2026 June 26/ 09:34: 09am

भक्तपुर/काठमाडौं विश्वविद्यालय र आरपी फाउन्डेसन फर कन्जर्भेसनको संयुक्त सहकार्यमा नोभेम्बरदेखि स्नातक तहमा ‘हेरिटेज कन्जर्भेसन’ अध्यापन गर्ने गरी कार्यक्रम प्रारम्भ गरिएको छ । काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापा र फाउण्डेशनका अध्यक्ष रविन्द्र पुरीले संयुक्त रुपमा उक्त कार्यक्रमको प्रारम्भ गरेका हुन् । 
    काठमाडौँ विश्वविद्यालयको अनुमतिमा     स्नातक तहमा २० जना विद्यार्थीका लागि ‘हेरिटेज कन्जर्भेसन’ अध्ययन गराईनेछ । सेप्टेम्बर १६ मा खुल्ला गर्ने शैक्षिक कार्यक्रमका पुर्व चरणहरु सकेर २०२४ नोभेम्वर १० देखि कक्षा प्रारम्भ गरिनेछ । इतिहास तथा विरासतलाई केन्द्रमा राखेर सम्पदाको साथ पाठ्यक्रमले विद्यार्थीहरुलाई धेरै सीपहरु प्रदान गर्न, संरक्षण किन र कसरी गर्ने भन्ने विषयमा सैद्धान्तिक र ब्यवहारीक ज्ञान दिन्छ । सम्पदा संरक्षणका लागि आवश्यक पर्ने जनशक्ति समेत उक्त पाठ्यक्रमले उत्पादन गर्नेछ । चार वर्षे कार्यक्रमका लागि आठ वटा सेमेस्टर तय गरिएको छ । उक्त कार्यक्रमका लागि कुल रकम ९ लाख १५ हजार रुपैया खर्च हुनेछ । विद्यार्थीहरुका लागि विभिन्न खालका छात्रबृत्ति समेत उपलब्ध गराईनेछ । १६ जना विद्यार्थीहरुका लागि ४० प्रतिशत, २ जनाका लागि ५० प्रतिशत र २ जनाका लागि ७५ प्रतिशत छात्रबृत्ति उपलब्ध गराईनेछ । 
    भक्तपुरस्थित नेसनल भोकेसन एकेडेमीमा आयोजित कार्यक्रममा आरपी फाउन्डेसनका अध्यक्ष  रवीन्द्र पुरीले नेपालको सम्पदा संरक्षण, ब्यवस्थापन र पुर्ननिर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादनमा उक्त कार्यक्रम महत्वपूर्ण रहने बताए । ‘भुकम्प तथा त्यस पछि देखिएका विभिन्न स्थानमा सम्पदा पुर्ननिर्माण गर्न अभाव भएको जनशक्ति र त्यसको असर नजिकबाट नियाल्यौं’– अध्यक्ष रविन्द्र पुरीले भने–‘गुणस्तरीय र दक्ष जनशक्ति उत्पादनका लागि यो कार्यक्रम महत्वपूर्ण हुनेछ ।’ कार्यक्रममा प्रमुख पुरीले कला, संस्कृति, सम्पदामा उत्कृष्ट नेपालका विशेषतः काठमाडौँ उपत्यकाका सम्पदा विकासको नाममा विनाश भएको बताए । सम्पदा संरक्षणको अवधारणा नबुझ्दा संरक्षणको नाममा विकृति मौलाएको उनले बताए । 
    विश्वविद्यालयका उपकुलपति भोला थापाले कार्यक्रमको बेवसाइट शुरूवात गरेका थिए । नेपालको सम्पदा संरक्षणमा यो कार्यक्रम महत्वपूर्ण हुने उपकुलपति थापाले बताए । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गगले सम्पदा संरक्षणमा सैद्धान्तिक र प्रयोगात्मक पक्ष एक अर्काका परिपूरक भएको बताइन । सैद्धान्तिक ज्ञान र प्रयोगात्मक कलाको उक्त खाडललाई भर्ने काम उक्त कार्यक्रम अध्ययनले गर्नेमा आशावादी भएको उनले बताइन । हाल सम्पदा संरक्षणलाई विकासको बाधक रूपमा हेरिँदा सरकारी निकाय बीच नै वैचारिक भिन्नता देखिन थालेको उनले बताईन् । 
    पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले सुन्दर र प्यारो लाग्ने सम्पदाहरू दृश्यमात्र नभई दर्शन (मूल्य मान्यता) मा पनि अब्बल रहेको बताए । तर पनौतीजस्ता न्यून आय भएका स्थानीय तहलाई सम्पदा संरक्षण चुनौती भएको उनले बताए । लेखक तथा पत्रकार कनकमणि दीक्षितले सम्पदा संरक्षणप्रति चेतना र मर्मत सम्भार दुवै तहमा कमी रहेको बताए । नेपालका लागि जर्मनीका राजदूत डा.थोमस प्रिन्जले ५० वर्ष अघि शुरू भएको जीआईजेटको कार्यक्रयम स्मरण गर्दै काठमाडौँ विश्वविद्यालय र आरपी फाउन्डेसनको यो कार्यक्रमका लागि जर्मन सरकार सदैव सहयोगी रहेको बताए । काठमाडौ विश्वविद्यालयका डिन प्रा.डा.मनिष पोखरेल लगायतले सम्पदा संरक्षणमा यो कार्यक्रम महत्वपूर्ण रहेको बताए । विश्वविद्यालय उपकुलपति भोला थापाले अध्ययनसँगै सीपको वृद्धि विकास हुने अध्ययन कार्यक्रम विश्वविद्यालय तहमा आउनु पर्ने बताए । स्नातक तहका लागि आएको कार्यक्रम उदाहरणीय हुनेमा उनी आशावादी छन । हेरिटेज कन्जर्भेसन अध्ययनका लागि २० विद्यार्थी छनोट हुनेछन । विद्यार्थी छनोट प्रक्रिया लिखित परीक्षा तथा अन्तर्वाता मार्फत हुनेछ ।