धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा धान र मकै खेतीको मुख्य समयमा रासायनिक मल अभाव चुलिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय धुलिखेलमा युरिया मलको मौज्दात सकिएको छ भने जिल्लाका लागि छुट्याइएको कोटा पनि समाप्त भएको कार्यालयले जनाएको छ । शाखामा बाँकी रहेको करिब ३ सय बोरा मलसमेत केही पालिकाका सहकारी संस्थाले बुकिङ गरिसकेका छन् ।
शाखा प्रवन्धक आलोक कुमारका अनुसार अहिले पाँचखाल, मण्डनदेउपुर, पनौती, नमोबुद्ध र तेमाल क्षेत्रबाट धान तथा मकै खेतीका लागि युरिया मलको उच्च माग भइरहेको छ । उनले जिल्लामा मल अभाव भएको जानकारी सरकारलाई गराइसकिएको बताए । ‘तत्काल अभाव टार्ने सम्भावना देखिएको छैन’–उनले भने– ‘कृषकलाई वैकल्पिक व्यवस्थापन गर्न आग्रह गरेका छौं ।’
चालु आर्थिक वर्षको जेठ १० गतेसम्म सबैभन्दा बढी युरिया मल पाँचखालमा ८२६ टन बिक्री भएको छ । त्यसपछि मण्डनदेउपुरमा ६१४ टन, बनेपामा ६०७ टन, पनौतीमा ५९२ टन र धुलिखेलमा ५७४ टन युरिया मल बिक्री भएको कार्यालयले जनाएको छ । आवश्यकताअनुसार डिएपी र पोटास मलसमेत वितरण गरिएको छ । सबैभन्दा कम मल बिक्री भएको क्षेत्र खानीखोला गाउँपालिका हो, जहाँ ९९ टन युरिया मल बिक्री भएको छ । केही वर्षअघिसम्म खानीखोला र महाभारत क्षेत्रमा मलको कोटा नै थिएन । तर सडक सञ्जाल विस्तारसँगै व्यावसायिक खेती बढेपछि ती क्षेत्रमा पनि रासायनिक मलको माग बढ्दै गएको छ ।
त्यसैगरी नमोबुद्धमा ४३४ टन, रोशीमा ३६९ टन, तेमालमा १८३ टन, चौरीदेउरालीमा १५१ टन, भुम्लुमा १४१ टन, बेथान्चोकमा १४१ टन र महाभारतमा १२४ टन युरिया मल बिक्री भएको छ । धुलिखेल शाखाले दोलखा र सिन्धुपाल्चोक जिल्लामा समेत मल बिक्री गर्दै आएको छ । स्थानीय तहको सिफारिसका आधारमा सहकारी संस्थाले कोटा अनुसार मल प्राप्त गर्दै आएका छन् । पछिल्ला केही वर्षदेखि देशभर रासायनिक मल अभाव दोहोरिँदै आएको छ । सरकारले यस वर्ष पनि ‘जिटुजी’ प्रणालीमार्फत मल आयात गर्ने प्रयास गरे पनि पर्याप्त आपूर्ति हुन सकेको छैन । खेतीको मुख्य समयमा मल अभाव दोहोरिने भएपछि किसान चिन्तित बनेका छन् । यही अवस्थाको फाइदा उठाउँदै निजी क्षेत्रबाट चर्को मूल्यमा मल बिक्री हुन थालेको कृषकहरूले गुनासो गरेका छन् ।









