हरेक घटनासँग समुदाय जोडिन्छ । समुदाय जोडिएका घटनामा समुदायको सक्रियतामा कमी हुँदा परिणाम शुन्य हुन पुग्छ । समाजमा शान्ति, अमनचयन कायम गर्ने, शान्ति स्थापना गर्ने र अपराधका घटनामा न्यूनीकरण गराउने कार्यमा समुदाय जति जिम्मेवार हुन पुग्छन त्यति नै अन्य निकायको सक्रियता आवश्यक छ । समुदायले गरिरहेको सक्रियतामा साझेदार र सरोकारवाला निकायको सक्रियता रहँदा मुलुकमा शान्ति स्थापना हुन पुग्छ । अपराध न्यूनिकरण हुन पुग्छ । अपराध न्युनीकरण हुँदा मुलुकले ब्यहोर्नु पर्ने जनधनको क्षति कम हुन्छ । नागरिकहरुले निर्धक्क पेशा ब्यवसाय गर्ने अवसर प्राप्त गर्छन् ।
नेपाल प्रहरीले शुरु गरेको एउटा महत्वकांक्षी कार्य थियो समुदाय प्रहरी साझेदारी कार्यक्रम । जुन नेपालका विभिन्न स्थानमा कार्यान्वयन भएको छ । काभ्रेपलाञ्चोक जिल्लामा समेत उक्त कार्यक्रम प्रभावकारी छ । प्रहरीले एक वर्षको अवधीमा २० हजार भन्दा धेरै नागरिकहरुलाई प्रशिक्षित गराएको छ । २० हजार नागरिकहरुले नेपालको कानून, अपराध तथा समुदायले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराउँदा स्थानीय सरकार समेत सहभागि भएको छ । जसका कारण समुदायमा अझै धेरै सचेतना फैलन सहयोग पुगेको छ । यो क्रम प्रहरी एक्लैले मात्रै सम्भव छैन । प्रहरीले शुरु गरेको अभियानमा नेपाल प्रहरीका अलावा सरोकारवाला निकायको सक्रियता आवश्यक छ । काभ्रेपलाञ्चोक जिल्लामा प्रहरीले अपराध न्युनिकरण गर्ने उदेश्यले केहि वर्ष देखि समुदाय–प्रहरी साझेदारी कार्यक्रम संचालन गरिरहेको छ । १७ वटा विषयमा प्रहरीले ६ सय ४८ वटा कार्यक्रम गरेको छ । आधारभुत विषय बस्तुसँगै सुरक्षा, मानव बेचविखन, लैङ्गिक हिंसा, घरेलु हिंसा, सेफ्टीपीन, आत्महत्या सम्वन्धी छन् । लागु औषध निषेध र घरेलु हिंसा, जातीय छुवाछुत तथा भेदभाव, महिला बालबालिका तथा जेष्ठ नागरिक माथि हुने हिंसा, बालविवाह, दाईजो प्रथा, छाउपडी, बोक्सि आरोप तथा सामाजिक विकृत्ति नियन्त्रण, नागरिक सुनुवाई, सडक सुरक्षा, स्वास्थ्य शिविर, विपत्त ब्यवस्थापन तथ आगलागी, सरसफाई, साईबर सुरक्षा, चोरी, आत्मरक्षा, प्रहरीसँग एकदिन, जेष्ठ नागरिकसँग अन्र्तक्रिया, जबरजस्ती करणी, बालयौन दुब्र्यवहार सम्बन्धी कार्यक्रम प्रभावकारी रुपमा संचालन भए ।
समुदायको चासो र चिन्ता बढेको क्षेत्र लागु औषधसँग हो । लागु औषधका कारण ब्यक्ति, परिवार र समुदायमा भएका तमाम घटनाहरुका बारेमा स्थानीय स्तरमा चासो र चिन्ता पनि छ । लागु औषध निषेध र घरेलु हिंसा सम्वन्धि सचेतनामुलक कार्यक्रम ८५ वटा सम्पन्न भए । जबरजस्ती करणी, बालयौन दुब्र्यवहार सम्वन्धी सचेतनामुलक कार्यक्रम ७१ वटा भएका छन् । विद्यालय स्तरमा शिक्षक र विद्यार्थीहरुबाट हुने घटनामा बृद्धि भएको छ । अभिभावक भनिएकाहरुबाटै र आफन्तबाटै भएका घटनाहरुको न्यूनिकरण प्रहरीको समेत चिन्ताको विषय बन्न थालेको छ । आत्महत्या सम्बन्धि सचेतनामुलक कार्यक्रम ५८ वटा भएका छन् । जिल्लामा पछिल्लो समय आत्महत्या, जर्बजस्ति करणी, यौन दुब्र्यवहार सम्बन्धीका अपराध बढिरहेको तथ्य सहित प्रहरीले जिल्लाका विभिन्न स्थान, विद्यालय, सामाजिक क्षेत्रहरुमा समुदायसँग समन्वयमा कार्य गरिरहेको छ । घरेलु हिंसाका घटनामा बृद्धी भएको छ । विभिन्न कारण हिंसामा पर्ने क्रम बढेको प्रहरीको तथ्यांकले देखाएको छ । यस्ता घटना न्यूनिकरणमा समुदायको सचेतिकरण र चासो तथा दायित्व महत्वपूर्ण छ ।









