बनेपा/कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेले पाँचौ स्थापना दिवसको पुर्व सन्ध्यामा अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ । अध्यक्ष गोपाल दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईको प्रमुख आतिथ्यता रहेको थियो ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन तथा पुँजी कोष ब्यवस्थापन विषयक तालिम कार्यक्रममा राष्ट्रिय सहकारी बैकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईले ऐन, नियम, कार्यविधीमा भएका ब्यवस्था तथा पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए । राष्ट्रिय सहकारी बैकका नवकुमार अधिकारीले सहजिकरण गरेको उक्त कार्यक्रममा जिल्लाका विभिन्न सहकारीका ब्यवस्थापक तथा विभागिय प्रमुखहरुको सहभागिता रहेको थियो । अध्यक्ष दाहालले कोअपरेटिभ मेनेजर्स क्लबले हरेक महिना फरक फरक कार्यक्रम गर्दै सहकारी क्षेत्रमा भएका विविध विषयहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै जाने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिनाले सहकारी क्षेत्रमा भएको चौतर्फी आक्रमणको सामना गर्न सहकारी क्षेत्रको एकता सहितको सकारात्मक सोच आवश्यक रहेको बताए । कार्यक्रममा क्लवका उपाध्यक्ष ठाकुरनाथ अधिकारीको स्वागत मन्तब्य रहेको थियो भने संचालन सचिव सुभाष बैद्यले गरेका थिए ।









