बेथान्चोक/सातौँ वडास्तरीय बेथानचोक अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नम्बर ६ भुग्देउको महांकाल युवा क्लबले जितेको छ ।
गत मंगलबार भएको फाइनलमा उसले वडा नम्बर ४ को भूमिमाता युवा क्लबलाई पछि पारेको हो । निर्धारित समयमा दुवै टिम गोलरहित भएपछि पेनाल्टी सुट आउटमा ३ का विरुद्ध ४ गोलले महांकालले बाजी मारेको हो । वडा नम्बर ४ को तिप्चोक खेल मैदानमा असोज ३० गतेदेखि कात्तिक ४ गतेसम्म सञ्चालित सेभेन ए साइड प्रतियोगितामा बेथानचोक गाउँपालिकाभित्रका १५ वटा क्लबहरुले भग लिएका थिए । बेथानचोक गाउँपालिका र भूमिमाता युवाक्लबद्वारा आयोजित प्रतियोगितमा जितसँगै महांकाल युवा क्लबले रु ६० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र हात परेको छ । उपविजेता आयोजक क्लब भूमिमाताले ३० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र हात परेको छ । विजेता र उपविजेतालाई वडा नम्बर ४ का वडा अध्यक्ष कृष्णबहादुर लामाले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा उत्कृष्ट गोल किपर महांकाल युवा क्लब वडा नम्बर ६ का मनोज तामाङ, उत्कृष्ट खेलाडी वडा नम्बर ४ भूमिमाता युवा क्लबका धिरत तामाङ, उत्कृष्ट डिफेण्डर महांकालकै निकेश तामाङ र सर्वाधिक गोलकर्ता ढुंखर्क फुटबल क्लबका मिलन तामाङ भएको आयोजक क्लबका अध्यक्ष माइते तामाङले जानकारी दिए । कार्यक्रममा वडा अध्यक्ष लामाले अघिल्लो वर्ष र यस वर्षको विपद्का बावजुद पनि गाउँपालिकाले विकास निर्माणका साथै विविध गतिविधिलाई निरन्तरता दिँदै आएको बताए । उनले खेलकूदले प्रतिस्पर्धात्मक भावना विकास गराई प्रतिभाको जन्म गराउने हँदा यस प्रकारका प्रतियोगिता वर्षेनि गर्दै आइरहेको जानकारी दिएका छन् ।









