2025 February 10/ 03:19: 59am

    जब आकाश गडगडायो मेरो सातो गयो रातभरी मैले यो शरीर लतार्दै पाखा उक्लिएँ ओर्लिएँ । मेरै घरलाई सरापे । छिमेकीको घरलाई गाली गरे । एकरात भाग्दै बाँचे । भोलिपल्ट देखि मेरा दिन धप्पक्क बल्न थाले । मान्छेका लाश गायब भए । खोज्नेका लस्कर देखिन थाले । यो सुनसान मेरो गाउँ अब मेलामा परिणत हुन थाल्यो । लास नभेटिएर सबै दुःखित भए । जब लास भेटियो सबै खुशी भए । ओहो ! लास भेटियो भन्दै कराए । कोहि मोबाइलको टावर खोज्दै समाचार दिन दौडिन थाले । बाटोघाटो, पानी, बत्ती सबै ध्वस्त भएका थिए । फेरी के रमाइलो बाँकी नै थियो । डोजर गडडाउन थाले । पाइप लतारिन थाले । आखिर बाटो छिचोलियो धारा रसाउन थाले । बत्ती पिलपिलाउन थाल्यो । 
    दयालुका लस्कर लाग्न थाले अब पो आउन थाल्यो । असली मज्जा वारीपारी सबै तिर हल्ला मच्चिन थाल्यो । राहत ! राहत ! आयो ! आयो ! गाउँले जम्मा गर । म दौडिए जाबो खुट्टा भाँचिएर के हुन्छ भन्ने सोच्दै किलामा बाँधेको भैसी आज खान नपाएर मच्चिदै छ । मलाई राहत जो लिनु छ ।  त्रिपालहरुले पहिरोले खुइल्याएको पाखो छोपिएको रहेछ । पानी थाप्ने बाल्टी डोरी के के छ के के अब म यो सामानमा लडिबुडि गर्छु भन्ने सोच्दै थिए मेरो नाम आइहाल्यो ओई ।  ।।।।।।पीडित म खुशीले गद्गद् भएँ । हात पसारे मुक्कुराए उनिहरुले मेरो रुन्छे हाँसो खिचे । म झन मुस्कुराए । म पीडित हुँ भन्ने बिर्सिएँ । पोको बोकेर दौडिए । म हत्तारमा छु । अर्काे लिन जानु छ घर नपुग्दै कसैले करायो राहत आयो राहत आयो १११ फेरि कुलेलाम ठोके । राहतको गाडी खोली सकिएछ । झन अहिले त के के हो के के आप्पा पापा मेरा दिन बले बाबू साहाबको कट्टु देखि मैसावको पेटिकोट सम्म पो रहेछ बाई १ आँट गरेर अघि सरे कट्टुका कपाल टक्टकाउँदै झोलामा हाले । मेरो दशंै सम्झिए । ४० बर्ष सम्म नमनाएको दशै यसपाली मनाउन पाइने भईयो । म दंग छु अब काखिका भुत्ला भएका कमिज लिन कपडाका पोखरीमा पौडी खेले । बाबू साबका घुसिया जखमले शरीरका गन्धले नाक अचम्म पर्दैछ । तीनका कपडा झोलामा कोच्दैछु मेरो बबुरो शरीरमा यो झघमले कमिज कसरी अड्याउने मलाइ थाहा छैन । तैपनि झोला भर्दै छु । आ ।। जेसुकै होस् मेरो झोलाले भडाल्नो निकाली सक्यो तर पनि म छोड्ने वाला छैन । फेरी आवाज आयो राहत ११ कपडाको पोखरीबाट बाकटे हान्दै निस्किए ओ हो ११ चामल त्यतै हानिए भिडलाइ कुनाले धकेल्दै अगाडी बढ्छु । भिडबाट बोरा काँधमा हाल्दै युद्ध जितेको भावमा निस्कन्छु । गाला फुलाउँदै फुलाउँदै खानु पर्छ भन्ने सोच्दै घरकी बुढी घरको आँगनबाट हेर्दैछे । मेरो पिठ्ठीउँको बोरा नियाल्दैछे । गाली गर्दै छे । नामर्द मेरो पोई लाछी बोरा बोकेको कस्तो सानो १११ सोच्दै छे अब म घरको झुण्डिएको पिँडीमा बोरा फाल्छु । 
    अहिलेसम्म मैलो धोतिमा बेरिएकी मेरी स्वास्नी दंग छे । मिनेट मिनेटमा लुगा फेर्छे । छिमेकीका पैहे तिर दौडिन्छे । बुख्याँच्या जस्ती देखिएकी छे । तैपनि जरौलिले ढाकिएकी छे । मोरी कति राम्री आहा एकैछिन उस्लाइ हेर्छु तर म भ्याउदिनँ फेरि राहत राहत । आवाज आउँछ दौडिन्छु पत्रकार आएछ मेरो कन्तबिजोग सोध्न थाल्यो । म कुम हल्लाउँदै भाषा खोज्दै सुनाउन थाल्छु । छेउमा भएको अर्काेले अर्कीले थप्न थाल्छन् । मेरो गाउँमा आज जात्रा छ मेरो कन्त बिजोगको कथा राम्रै मुल्यमा बेचेर उसले सजिलै पेट पाल्छ । अर्काेले सोध्छ परिवारका कोहि पुरिए ? म छैन भन्छु सबै बाँचेको कुरा उसलाई सस्तो लाग्छ उ अर्कैतिर लाग्छ मेरो कन्तबिजोगले नपुगेर मरेको लाशको पछि लाग्छ । सरकारी लस्कर लास परेको घरमा पुग्छ्न् । पैसा बाँड्छ्न् । म पैसा नपाएकोमा दुःखी हुने कि खुशी ? छुट्याउन सक्दिनँ । पत्रकार कसको बिजोग मजाको छ भन्दै दौडिएको छ उसले आज हाम्रो बिजोगको ठुलै पोको लिएर गयो । बेलुका टेलिभिजनमा मेरो फोटो आयो । मेरा भत्किएका घर पाखा देखायो । म अब बस्तिको हिरो छु जस्तो लाग्न थाल्यो । आफैलाइ टिभीमा हेर्दा म जती खुशी को होला ? साथीलाई बोलाए टिभी खोल्न लगाए । गाउँ नै पुरै म टिभिमा बोलेको आवाजले गुन्जिएको छ । मलाई सारा बिश्वले देख्यो । म पुलँकित छु । मेरो खुशीको सीमा छैन । म सम्पन्न छु । के छैन आज म सँग ? चामलका बोरा छन । लत्ता कपडा छन् ।  त्रिपालको खात छ । घर जाबो त पुरानो थियो भत्कियोस् । छैन त केवल यत्रो खुशी साट्ने मेरो साथी पहिरोमा प¥यो तर पनि उ पुरिएर मलाई गुण लगाएरै गयो । उ नपुरिएको भए यत्रो राहात मलाइ कस्ले दिन्थ्यो गुण लगाएरै म¥यो । यो प्रवृत्ति यो पटकको विपत्तिमा देखियो । भुकम्प, कोभिड जस्ता महामारीमा पनि हाम्रो अवस्था यस्तै थियो । 
    राहातसँगै देखियो अर्काे जात्रा । भुकम्पमा जस्तै राज्यको राहत पाउने आशमा धेरैले घर क्षति भएको नाम टिपाउन दबाब दिए । भुकम्पका बेला पनि त्यहि घर देखाएर लिएको ४ लाख रुपैयाँले अर्काे घर बनाउन ४० लाख ऋण लागेको सबैले बिर्सिएका थिए । त्यो घर नभत्काउँदा भएको क्षतिका बारेमा उसले भन्न सकेन । फेरी त्यहि घर क्षति भएको भन्दै सरकारले दिने राहत तथा अनुदानका लागि उसले नाम टिपाउन खोज्यो । कसैले सोधे ? तेरो शहरमा त्यत्रो घर छ । बजारमा जग्गा छ । यहाँ यत्रो सम्पती छ । अरुलाई दुःखमा सहयोग गरेको भए पो राम्रो हैन र ? फेरी उल्टै तपाई आफै राहतको लागि लाईनमा ? पीडितको सूचीमा ? पीडितको सूचीमा हुन सकिन्छ । तर तपाईलाई राहत आवश्यक छ ? भत्किएको एउटै घर देखाएर राज्यलाई डस्न, चुस्न कति सक्नु भएको हो ? तपाईको मनमा धर्म छैन ? तपाईलाई केहिको डर लाग्दैन ? उ खिस्स हाँसी मात्रै रह्यो । केहि भनेन । बरु उल्टै धम्कि दिदै हिड्यो मेरो नाम पीडितको सूचीमा समावेश भएन भने भोली तँ गाउँमा बस्लास् ? अर्काे चुनावमा तँलाई देखाम्ला ? 
    २०८१ असोज १०–१२ काभ्रेपलाञ्चोक जिल्ला आसपासका क्षेत्रमा अविरल वर्षात् भयो । जसका कारण सयौंले ज्यान गुमाउनु प¥यो । कयन बेपत्ता छन् । संरचना तथा भौतिक सम्पत्तिहरुको क्षतिको लेखाजोखा नै छैन । मानवीय संवेदना जोडिएका कयन बस्ति तथा संरचनाहरु बगाएका छन् । मानवबस्ति खण्डहर बनेको छ । बिपत्ति पछिका ८८ दिनमा सदरमुकाम धुलिखेलमा खानेपानी संचालनमा आयो । शिक्षा, स्वास्थ्य, पर्यटन, सरकारी कार्यालयहरु, नेपाली सेना, नेपाल प्रहरी तथा विभिन्न क्षेत्रमा संकट देखियो । नगरपालिकाले पनौती नगरपालिका वडा नम्वर १२ र पनौती नगरपालिकासँग अलग–अलग छलफल ग¥यो । पटक–पटकको संवाद तथा छलफल पछि धुलिखेल नगरपालिकामा ल्याएको खानेपानी संचालनका लागि सहमति हुन पुग्यो । उता खानेपानी आयोजना सम्पन्न गरी उद्घाटनको मिति तोकिएका आयोजना ध्वस्त भई शुन्यमा पुगे । जिल्लामा १ सय ९८ आयोजनामा क्षति पुग्यो । खानेपानीमा मात्रै  ८४ करोड १२ लाख ६२ हजार रुपैयाँ क्षति पुगेको छ । इन्टेक, पाईप लाईन, ईलेक्ट्रिक वक्र्स् लगायतका अन्य पूर्वाधारहरुमा क्षति पुगेको छ । प्रदेश अन्तर्गतका १ सय ३४ वटा आयोजनामा क्षति पुगेको छ । सविक फोरम, नेवा, युनिसेफ, रेडक्रस लगायतका संस्थाहरुले विपत्ति पछिको अवस्थामा सहयोग गरेका छन् । स्थानीय सरकार र संघ सरकारले संचालन गरेका केहि आयोजनाहरु यो सूचीमा छैनन् । 
    २१ जना विद्यार्थीले ज्यान गुमाए । ज्यान गुमाउनेमा शिशु कक्षा देखि क्याम्पस तहसम्म अध्ययन गर्ने विद्यार्थीहरु छन् । ज्यान गुमाउने विद्यार्थीहरु क्याम्पस देखि विद्यालय तहसम्मका छन् । बाढी र पहिरोबाट जिल्लामा रहेका २६ वटा विद्यालय पूर्ण रुपमा क्षति भएका छन् भने १ सय ७० वटा विद्यालयमा आंशिक क्षति पुगेको छ । ८१ जनाले ज्यान गुमाएका छन् । ६ जना अझै बेपत्ता छन् ।

जगन्नाथ न्यौपाने
बल्थली, थुम्की रिसोर्ट, पनौती, काभ्रे