
सदा झैं यो शुक्रबार पनि त्यो जमघट भयो । बज्यैदेखि पनातिसम्मका चारपुस्ताको जमघट । एउटा पारिवारिक पारम्परिक जमघट । कविन्द्रलाई यो रमझम कत्तिपनि रमाइलो थिएन । एउटा किलकिलाउँदो असन्तुष्टीले उसलाई पीडा दिइरहेथ्यो । सबै रमाइ रहेथे । उसलाई भने यो झर्काेको जमघट थियो । एउटा परम्परागत जमघट जसलाई टार्न ऊ कत्ति पनि सक्दैनथ्यो । अनुशासनको कुरा मात्र होइन । सन्तानमा ऊ जेठो छारो । अझ उत्तराधिकारी नै । विरासतमा उसलाई ठूलै अधिकारको सिंहासन छ जो परम्परा रहेसम्म सुरक्षित छ । त्यो परम्परा जीवित रहन पर्छ अनि मात्र त्यो आसन बलियो रहन्छ । त्यो उत्तराधिकारलाई मलजल हुन्छ । आङ्ग नै अस्तित्वको त्यो आधारलाई उसले नकार्न सक्तैन । त्यसैले ऊसलाई यस्ता परम्परामा अनुरक्त हुनु नै पथ्र्याे चाहेर पनि र नचाहेर पनि । चारपुस्ताका सदस्यहरु पुस्तागत तहका अलग–अलग टेबलमा रमाइरहेथे । कविन्द्र उसकै पुस्ताका दाजुभाई दिदीवहिनी ज्वाई भेना आदिसँग उपस्थित थिए । शरीर त्यहाँ थियो तर मन त अन्तै । कोही कोही जेठा पनि थिए । कोही नाताले मान्य पनि । तर गद्दीनसीन हुनाले ऊ उसका पुस्तामा सर्वमान्य थिए । उसको रौव अरुको भन्दा फरक हुन्थ्यो नै । उसको सबभन्दा मनपर्ने स्कच ह्वीस्की फेमस ग्राउच । पेगमा ऊ आफै हाल्दैथ्यो र घटघट पिउँदैथ्यो । अरु दिनको भन्दा आज उसको व्यवहार फरक थियो । नितान्त फरक र एक्लो । भीडमा पनि एक्लो । आज उसले बेस्मारी खाएको हो र पनि उसलाई त्यसले छोएको थिएन । थोरै खाँदा पनि ऊ धेरै मातेको अभिनय गर्ने व्यक्ति हो । सबैलाई थाहा भएको त्यही हो ।
विशेष उसका पुस्तागत तहका मोजकर्मीहरु जानाजानी त्यो अभिनयलाई चाकरीवत सम्मान पसारेर मिलाई दिन्थे । तल्ला तहकाहरुको त कुरै रहेन । उसको प्रशंसामै यत्नहरु खर्च गर्थे । आज स्थिति फरक थियो । त्यसैले भनौँ माहौल नै फरक थियो । उसको समस्या के थियो किन ऊ असन्तुष्ट छ कसलाई ऊ फोन गर्छ कसको फोन उसलाई आइरहेछ भन्ने नै हो भने सबैलाई सबै–सबै थाहा छ । अनि अझ आज किन उसलाई रक्सी लागेको छैन र उसका अभिनयहरु किन आज हावा छन् त्यो पनि सबैलाई थाहा छ । त्यसैले उसका तहका सबै मोजकर्मीहरु भने जस्तो गरी अनि चाहे जस्तो गरी रमाउन सकिरहेका छैनन् । आखिर ऊ उसका तहका सबैभन्दा शक्तिशाली व्यक्ति हुँदै हो । अलिपर उसका बाबुखालेहहरु अर्कै टेबुलमा छन् । आमा छन् । काका छन् । काकी छन् । फुपू छन् । र फूपाहरु छन् । त्यहाँ पनि खुशियालीमा कताकता ग्रहण परेको आभाष हुन्छ । विशेष आमा चाहिँको अनुहारमा त्यो कालो छायाँ स्पष्टै देखिन्छ । विशेष कविन्द्रको यो पागलपनले त्यता पनि असर पारिरहेको स्पष्ट थियो । तिनी पनि यस जमघटमा कत्ति पनि रमाएकी थिइनन् । भीडभित्र तिनी पनि नितान्त एक्ली थिइन् । तर के गर्ने लोकाचारलाई ध्यान दिनु नै थियो सबैको माझमा तिनी विवश मुस्कान छर्दै थिइन् । त्यो स्पष्टै अभिनय मात्र थियो । त्यसको छायाँमा तिनी दुखित दुखित थिइन् । सबैले स्पस्टै बुझिरहेका थिए ।
कविन्द्र यी सबै परिस्थतिलाई बुझदछ । निडर ढीट बनेको छ । अझ अटेर गर्दै स्थितिलाई झनै उचालिरहेको छ । मानौँ सबैलाई ऊ चुनौति दिँदैछ । बुबा त्यस स्थितिलाई टार्ने मनस्थितिमा छ । आमा कुनैपनि क्षण प्रतिकारमा उत्रन उद्दत छिन् । तिनको आँखामा असैह्य क्रोधको आगो दन्किरहेको स्पस्ट छ । कविन्द्र भने कति विचलित छैन । आमाको कुनैपनि प्रतिकारविरुद्ध उ आगो नै उत्रन तयार छ । आमाको ज्वलन्त मनोभावलाई ऊ पूर्णरुपले अवज्ञा गर्दै चुनौति दिइरहेको छ । बेलाबेलामा श्वास फुत्कार्दै भित्तातिर फर्केर अंग्रेजीमा गाली बक्छ ब्लडी बीच । त्यसैबेला उसको मोवाईलमा घण्टी आउँछ । कानमा राखेर बोल्छ हेलो । उताबाट के कुरा आउँछ सुनिन्न । तर कविन्द्रको प्रत्युत्तर हुन्छ छाडिदेऊ त्यो स्वास्नीको फरियामा गुटमुटिने मान्छेको कुरा । अलि बढी नै लाग्छ सुन्नेहरु सबैलाई यो अभिव्यक्ति । सबैजनाको आँखामा छक्क अनि छक्कसँगै एक किसिमको त्रास टप्कन्छ । एकाएक त्यो टेबल निःशब्द हुन्छ । फोनमा कुरा लामो हुन लाग्छ । कविन्द्रलाई एकान्त ठाउँमा गएर निर्धक्क कुरा गर्नुपर्ने अवस्था हुन जान्छ । त्यसै पनि ऊ यो रमझममा भित्री मनबाट उपस्थिति थिएन नै । त्यसमा अर्काे दवाव सिर्जना भयो यो फोन । सदासदा यस्ता माहौलबाट उम्कन ऊ मातेको अभिनय गर्ने गथ्र्याे । तर आज त्यसो गरिहाल्न स्थिति बनेकै थिएन । ऊ अभिनयमै किन नहोस् उन्मत्त थिएन नै । के गर्ने स्थिति बनाउन उसले एकपेग सट्ट पा¥यो । ऊ अनौठो लड्खडाउन लाग्यो । उसलाई समाएर गन्तब्यमा लैजानु पर्ने भयो । सदा तीन चार जनाले हुन्थ्यो भने आज दुइचार जना थपिएरै जानपर्ने भयो । गरे पनि त्यस्तै । बाबु आमा काका फूपा फूपु सबैजना सामु त्यस्तै भयो । आफ्नो इज्जतै थाम्न पनि यो निम्न हर्कतलाई वास्ता नगर्न कर लाग्यो । मानौ कसैले यो देख्दै देखेनन् । कसैले देखेर पनि यो सामान्य कुरा हो नयाँ कुरा हुँदै होइन भन्ने पारामा लिए । तर बाबु र आमालाई यो पच्ने कुरा थिएन । जमघटको सबैभन्दा माथिल्लो तहको मान्छेलाई उसको यो व्यवहार ठूलाको अवज्ञा मात्र देखिएन मानौँ अपहेलना नै भयो । जमघटमा स्थिति साम्य भइसकेथ्यो । सबैले राहत भएको अनुभव गर्न लागि सकेथे । सबै भोजको मस्तिमा डुब्न लागे । एकैक्षणमा बाहिरतिरबाट हेलिकोप्टरको आवाज सुनियो । यस्ता आवाज आइ नै रहने गर्दछ । कसलाई यसको के वास्ता वास्ता गर्नपर्ने छँदैछन् कर्मचारीहरु वा अंगरक्षकहरु । सबै आफ्ना मोजमस्तिमा डुबि नै रहे ।
रक्सीले लट्ठ कविन्द्रको कानमा बम बन्दुक र आतंकितहरुका कोलाहलले एउटा झस्का दियो । जातैले बन्दुकप्रति सचेत हुन पर्ने शंकैले पनि यसप्रति चनाखो रहनु पर्ने गन्ध मात्रैले पनि जाग्न पर्ने यहाँ त आवाजहरु आइरहेछन् । एक होइन दुई होइन हजारौँका संख्या साथ एकनाशले । उसको रक्सी हावा भयो । उठ्यो ऊ र झ्यालको सानो प्वालबाट बारिहका दृश्यहरु हे¥यो । अति अस्वाभाविक दोहोरो भिडन्त थिएन यो । एक नाश एकथरी आततायीहरुले बाहिर बगैँचा र चौरमा निहत्था चाकरहरुलाई निर्मम सोत्तर पार्दै थिए । उसले बुझिहाल्यो । उसको सम्पूर्ण परिवार सोत्तर भइसकेको स्थिति छ । उसले राइफल झिक्यो । पेस्तोल झिक्यो । मेशिनगन झिक्यो । गोली गट्ठाका मालाहरु झिक्यो । तर ऊ त नाङै थियो । अण्डरवेयरमा मात्र ऊ भिड्न सक्दैनथ्यो । फेरि ऊ कोठामै हतारहतार आयो लुगा लगाउन । कविन्द्र केही मोटै मान्छे हो । तर उमेरले उसलाई चितुवाको फूर्ति दिएको थियो । गोली हान्न ऊ यति सिपालु कि मै हुँ भन्ने निशानेवाजलाई पछाडि पार्दथ्यो । पछाडिको झ्यालतिर प्रकाश मधुरो पर्दथ्यो । त्यताबाट भाग्न मद्दत पुग्न सक्थ्यो । अझ कम्ब्याट ड्रेसले गर्दा निश्चय नै उसलाई टाढाबाट कसैले ठम्याइहाल्न सक्दैनथ्यो । उसले झ्याल खोलेर हे¥यो । आततायीहरु भुइँमा लडेका लाशहरु ओसार्ने र मरे नमरेका जाँच्ने काममा जुटेका थिए । नजिकै पाँच सातवटा ठूला ठूला ट्रकहरु आए । यीनमा नोकर चाकर र अंगरक्षकका लाशहरु हतारहतार हाल्न लागे । हतारमा भएका उनीहरुको यता कसैको ध्यान थिएन । बगौँचाका रुखहरुले छेकेको एउटा पाइपको सहाराबाट सर्केर ऊ तल झ¥यो । तल नीर्जन थियो । तर दुईवटा लाशहरु लडिरहेथे । आततायीहरुले यी लाशलाई किन छोएनन् उसले भाग्दाभाग्दै त्यता एक दृष्टि दियो । उसको मुखबाट अनायास निस्क्यो ओ माइ गड । यो उसकै आमाको लाश थियो । कसरी निर्मम मारेका अनुहारको एकपाटा नै क्षतविक्षत् । कनपटीमै टाँसेर गोली हानेको स्पष्ट थियो । आमालाई ऊ वेहद घृणा गर्दथ्यो । उसको प्रेमको बाटोमा तिनी तगारो भएर उभिएकी थिइन् ।
त्यसैबेलामा केही आततायीहरु त्यतै आउँदै गरेका थिए । माथिबाट हेलिकोप्टरले पनि सर्चलाइट दियो । उसले कतै छल्लि नै प¥यो । सिपाही हो ऊ । भावावेशमा कमजोर हुनु थिएन । उसले मुटु दहे पा¥यो । आमालाई एउटा भावपूर्ण सलामी दिएर ऊ त्यहाँबाट हिँड्यो । जाँदाजाँदै उसले नजिकको लाशमा आँखा लायो । फेरि उसको मुखबाट निशब्द उच्चारण भयो ओ माइ गड । यो उसकै भाइ थियो । मार्नेले उसलाई पनि आमासँगै त्यस्तै बेरहम पारामा मारेछ । उसले परपरसम्म हे¥यो र स्पष्ट भयो अब सम्पूर्ण मेरा परिवारका सदस्यहरु मारिएका थिए । ऊ छलिएर अर्काेतिर लाग्यो । तर अनायास ऊ माथि हेलिकोप्टरको प्रकाश पर्न गयो । तत्काल जुक्ति सोच्यो भाग्यो भने वा असामान्य हरकत गरेमा ऊ चिनिनेछ । ऊ माथि एकसाथ हज्जारौँ गोली वर्षने छ । ऊ सामान्य ढंगबाट अगाडि बढ्यो । मानौँ आततायी मध्येकै कुनै एक सैनिक हो । हेलिकोप्टरको सर्चलाइट एकछिनलाई अर्काेतिर लाग्यो । त्यही मौका पारेर ऊ ओझेलमा पर्न गयो । हेलिकोप्टरको सर्चलाइट फेरि त्यतै फिरेर आयो । अनि त त्यहाँ असामान्य कुरा भएको हेलिकोप्टरका अवलोकनकर्ताहरुलाई ज्ञात भइहाल्यो एकै छिन पहिले देखिएको त्यो व्यक्ति कसरी एकै मिनेटमा गायब भयो । आततायीहरुलाई छिट्टै थाहा भयो कविन्द्र अहिलेसम्म मारिएको छैन । वाकीटकीहरुमा सूचना आदान प्रदान हुन लाग्यो एकै मिनेट अघि मात्र एकजना कविन्द्रकै आकारको मान्छे गायब भएको छ । अर्काेले भन्यो उसको हातमा यस्तो हतियार छ जुन मिसनमा संलग्न कसैलाई दिइएको छैन । सबैले भने ऊ कविन्द्र नै हुनुपर्छ । फेरि हेलिकोप्टरबाट कविन्द्रका स्वरुपका कमाण्डोहरु तल झरे । कविन्द्र द्वन्द्वको अवस्थामा पुग्यो । दाहिनेतिर खाल्टो थियो । त्यतै दाहिने पाटा शरीर दबाएर ऊ बन्दुक ताक्न लाग्यो । नजिकै एउटा ढल थियो । त्यसभित्र पस्न पाइयो भने बच्ने ठूलै संभावना हुनेछ । ऊ दाहिने कुइनाले टेक्दै उतै घस्रन लाग्यो । तर सोचेजस्तो भएन । खाल्डो कम गहिराइको हुनु र उसको शरीर मोटो हुनुले धोका हुन गयो । खाल्डो माथि देखिएको देब्रे कम्मरमा उसलाई गोली लाग्न गयो । अब त ऊ घस्रनै नसक्ने स्थितिमा पुग्यो । त्यहाँ नै रहेर बचाउ गर्नुपर्ने भयो । गोली चलाएमा ऊ काहाँ छ भन्ने कुरा थाहा पाइहाल्थे । त्यसैले ऊ चुप रह्यो । कसको के भरोसा एकसाथ दर्जनौ बन्दुकहरु पड्काउँदै कविन्द्रको खाल्डोतिर बढे । अब अर्काे बाटो रहेन । कविन्द्रले पनि गोली दाग्न लाग्यो । दर्जनौँ फेरि ढाले । केही समयमै कविन्द्रको तर्फबाट गोली वर्षा बन्द भयो । आततायीहरुले सोचे कविन्द्रको काम तमाम भइसकेको छ । उनीरु लास उठाउन उतै गए । तर खाल्डोमा रगतपिच्छे कविन्द्र दाहिने कोल्टो साथ अझै जीवित थिए । गोली सकिएकाले उसले प्रतिकार गर्न छाडेको रहेछ ।
एउटाले अपमानजनक ढंगमा चिउँडोमा लात्ताले हान्यो । कविन्द्र क्रोधित भएर चिच्यायो । कविन्द्र पनि अंग्रेजी नै बोल्ने रहेछ । कविन्द्रको देब्रे काचटमा पेस्तौल टाँसेरै उसले पड्कायो । कविन्द्र त्यहाँ नै निश्चल बन्यो । पर्खाल भीत्र के भयो बाहिर कसैलाई थाहा भएन । भोलीपल्ट खबर आयो आफूले छानेकी स्वास्नी ल्याउन नपाएर कविन्द्रले गोली चलाएर मा¥यो । सबै स्तब्ध थिए । आँखा आँखामा अपचको रंग व्याप्त थियो । ढुंगा माटो हावा पानी घाम बादल समय सबैसबै लज्जित लज्जित स्तब्ध थिए । हामी सबै लज्जित भयौं । रक्सी, प्रेमिका, आफन्त, धन, सम्पत्ति, सत्ताको उन्माद क्षणभरमै ध्वस्त र खरानी हुने रहेछ । यी जीवनका सबै अस्थायी हुन् ।
कविताराम श्रेष्ठ
काठमाडौ