उत्पादन बृद्धि गर्न अनुदानमा औषधी वितरण
धुलिखेल, शंखु/धुलिखेल नगरपालिका वडा नम्वर १२ का २ सय २९ जना सुन्तला खेती गर्ने कृषकहरुका लागि धुलिखेल नगरपालिकाले औषधी वितरण गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ को कृषि विकास शाखाको बार्षिक स्वीकृत कार्यक्रम बमोजिम ५० प्रतिशत अनुदानमा सुन्तला खेती गर्ने कृषकहरुका लागि औषधी उपलब्ध गराएको हो ।
धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले निरन्तरको प्रयास पछि धुलिखेल नगरपालिका क्षेत्र भित्र रहेका सुन्तला खेतीमा संलग्न कृषकहरुले राहत महसुस गरेको बताए । ‘२०७२ सालको भुकम्प पछि शंखु क्षेत्रका सुन्तला उत्पादनमा आएको हस यो वर्षबाट सुधार भएको छ’– नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘निरन्तरको अध्ययन, अनुसन्धान र उपचारका कारण सुन्तला खेतीको उत्पादनमा सुधार आएको छ ।’ नगर प्रमुख ब्याञ्जुले औषधी वितरण गर्दै कृषकहरुलाई सहि प्रयोग र हेरचाहका लागि प्राविधिक ज्ञान लिएर सक्रिय हुन अनुरोध गरे ।
वडा अध्यक्ष मोहनप्रसाद लामिछानेले शंखुका कृषकहरुको सुन्तला उत्पादनमा बृद्धि भएसँगै त्यसलाई निरन्तरता दिन नगरपालिका, वडा कार्यालय र सरोकारवाला निकायहरु सक्रिय भएको बताए । ‘भुकम्प पछि सुन्तला उत्पादनमा पहिलो पटक यो वर्ष बृद्धि भएको छ’–अध्यक्ष लामिछानेले भने–‘नगरपालिकाले शंखु क्षेत्रको सुन्तला उत्पादनमा आएको हसका बारेमा अध्ययन र अनुसन्धान पछि आवश्यक उपचार ग¥यो । कृषकहरुलाई सचेत गरायो । प्राविधिक ज्ञान उपलब्ध गरायो । त्यसकै कारण यो वर्ष करोड भन्दा धेरैका सुन्तला बिक्री गर्ने अवसर मिल्यो ।’
निवर्तमान वडा अध्यक्ष हर्क तामाङले शंखुलाई सुन्तलाको पकेट क्षेत्रका साथै आवश्यक धार्मिक पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नु पर्ने बताए । ‘२०७४ मा निर्वाचित भए पछि र त्यसअघि पनि निरन्तर शंखु क्षेत्रको विकासका लागि सक्रिय भयौं’–निवर्तमान वडा अध्यक्ष हर्क तामाङले भने–‘सुन्तला उत्पादनमा बृद्धी भएसँगै कृषकहरु खुशी भएका छन् । यहाँको आयआर्जन बृद्धि र समृद्धिका लागि सुन्तला पकेट क्षेत्र प्रमुख क्षेत्र हो ।’ कार्यक्रममा कृषि विकास शाखाकी प्रमुख रविना तिमल्सिना, स्थानीय जनप्रतिनिधिहरु, कर्मचारीहरुको सहभागिता थिए ।
कृषकहरुलाई बोर्डाेपेस्ट, सिट्रस मल्टीप्ल्क्स, ढुसीनासक, किटनाशक र स्टिकर वितरण गरिएको थियो ।









