखा प्रमुख दीपेन्द्र पौडेलले साधारण सदस्यतासहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन । सामाजिक सञ्जालमार्फत राजीनामापत्र सार्वजनिक गर्दै उनले व्यक्तिगत कारण देखाउँदै वैशाख २९ गतेदेखि लागू हुने गरी पार्टीका सबै जिम्मेवारी र सदस्यता त्यागेको घोषणा गरेका छन् ।









