धुलिखेल/धुलिखेल नगरपालिका लैङ्गिक विकास तथा समाज कल्याण शाखाको आयोजनामा धुलिखेल क्षेत्र भित्र रहेका सहकारी, समुह तथा संस्थामा कार्यरत महिलाहरुका लागि दक्षता अभिबृद्धी कार्यक्रम संचालन गरिएको छ ।
नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता तथा महिला परिषद् उपाध्यक्ष गिता तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर लगायतले धारणा राखेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले महिलाहरुलाई उद्यमशिल बनाउँदै सक्षम बन्न अभिप्रेरित गर्न स्थानीय सरकार, सहकारी, समुह र संस्थाहरुको मुख्य दायित्व रहेको बताए । ‘जबसम्म ब्यक्ति उद्यमशिल बन्न सक्दैन तबसम्म उसले आफ्नो क्षमतालाई समेत प्रस्तुत गर्न सकिरहेको हुँदैन’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘धुलिखेल नगरपालिकाले महिला परिषद् मार्फत हरेक वडामा महिलाहरुका लागि विशेष खालका सिप, ज्ञान, दक्षता अभिबृद्धी र स्वरोजगारमुलक कार्यक्रमहरु संचालन गरिरहेको छ ।’ उद्यमशिल बन्न र सक्षम बन्न नगरपालिका वा राज्यका कुन कुन नीति बाधक छन् ? जनशक्ति, बजार तथा अन्य के समस्या छन् ? त्यस बारेमा सुझाव दिन नगर प्रमुख ब्याञ्जुले सहभागिहरुलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगरले महिला परिषद् मार्फत हुने कार्यका बारेमा बताउँदै महिलाहरुको दक्षता अभिबृद्धीका लागि स्वयं ब्यक्ति पनि तयार हुनु पर्ने बताए । दक्षता अभिबृद्धी गर्न, उद्यमशिल बन्न अर्थात सिप सिकेर स्वरोजगार बन्न ब्यक्ति स्वंय तयार भए मात्रै स्थानीय सरकारले संचालन गर्ने कार्यक्रमहरु प्रभावकारी हुन सक्ने उनले बताए । कार्यक्रममा सिर्जना काफ्ले र देवबहादुर बस्नेतले सहभागिहरुलाई प्रशिक्षण दिएको शाखामा कार्यरत कर्मचारी संगिता भण्डारीले बताईन् ।









