2026 June 26/ 12:43: 45pm

उद्धव प्रसाद अधिकारी/पाँचखाल
नेपाल अर्गनान डोनेसन फाउण्डेसनको आयोजना तथा पाँचखाल नगरपालिकाको समन्वयमा अगंदान सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरिएको छ । 
पाँचखाल नगरपालिका भित्र रहेका संस्थागत तथा सामुदायिक विद्यालयका माध्यमिक तहका विद्यार्थीहरुलाई अगंदान, अंग बेचविखन सम्बन्धी सचेतना दिईएको हो । ‘अंगदान सर्वश्रेष्ठ दान, अंग बेचविखन जीवनको सर्वनाश’ भन्ने मुल नारा रहेको उक्त सचेतना कार्यक्रममा आफ्नो अंग कसरी सुरक्षित गराउने, मरोणोपरान्त पछि कसरी अंग दान गर्ने सम्बन्धी सचेतना दिईएको थियो । 
कार्यक्रममा पाँचखाल नगरपालिका नगर प्रमुख महेश खरेलले विद्यार्थीहरुलाई धरै कुरामा सचेत रहन आग्रह गरेका थिए । विद्यार्थीहरुले धेरै कुरा सिक्ने हुदाँ सकारात्मक कुराहरु मात्रै लिनु पर्ने बताए । हामिले हाम्रा धेरै अगंहरु दान गर्दा कसैको  जीवन बाँच्ने भएकाले दान गर्न, तर बेचविखन गर्न नहुने खरेलले बताए । कार्यक्रममा पाँचखाल नगरपालिका उप प्रमुख सुर्यमायाँ दनुवार, जिल्ला शिक्षा समन्वय प्रमुख देवका ढकाल, वडा अध्यक्षहरु, विभिन्न विद्यालयका प्रध्यानाध्यापकहरु लगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रममा नगरका १८ वटा विद्यालयका ५ सय ५१ जना विद्यार्थीहरु सहभागी रहेको थियो । सचेतनासँगै विद्यार्थीहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्न लगाएको थियो ।