2026 June 26/ 04:01: 04am

धुलिखेल/विरामी लिएर आउँदै गरेको एम्बुलेन्सबाट काभ्रे प्रहरीले ठुलो परिमाणमा लागु औषध बरामद गरेको छ । 
    विपी राजमार्ग स्थित रोशी गाउँपालिका ९ ईलाका प्रहरी कार्यालय मंगलटारको चेक पोष्टमा नियमित चेकजाँच गर्ने क्रममा ३ हजार एम्पुल लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए । एम्बुलेन्स चालक धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ हरिपुर बस्ने ४४ वर्षिय सुरेश मिजारलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । सुनौलो सुनौलो –२ महोत्तरीद्धारा सञ्चालित ज १ च १९०८ नम्बरको एम्बुलेन्स महोत्तरी जिल्लाको बर्दिबासबाट काठमाडौं तर्फ बिरामी लिएर आउँदै थियो ।
    एम्बुलेन्समा ६ वर्षीय विरामी बालक र उनका बुबा आमा थिए । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि बालकलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको थिए । गम्भिर अवस्थामा रहेका विरामी बालक लिएर आएको एम्बुलेन्समा लागु औषध फेला परेको हो । इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरीको कमाण्डमा खटिएको ६ जनाको प्रहरी टोलीले विशेष सूचनाको आधारमा शंका लागि एम्बुलेन्स चेकजाँच गर्दा ठुलो परिमाणमा लागु औषध फेला पारेको थियो ।
    चालकको सिट भन्दा पछाडी क्लाउड स्टार बि लेखिएको रातो रंगको जेब्रा झोला भित्र नोफिन लेखिएको २ एमएलको १ हजार एम्पुल, हरियो रंगको जेब्रा झोला भित्र रहेको रियल बस्र्ट म्याङगो लेखिएको कार्टुन भित्र डाइजेपाम लेखिएको २ एमएलको १ हजार एम्पुल र सोही झोलामा रहेको काटुन भित्र फेनारगन १ हजार एम्पुल गरी ३ हजार एम्पुल लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । एम्बुलेन्स चालक सुरेश मिजारलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप भइ अनुसन्धान भइरहेको छ । लागु औषध कहाँबाट कहाँ लान खोजिएको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । छट्पटिइरहेका विरामी लिएर हिडेको एम्बुलेन्सले लागु औषध बोकेर हिँडेको भेटाउँदा झट्ट हेर्दा विश्वास गर्नै कठिन भएको प्रहरी निरीक्षक कृष्ण गिरीले बताए । अपराधको सुरु र अन्तिम विन्दु तथा अन्य संलग्नता बारे अनुसन्धान भइरहेको उनले बताए । एम्बुलेन्समा लागु औषध फेला परेपछि प्रहरीले अर्काे एम्बुलेन्स मार्फत विरामीलाई उपचारका लागि काठमाडौं पठाएको थियो ।