2026 May 29/ 11:40: 12pm

फलामेटार/काभ्रेको खानीखोला गाउँपालिकाले ‘गाउँमै कमाऊँ, गाउँमै रमाऊँ’ अभियानलाई व्यवहारमै सफल बनाउने प्रयास थालेको छ । प्रदेश सरकारसँगको समन्वय र स्थानीय कृषकहरूको सक्रियतामा गाउँपालिकाले कफी खेतीलाई समृद्धिको प्रमुख आधारका रूपमा अघि बढाएको हो ।
    फलामेटार कफी उत्पादक कृषक समूहको व्यवस्थापन तथा स्थानीय र प्रदेश सरकारको सहकार्यमा सञ्चालन गरिएको यो अभियान अहिले खानीखोलाको पहिचान बन्न थालेको छ । खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’का अनुसार खानीखोलाको हावापानी र माटो कफी खेतीका लागि अत्यन्त उपयुक्त भएकाले यसलाई नगदे बालीका रूपमा विकास गरिएको हो । ‘सुखी नेपाली र समृद्ध नागरिक बनाउने आधार यहीँको माटो सुहाउँदो उत्पादन हो’– अध्यक्ष थिङले भने–‘ ‘कृषकलाई कफी खेतीतर्फ आकर्षित गर्न र उत्पादन निरन्तर बढाउन उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरेका छौँ ।’ 
    गाउँपालिकाले ‘जसको उत्पादन, उसैलाई अनुदान’ नीति अनुसार कृषकलाई प्रति केजी ३५ रुपैयाँ अनुदान दिन थालेपछि कफी खेतीप्रति आकर्षण झन् बढेको छ । यसअघि दूध उत्पादनमा त्यति सफलता नमिले पनि कफीमा भने कार्यक्रम प्रभावकारी बनेको गाउँपालिकाको दाबी छ । हाल गाउँपालिकाका सातवटै वडामा नर्सरी व्यवस्थापनसँगै व्यावसायिक कफी खेती विस्तार गरिएको छ । अहिलेसम्म करिब २ लाख कफीका बिरुवा रोपिएका छन् भने वडा नम्बर २ फलामेटारलाई पूर्ण कफी पकेट क्षेत्र घोषणा गरिएको छ ।
    गत एक वर्षमा मात्रै ७० टन कफी उत्पादन भएको गाउँपालिकाले जनाएको छ । आगामी वर्षदेखि सबै बिरुवाबाट उत्पादन सुरु हुँदा २० देखि ३० करोड रुपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको छ । वडा नम्बर २ का कृषकले मात्रै वार्षिक १० करोड रुपैयाँभन्दा बढीको कफी बिक्री गर्न सक्ने अपेक्षा गरिएको छ । हाल कृषकहरूले कफीका दाना प्रतिकेजी एक हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । केही कृषकले एक वर्षमै ३ सय रुपैयाँदेखि ९ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् ।
    गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले कफी खेतीलाई खानीखोलाको प्रमुख आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको बताए । ‘स्थानीय सरकार र नागरिकको सहकार्यबाट मात्रै समृद्धि सम्भव छ’– उनले भने । 
    जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीका अनुसार काभ्रे जिल्लाबाट वार्षिक १ सय ८५ मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । देशभरबाट करिब ७ सय मेट्रिक टन कफी निर्यात हुने गरेकोमा महाभारत र खानीखोला गाउँपालिकाबाट सबैभन्दा बढी उत्पादन हुने गरेको उनले बताए । प्रदेश सरकारको ‘एक वडा, एक कृषि उत्पादन’ कार्यक्रम अन्तर्गत वडा नम्बर २ मा व्यावसायिक कफी खेती विस्तार गरिएको दवाडीले जानकारी दिए ।
    ‘यो कार्यक्रम दोस्रो वर्षमा पुगेको छ । पहिलो वर्ष ३५ हजार बिरुवा रोपिएका थिए भने दोस्रो वर्ष २८ हजार बिरुवा थपिनेछन्’– उनले भने– ‘कृषकलाई प्रविधिमैत्री बनाउन प्रदेश सरकारको ६० प्रतिशत, स्थानीय तहको २० प्रतिशत र कृषकको २० प्रतिशत लगानीमा हाते ट्रयाक्टर, पम्पलगायत सामग्री वितरण गरिएको छ ।’ उनका अनुसार पाँच वर्षसम्म सञ्चालन हुने यो कार्यक्रम तेस्रो वर्षदेखि औद्योगिकीकरणतर्फ उन्मुख हुनेछ । कफीको ब्रान्डिङ, प्याकेजिङ, भण्डारण तथा बजार व्यवस्थापनमा पनि सहजीकरण गरिनेछ ।
    यस कार्यक्रमका लागि चालु वर्षका लागि कृषक समूहसँग ४८ लाख २१ हजार रुपैयाँको सम्झौता भएको थियो। जसमा प्रदेश सरकारबाट २८ लाख, गाउँपालिकाबाट ९ लाख र कृषक समूहबाट ९ लाख रुपैयाँ लगानी गरिएको छ । कफीसँगै मेकाडामिया नट्स, एभोकाडो, बेसार, अदुवा र पिँडालु जस्ता बहुबाली खेतीलाई पनि प्रोत्साहन गरिएको छ । यसले कृषकलाई बहुआयामिक उत्पादनमार्फत थप आम्दानी गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । फलामेटार कफी उत्पादक कृषक समूहका अध्यक्ष तथा संविधानसभा सदस्य अक्कलबहादुर थिङले गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए ।
    ‘हामी युवा देखि ज्येष्ठ नागरिकसम्मलाई गाउँमै कमाउने र गाउँमै रमाउने वातावरण बनाउन लागिपरेका छौँ’– उनले भने– ‘वडाका २ सय ६४ घरधुरीमध्ये २ सय ६३ घरधुरीमा कफी खेती सुरु भइसकेको छ ।’ उनका अनुसार कफीको नर्सरी व्यवस्थापन, प्रविधिको प्रयोग, प्याकेजिङ, भण्डारण तथा औद्योगिकीकरणको प्रक्रिया सुरु भइसकेको छ । खानीखोलाको कफीलाई राष्ट्रिय स्तरमा परिचित गराउन राजधानीमा शो–रुमसमेत सञ्चालन गरिएको छ ।
    वडा नम्बर २ का अध्यक्ष दशरथ लामाले पूर्वाधार र सडक पहुँच कमजोर भए पनि गाउँपालिकाले कफी खेती विस्तारमा निरन्तर सहजीकरण गरिरहेको बताए । कफीसँगै घाँस खेती र बाख्रापालनलाई जोड्दा कृषकको आम्दानी थप बढ्ने उनको भनाइ छ । 
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले स्थानीय माटो सुहाउँदो उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सञ्चार क्षेत्रले भूमिका खेल्ने बताए । स्थानीय कृषक पूर्णकुमारी खुलालले मकैलगायत परम्परागत खेतीभन्दा कफी खेती सजिलो र आम्दानीमुखी भएको अनुभव सुनाइन् । ४–५ सय बिरुवाबाटै एक वर्षमा ९ लाख रुपैयाँसम्म आम्दानी भएको छ । अन्य बालीभन्दा कफी खेती धेरै सहज र लाभदायक रहेको कृषकहरुको अनुभव छ । 
    स्थानीयवासीका अनुसार कफी खेतीले खानीखोला गाउँपालिकाको मुहार मात्रै होइन, यहाँका नागरिकको भविष्यसमेत बदल्ने विश्वास पलाएको छ ।