हामी सात छोरी जन्मियौँ, तर घरमा छोरा खोजि रहियो । म सात छोरीमध्येकी एक हुँ । हाम्रो परिवारमा सात छोरी जन्मियौँ । हामी सबै आफ्नै संसारमा रमाउने, हाँस्ने, खेल्ने र एकअर्काको सहारा बन्ने गथ्र्यौँ । तर हाम्रो परिवारको एउटा यस्तो वास्तविकता थियो, जसले आमाबाबुको अनुहारमा कहिलेकाहीँ खुसीभन्दा बढी चिन्ता देखाउँथ्यो । त्यो थियो—छोरा नहुनुको सामाजिक पीडा ।
आमाले हामी सातै जनालाई जन्म दिनुभयो । एउटी सन्तान जन्माउनु सामान्य कुरा होइन । गर्भधारणदेखि प्रसवसम्म एउटी महिलाले कति शारीरिक र मानसिक पीडा भोग्नुपर्छ, त्यो स्वयं आमालाई मात्र थाहा हुन्छ । तर आमाको त्यो पीडा र मातृत्वको सम्मानभन्दा समाजलाई छोरा जन्मियो कि जन्मिएन भन्ने कुराको बढी चासो थियो । हरेकपटक छोरी जन्मिँदा कतिपयले सान्त्वना दिन्थे, तर त्यो सान्त्वनाभित्र पनि अर्को छोरा जन्माउनुपर्ने अप्रत्यक्ष दबाब लुकेको हुन्थ्यो ।
अब त छोरा जन्माउनुपर्छ । एउटा छोरा त चाहिन्छ नि ! छोरा नभए वंश कसले चलाउँछ ? बुढेसकालमा कसले हेर्छ ? यस्ता कुरा आमाले कति पटक सुन्नुभयो होला ? बाबुले कति पटक मन अमिलो बनाउनुभयो होला ? म सानो हुँदा यी कुराको अर्थ बुझ्दिनथेँ। तर उमेर बढ्दै जाँदा आमाको अनुहार, बाबुको मौनता र समाजको व्यवहार बुझ्न थालेँ । बाबुका पनि आफ्नै बाध्यता थिए । आर्थिक अवस्था सधैँ सहज थिएन । सात छोरीको पालनपोषण, शिक्षा, स्वास्थ्य, लत्ताकपडा र भविष्यको चिन्ता कम थिएन। त्यसमाथि समाजले छोरा नभएको बाबुको परिचय थपिदिएको थियो । छोरी धेरै भएको घर भनेर चिनिन्थ्यो हाम्रो परिवार । तर सात छोरी हुनु गर्वको विषय हुनुपर्नेमा कतिपयका लागि त्यो चिन्ताको विषय बनाइन्थ्यो ।
मलाई अहिले पनि एउटा प्रश्नले घोचिरहन्छ—हामी सात छोरीले बाबुको वंश धान्न सक्दैनथ्यौँ र ? बाबुआमाको नाम र पहिचानलाई अगाडि बढाउन सक्दैनथ्यौँ र ? छोरा जन्मिएपछि मात्र वंश हस्तान्तरण हुन्छ भन्ने सोचले हामीलाई आफ्नै परिवारभित्र पनि कतै अपूरो भएको अनुभूति गरायो । दागबत्ती दिने छोरा चाहिने, कुलको नाम चलाउने छोरा चाहिने, सम्पत्ति र वंशको उत्तराधिकारी छोरा नै हुनुपर्ने। यी मान्यताले छोरीको अस्तित्वलाई कति साँघुरो बनाएको छ भन्ने कुरा मैले विस्तारै बुझ्दै गएँ । हामीले पनि आमाबाबुको रगत बोकेका थियौँ। हामीले पनि उहाँहरूबाट संस्कार र पहिचान पाएका थियौँ । हामी पनि उहाँहरूकै सन्तान थियौँ । तर समाजको एउटा ठूलो हिस्साले हामीलाई छोरीको रूपमा मात्र हे¥यो, उत्तराधिकारीको रूपमा होइन ।
हाम्रो घरमा छोराको अभावभन्दा बढी समाजको सोचको अभाव थियो भन्ने कुरा बुझ्न मलाई धेरै वर्ष लाग्यो । झिलिमिली तिहार र आफ्नै भाइको प्रतीक्षामा रहने मन । तिहार मेरो बाल्यकालको सबैभन्दा प्रिय चाडमध्ये एक थियो । तिहार आउन लागेपछि मनमा छुट्टै उत्साह जाग्थ्यो । घर सफा गर्ने, आँगन लिपपोत गर्ने, फूल टिप्ने, माला गाँस्ने, दियो बाल्ने र मिठा परिकार बनाउने तयारी हुन्थ्यो । हामी दिदीबहिनीका लागि तिहार केवल चाड थिएन, रमाइलो गर्ने ठूलो अवसर पनि थियो । अझ देउसीभैलोको तयारी त महिनौँअघिदेखि सुरु हुन्थ्यो । कसको समूहमा जाने ? कसले भट्याउने ? कसले मादल बजाउने ? कसले नाच्ने ? कसले पैसा जम्मा गर्ने ? सबै कुरा योजनाबद्ध हुन्थ्यो ।
हामी साथीहरू मिलेर समूह बनाउँथ्यौँ । भट्याउने शब्दहरू सिक्थ्यौँ । नाच्ने अभ्यास गथ्र्यौँ । कहिलेकाहीँ गीतका शब्द नमिल्दा हाँसोको फोहोरा छुट्थ्यो । कहिले अभ्यास गर्दागर्दै रात बित्थ्यो । तिहारका रातहरू साँच्चै रमाइला हुन्थे । घरघर पुगेर भैलो खेल्थ्यौँ । रातभरि भट्याउँदा पनि कतिपयले वास्ता गर्दैनथे । कसैले ढोका खोल्न ढिलो गर्थे । कसैले लामो समयसम्म भट्याउँदा पनि थोरै पैसा दिन्थे । कतिले भने खुसी हुँदै पैसा दिन्थे । कतिले मकै, चामल र अन्य खाद्यान्नसमेत दिन्थे । त्यसबेला पैसा कम पाउँदा पनि हामी निराश हुँदैनथ्यौँ । भोलिपल्ट जम्मा भएको पैसा र खाद्यान्न गन्ने, कसले कति उठायो भनेर रमाइलो गर्ने गथ्र्यौँ । अहिले सम्झँदा ती दिन कति सुन्दर थिए जस्तो लाग्छ । आर्थिक अवस्था जस्तो भए पनि मनमा उत्साह थियो। चाडपर्वको वास्तविक रमाइलो थियो । सम्बन्धमा आत्मीयता थियो । तर त्यही तिहारको एउटा दिन मेरो मनका लागि सधैँ फरक रह्यो ।
भाइटीका । अरूका घरमा दिदीबहिनीहरू आफ्ना भाइलाई टीका लगाउन उत्साहित हुन्थे । भाइहरू दिदीबहिनीको हातबाट टीका लगाउन पुग्थे। निधारमा सप्तरङ्गी टीका, गलामा माला, हातमा मिठाई र उपहार हुन्थ्यो । म पनि ती दृश्यहरू हेर्थेँ । हामीसँग पनि आफन्त थिए । दाजुभाइ थिए । समाजमा चिनिएका र भावनात्मक रूपमा नजिक भएका मानिसहरू पनि थिए । कतिपयलाई दाजुभाइ मानेर टीका लगाउने चलन पनि थियो । तर आफ्नै आमाको कोखबाट जन्मिएको भाइ हुनु र अरू कसैलाई दाजुभाइ मानेर टीका लगाउनु फरक रहेछ । यो कुरा मैले उमेरसँगै महसुस गरेँ । मलाई अरू कसैलाई दाजुभाइ मान्न मन नलागेको होइन । तर सम्बन्धको आफ्नै एउटा भावनात्मक गहिराइ हुँदो रहेछ । आफ्नै भाइ भएको भए उसलाई टीका लगाउँदा कस्तो अनुभूति हुन्थ्यो होला भन्ने कल्पना मनमा आइरहन्थ्यो ।
हातमा टीका हुन्थ्यो, माला हुन्थ्यो, मिठाई हुन्थ्यो । तिहारका सबै रङ हुन्थे। तर मनको कुनै कुनामा एउटा खाली ठाउँ रहिरहन्थ्यो । हामी सात दिदीबहिनी थियौँ। हामीबीच माया थियो, आत्मीयता थियो, साथ थियो। तैपनि आफ्नै भाइको अभाव तिहारमा झन् प्रस्ट देखिन्थ्यो । तिहार सकिएपछि सबैले आआफ्नो खुसी सँगाल्थे । म भने अर्को वर्ष पनि यही अभावसँग तिहार मनाउनुपर्ने सम्झनामा डुब्थेँ । दाजुभाइको सम्बन्ध, पुरुषप्रधान समाज र बदलिँदो सोच । समय बित्दै गयो। बाल्यकालको रमाइलो विस्तारै जिम्मेवारीमा बदलियो । उमेर बढ्दै जाँदा समाजका कुरा बुझ्न थालेँ । छोराको महत्व किन यति धेरै बनाइएको रहेछ भन्ने प्रश्न पनि मनमा उठ्न थाल्यो । पुरुषप्रधान समाजमा पुरुषलाई परिवारको उत्तराधिकारी मानिन्छ । वंशको निरन्तरता पुरुषबाटै हुन्छ भन्ने मान्यता अझै धेरै ठाउँमा बलियो छ। बाबुआमाको नाम, थर, सम्पत्ति र संस्कारको हस्तान्तरणमा पनि छोरालाई विशेष प्राथमिकता दिइन्छ । तर छोरीले त्यो जिम्मेवारी लिन सक्दिनन् र ?
छोरीले बाबुआमाको सेवा गर्न सक्दिनन् र ? उनीहरूको दुःखमा साथ दिन, आर्थिक जिम्मेवारी बहन गर्न, सम्पत्ति र संस्कारको संरक्षण गर्न सक्दिनन् र ? समाजले छोरीलाई विवाहपछि पराइ घर जाने भनेर परिभाषित ग¥यो । तर छोरीको मनबाट माइती कहिल्यै पराइ हुन्छ र ? मलाई लाग्छ, छोरीले आफ्नो जन्मघर छोड्न सक्छे, तर जन्मघरप्रतिको माया र जिम्मेवारी छोड्न सक्दिन । दाजुभाइको सम्बन्धको अर्को पाटो पनि मैले देखेँ । समाजमा कतिपयले टीका लगाएर दाजुभाइको सम्बन्ध जोड्छन् । यो आफैँमा राम्रो परम्परा पनि हुन सक्छ । तर सबै सम्बन्धमा आत्मीयता र इमानदारी हुँदैन रहेछ । कतिपयले स्वार्थका लागि सम्बन्ध गाँस्ने र स्वार्थ पूरा भएपछि टाढिने गरेको पनि देखियो । कसैले तिहारमा टीका लगाउँछन्, दाजुभाइको सम्बन्धको ठूलो कुरा गर्छन्, तर व्यवहारमा त्यो आत्मीयता टिकाउन सक्दैनन् ।
कहिलेकाहीँ टीका लगाएर सम्बन्ध जोड्ने र पछि त्यही सम्बन्धबाट अलग हुने प्रवृत्तिले पनि मन खिन्न बनाउँछ । म कसैलाई दाजुभाइ मान्नु गलत हो भन्दिनँ । सम्बन्ध रगतबाट मात्र होइन, भावनाबाट पनि बन्छ । तर सम्बन्धको नाममा देखावटी र स्वार्थको खेल हुनुहुँदैन भन्ने लाग्छ । मेरा लागि आफ्नै भाइको अभाव हुनु र अरू कसैसँग आत्मीय सम्बन्ध हुनु दुई फरक अनुभूति हुन् । मलाई अरूले दिएको माया र सम्मानको मूल्य थाहा छ। तर त्यसले आफ्नै कोखको सम्बन्धको कल्पनालाई मेटाउन सक्दैन । सायद यही नै मेरो जीवनको एउटा यस्तो यथार्थ हो, जसलाई शब्दमा व्यक्त गर्न सजिलो छैन । मलाई कहिलेकाहीँ लाग्छ, समाजले पुरुषलाई आवश्यकभन्दा बढी ठूलो बनाएको होइन, छोरीको क्षमतालाई आवश्यकभन्दा बढी सानो बनाएको हो ।
छोरा हुनु नराम्रो होइन । दाजुभाइ हुनु खुसीको कुरा हो । तर छोरा नभएकै कारण कुनै परिवारलाई अपूरो ठान्नु र छोरीको जन्मलाई निराशासँग जोड्नु कस्तो सामाजिक न्याय हो ? हामी सात छोरी जन्मिएको घरमा पनि खुसी, माया र जिम्मेवारीका सातवटा संसार थिए । केवल एउटा छोरा नभएकै कारण त्यो परिवारको मूल्य घट्नु हुँदैनथ्यो । विवाहपछि पनि माइतीको तिहार र खाली हातको अनुभूति । समयले सबैलाई अगाडि बढाउँछ। हामी पनि हुर्कियौँ। पढाइ, संघर्ष, जिम्मेवारी र जीवनका अनेक मोड पार गर्दै विवाहपछिको नयाँ संसारमा प्रवेश ग¥यौँ । विवाहपछि जीवनको परिवेश बदलिन्छ । नयाँ घर, नयाँ परिवार, नयाँ सम्बन्ध र नयाँ जिम्मेवारी थपिन्छन् । आफ्नै घरको चाडपर्व मनाउने तरिका बदलिन्छ । पहिले जस्तो स्वतन्त्रता र बाल्यकालको रमाइलो पनि हुँदैन । तर तिहार आउँदा मन भने फेरि माइतीमै पुग्छ ।
आमाको अनुहार सम्झिन्छु । बाबुको संघर्ष सम्झिन्छु । सात दिदीबहिनीको बाल्यकाल सम्झिन्छु । देउसीभैलो खेलेका ती रातहरू सम्झिन्छु । रातभरि हिँड्दा थाकेका खुट्टा, भोलिपल्ट जम्मा भएको मकै र चामल, अनि सानो कुरामा खुसी हुने हाम्रो मन सम्झिन्छु । अहिले ती सबै सम्झना जीवनका अमूल्य सम्पत्ति बनेका छन् । तर भाइटीकाको दिन भने मनमा फेरि त्यही पुरानो प्रश्न उठ्छ । आफ्नै भाइ भएको भए आज म कहाँ हुन्थेँ होला ? उसलाई टीका लगाउन पाउँदा कस्तो लाग्थ्यो होला ? ऊ टाढा भए पनि फोन गरेर दिदी भनेर बोलाउँथ्यो होला कि ? मेरो सुखदुःखमा उसले कस्तो साथ दिन्थ्यो होला ? यी सबै प्रश्नको उत्तर छैन । मलाई थाहा छ, दाजुभाइ भएका सबै दिदीबहिनी खुसी नै हुन्छन् भन्ने छैन। कतिपयका सम्बन्धमा पनि दूरी, असमझदारी र पीडा हुन्छन् । कतिपयले आफ्नै दाजुभाइबाट दुःख पाएका पनि छन्। त्यसैले दाजुभाइ हुनु मात्रै जीवनको पूर्णता होइन । तर आफूले कहिल्यै नपाएको सम्बन्धको अभाव महसुस गर्नु पनि गलत होइन रहेछ ।
मलाई आफ्ना सात दिदीबहिनी हुनुमा गर्व छ। हामीले एकअर्काको सुखदुःखमा साथ दिएका छौँ । आमाबाबुको संघर्ष देखेका छौँ । आर्थिक कठिनाइ र सामाजिक दबाबबीच हुर्किएका छौँ । तर एउटा कुरा भने कहिलेकाहीँ मनमा चसक्क हुन्छ, हामीलाई जन्म दिँदा आमाले छोरा नजन्माएको पीडा किन सहनुप¥यो ? बाबुले सात छोरीका बाबु भएको सामाजिक पहिचान किन बोकेर हिँड्नुप¥यो ? हामी छोरीहरूले किन आफ्नो अस्तित्व प्रमाणित गर्नुपर्ने भयो ? तिहार सकियो । घरका दियो निभे । फूलका माला ओइलाए । देउसीभैलोका आवाजहरू बन्द भए । अरूका निधारमा टीकाका रङ मेटिँदै होलान् । तर मेरो मनमा वर्षौँदेखि रहेको एउटा अभाव अझै मेटिएको छैन । मलाई भाइ चाहिएको थियो भन्ने कुरा स्वीकार गर्न म हिचकिचाउँदिनँ । तर छोरा नभएकै कारण मेरी आमाको मातृत्व कम थियो, मेरा बाबुको वंश अधुरो थियो वा हामी सात छोरीको जीवन अपूर्ण थियो भन्ने कुरा म स्वीकार गर्न सक्दिनँ ।
आमाले सात सन्तान जन्माउनुभयो । बाबुले सात छोरी हुर्काउनुभयो । हामीले पनि उहाँहरूको नाम, संस्कार र पहिचान बोकेका छौँ । हामी पनि उहाँहरूकै वंश हौँ। हामी पनि उहाँहरूको भविष्य हौँ । सायद समाजले यो कुरा बुझ्न अझै समय लाग्ला । आज तिहार सकिएको छ । म आफ्नै संसारमा फर्किसकेकी छु । तर बाल्यकालको त्यो घर, आमाको अनुहार, बाबुको मौनता र भाइटीकाको दिन खाली रहने मेरो हात सम्झिँदा मन अझै भारी हुन्छ । मलाई तिहार मन पर्दैन भन्ने होइन । मलाई तिहार असाध्यै मन पर्छ । तर तिहारको सबैभन्दा आत्मीय दिनमा आफ्नै भाइको निधारमा टीका लगाउन नपाएको एउटा चेलीको मन कसले बुझिदिने ? सायद यही मेरो जीवनको सबैभन्दा नबोलिएको कथा हो ।
यो कथाको अन्त्यमा एउटी चेलीले समाजसँग प्रश्न गरेकी छे, छोरी भएर जन्मिनु किन अभाव बन्यो ? सात छोरी हुनु किन सामाजिक चिन्ताको विषय बन्यो ? रगतको सम्बन्धको आफ्नै महत्व हुँदाहुँदै पनि छोरीको माया, त्याग र जिम्मेवारी किन कम आँकलन गरियो ? तिहारमा भाइको अभाव महसुस गर्नु र छोरी हुनुमा गर्व गर्नु एकअर्काका विरोधी भावना होइनन् । एउटी चेलीले दुवै अनुभूति एकैपटक बोकेर बाँच्न सक्छे ।
सावित्री खड्का
भुम्लु, काभ्रे









