धुलिखेल/काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नम्वर १२ शंखुमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । धुलिखेल नगरपालिका वडा नम्बर १२ को आयोजनामा तथा मातृका आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
शंखुपाटीचौर स्वास्थ्य चौकीमा आयोजना गरिएको उक्त शिविरमा १ सय ७५ जनाले आँखा परीक्षण गराएका थिए । परीक्षणका क्रममा ४० जनामा मोतिबिन्दुको समस्या देखिएको र उनीहरूको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको दृष्टि विशेषज्ञ कल्याण ढुङ्गाना ले जानकारी दिए । वडा अध्यक्ष मोहन लामिछानेले वडाले विभिन्न समयमा स्वास्थ्य शिविर, आँखा शिविर लगायतका सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीहरूलाई निःशुल्क रूपमा अस्पताल लगेर शल्यक्रिया गरिने पनि जानकारी दिए । अस्पतालका दृष्टि विशेषज्ञ ढुङ्गानाका अनुसार शिविरमा निःशुल्क चस्मा वितरण गर्नुका साथै आँखामा सामान्य समस्या भएका बिरामीहरूलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । अस्पतालले विभिन्न संघ–संस्थासँगको सहकार्यमा देशभर निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको जनाएको छ । शिविरमा दृष्टि विशेषज्ञ सलमान खान, वडा अध्यक्ष मोहन लामिछाने, वडा सदस्यहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।









