2025 February 10/ 02:50: 54am

प्रविधि । प्रयोग । सहजता । सुविधा । त्यो युग र यो युग । आकाश जमिन जस्तै फरक हुन थालेको छ । प्रविधिले हाम्रो जीवनमा धेरै बदलाव ल्याएको छ । हाम्रा बानी, रहनसहन र लवाईखवाई मात्रै होइन, काम गर्ने शैली पनि बदलिएको छ । प्रविधिले हाम्रा कुराकानी र संवादमा पनि बदलाव ल्याएको छ । अरू धेरै कुरामा जस्तै प्रविधिले हाम्रो सोच्ने, बोल्ने र संवाद गर्ने तौरतरिका र विषयमा पनि फेरबदल गरिदिएको छ । सामाजिक सञ्जालको प्रयोगले संवादको दायरा विश्वव्यापी बनाएको छ । तर यसले सतही विषयलाई ज्यादा पक्रन्छ र गहन विषयलाई बेवास्ता गर्छ, त्यसैले यसको प्रयोगमा सावधानी अपनाउनु जरुरी छ । सार्वजनिक संवादलाई पूर्ण रूपले प्रभावित पारेको छ । सामाजिक सञ्जालका प्रत्येक प्रयोगकर्ता जिम्मेवार बन्नुपर्ने अवस्था आएको छ । अक्सर यसको दुरुपयोग हुने खतरा विद्यमान भएको र त्यसको असरले गम्भीर राष्ट्रिय मुद्दालाई पछाडि पार्दै सस्तो लोकप्रियताका खासै काम नलाग्ने विषयमा बहस हुने गरेको छ । 
    प्रत्येक व्यक्तिले विश्वका कुनै पनि कुरामा तत्काल जानकारी लिन सक्ने र त्यसमा प्रतिक्रिया दिन सक्ने अवस्थामा व्यक्त प्रतिक्रियाले ठूलो असर पार्ने हुँदा गम्भीर बन्नुपर्ने छ । सामाजिक सञ्जालको शक्तिलाई प्रयोगकर्ताले अनुभव गर्न सकेन र व्यक्तिगत धारणा मात्रै भनेर सामाजिक सञ्जालमा राख्दै गयो, त्यसरी राख्नेको संख्या ठूलो भयो भने समस्या हुन्छ । यसको प्रयोगमा प्रत्येक मानिस सचेत हुनुपर्ने अवस्था छ । सामाजिक सञ्जालको दुरुपयोग तार्किक भन्दा पनि बदला लिनका लागि पो हुने हो कि भन्ने चिन्ता बढेको छ । प्रविधिका कारण सार्वजनिक संवादको शैलीमा समेत फेरबदल आएको छ । सामाजिक सञ्जाल नभएको भए हरेक मान्छेको पहिचान हुन कठिन थियो । पछिल्लो समय जो जसरी उदाएको छ त्यसका लागि प्रमुख माध्यम बनेको छ सामाजिक सञ्जाल । भूमिगत कम्युनिस्ट नेताहरूबीच हुने खास–खुसदेखि खुला समाजमा भएको छलफल र सामाजिक सञ्जालमा पूरै विश्वसँग गर्न पाइने संवाद देख्न पाउँदा अहिलेको पुस्ताले खुशी नमान्ने कुरै छैन । सामाजिक सञ्जालले बृहत् रूपमा संवादको पहुँचलाई बढाइदिए पनि कुराकानीहरू सतही रूपमा हुने गरेका छन । जो दुःखलाग्दो पक्ष हुन थालेको छ । सामाजिक सञ्जालमा हाम्रा बहस सतही छन् र तर्कशीलताको कमी छ । सामाजिक सञ्जालको आलोचनालाई सामना गर्न नसकेर मोबाइल अफ गरेर बस्नुपरेका, केहि ब्यक्तिहरुले त आत्महत्या नै गरेका घटना पुराना हुन थालेका छन् । फेरिएको सार्वजनिक संवादले युवालाई आफ्नो कुरा बाहिर ल्याउन पूर्ण रूपले मद्दत गरेको छ । हामी समाजमा स्पेस खोजिरहेका छौं । ट्वीटर, फेसबुक, इन्स्टाग्राम, युट्युब र बौद्धिक वर्गले स्विकार्न हिचकिचाइरहेको टिकटकले हामीलाई ठाउँ दिइरहेको छ, हाम्रा लागि त यो नै ठूलो कुरा हो किन भने हामी मनमा लागेका विषयमा अघाउन्जेल बहस गर्न पाउँछौं । यसरी प्रविधिले ल्याएको डिजिटल बहसमा तर्कशीलता कम, आक्रोश बढी र विषयवस्तुको गहिराइ शून्यप्रायः हुन थालेको छ । त्यसमा सुधार ल्याउन युवा पुस्तामा आलोचनात्मक चेत र अध्ययनको विकास हुनुपर्छ ।
    फेरिएको सार्वजनिक संवादमा देशको बेथितिदेखि समाजका अनेकन समस्यामाथि बहस हुने गरेको छ । विषयहरू धेरै छन् बहसका । एजेण्डा कसले तय गरेको हुन्छ ? छलफललाई कसले कतातिर मोडिरहेको छ भन्ने प्रश्न मुख्य हो । किनभने अक्सर बहस अनावश्यक क्षेत्रमा ज्यादा भइरहेको छ । ग्लोबल दुनियाँमा असम्भव पनि सम्भव हुन्छ । कतिपय हामीलाई गाह्रो लाग्ने वस्तुहरु पनि सामान्य ढँगबाट समाधान गर्नमा आजको ग्लोबल दुनियाँले धेरै सहयोग गरेको छ । संसारभरका करोडौं करोड मानिसलाई व्यापार ब्यवसाय गर्न होस् वा घर परिवार साथीभाई सँग गफगाफ गर्न या समय विताउन नै । इमेल इन्टरनेट बिना त अब मानिसहरु बाँच्नै नसक्ने अवस्था आई सक्यो । अझ भनौ यो पनि मानव जीवनको लागी एक आधारभूत आवश्यकता झै भै रहेको छ । यसरी सोचेर हेर्दा लाग्छ संसार परिवर्तित भैरहेको छ हुनुपर्छ । यसले ल्याएका हरेक परिवर्तनले मानव जीवनलाई सधंै सहयोग र फाइदा मात्र गर्छ । तर हरेक कुराको फाइदा मात्र त कहाँ हुन्छ र ? फाईदा सँगसँगै कैयौ बेफाइदा पनि लुकेर बसिरहेका हुन्छन् । हरेक कुराको दुईवटा पक्षहरु हुन्छन् । हेर्दा सानो र सामान्य लाग्ने केही कुराले पनि कतिपय अवस्थामा हाम्रो जीवनलाई गाह्रो बनाइ दिन सक्छ । सन्दर्भ इमेल इन्टरनेटकै कुरा । धेरै पहिले देखि प्राय इन्टरनेट प्रयोगकर्ताहरुले भोग्दै आइरहेका कुरा नै हुन् । फरक समयमा फरक ब्यक्तित्वमा आइलाग्ने फरक तर उही समस्याले म पनि पीडित भईरहेकी छु । सबैले भोगी रहेकै र सुनेकै भएता पनि आज फेरी उही कुरा आफ्नै शैलीमा गर्न मन लाग्यो । विगत देखी विभिन्न साइबर क्राइम फेसबुक काण्ड प्रचारमा आउँदा आउँदा गत महिना मात्र यही इमेल कै काण्डमा केहि ब्यक्तिहरु चर्चित बनेका थिए । विभिन्न संचारमाध्यममा आएका धेरै विषय छन् । याहु इमेल तथा जी इमेलमा आईरहेका समस्याहरुबाट एकदुई जना राम्रो सम्बन्धमा रहेका मानिसहरुबाट पनि मैले त्यो समस्या भोगेको छु । करिब दुइ बर्ष जति अघिको कुरो होला । मेरो एक चिनजानको मान्छेबाट यस्तो मेल आयो कि जसले गर्दा आज सम्म म त्यो मानिसबाट टाढा भागी रहेकी छु । त्यति धेरै नजिकको नभए पनि फोनमा कुराकानी हुने तथा सन्चो बिसन्चोको खबरहरु सोध्नलाई इमेलको प्रयोग हामीमा हु्न्थ्यो । तर अचानक उ बेलायत कुनै काम बिशेषले आएको र सबै सम्पूर्ण पैसा तथा ब्याग हराएकाले अलपत्र परेको बताएको थियो । दुई हजार पाउण्डको सहयोग माग (अपिल) सहित मेल पाउदा म आफै छक्क परे । उक्त ईमेल मैले मेरो नजिकको साथीलाई पनि देखाए । सुझावको अपेक्षा सहित मेरो ब्यक्तिगत ईमेल देखाए बापत उमेरले सानै भए पनि ब्यवहारले पक्का साथीको सुझाव मान्नु नै ठिक लाग्यो । करिब चालिस नाघेका संचार क्षेत्रमा निकै नाम कहलिएका मेरो एक अभिभावक सरहका मानिसले त्यसरी अचानक मलाई दुई लाख भन्दा बढी रकम सहयोग मागेको देखेर आफै असमञ्जमा परे । पापी मन न हो हरेक नानाभातीका कुराहरु सोचेर उक्त दिन देखी उहाँको फोन पनि उठाइनँ । अन्य इमेलको जवाफ पनि फर्काइनँ न त आज सम्म म कहाँ छु भन्ने जानकारी नै दिएकी छु ।
    केहि दिनअघि फेरी मैले सामाजिक सञ्जालमा आएका खबरहरु हेरें । केहि अनलाईनमा आएका लेखहरु अध्ययन गरें । उक्त लेख पढे पछि मात्र मेरो शंकालु नजर मेरा आदरणीय अविभावक गुरुबाट दूर भयो । त्यो उहाँले नभई कम्प्युटरमा दक्ष ब्यक्तिको बदमासी रहेछ भन्ने छर्लङ्ग भयो । उहाँको इमेल आईडी प्रयोग गरेर अन्य कोहि ब्यक्तिले म जस्ता सयौं ब्यक्तिलाई इमेल लेखेछ । सहयोग मागेछ । इमेल रिप्लाई भए पछि उसले बैंक खाता र एकाउण्ट नम्वर मागेछ । धेरैले सहयोग पनि गरेछन् । आजकाल इमेलको सट्टामा केहि ह्याकरहरुले ब्यक्तिका फेसबुक, ह्वाटसअफ, इमो लगायतका संजालको प्रयोग गरेर लुटिरहेका छन् । तसाईरहेका छन् । ब्लाकमेलिङ्ग गरिरहेका छन् । म त्यसमा पर्नबाट बचें । त्यसपछिका दिनहरुमा पनि विभिन्न ठाउँहरुबाट चिठ्ठा जितेको क्लेम गर्न आउने अनुरोधमा धेरै वटा मेलहरु प्राप्त भयो । तिनीहरुलाई त फेक नै हुन भनि इग्नोर गर्दै रहे । इमेलका कुरा छोडौ फेसबुक तिर लागौ । फेसबुक अहिलेको भुराभुरी देखी लिएर कम्प्युटर खोल्न सम्म जान्नेहरु सबैको साथी बनेको सामाजिक सञ्जाल हो । यसले पनि कैयौ मानिसहरुको ज्यान धरापमा पारेकै छ । हरेक पटक हामी समाचारहरु सुनिरहेका हुन्छौ की फेसबुकका कारणले फलाना ठाउँमा यस्तो भयो उस्तो घटना घट्यो । म माथी त्यस्तो ठुलो घटनै त घट्या हैन तर पनि हेर्दा सामान्य लाग्ने तर आफ्नो व्यक्तिगत जीवनमा दखल अन्दाज पर्ने घटना घटि रहन्छन् । बिगतमा पनि एकपटक मेरै फेस धारण गरि नक्कली नाममा एकाउन्ट खोली साथीभाईहरुको वालमा जे पायो त्यही पोष्ट गर्ने तथा विभिन्न बदमासी कमेन्टहरु राखिने कार्य भयो तर त्यो कालो कृत्य कसले गरे किन गरे भन्ने कुरा अहिले सम्म गर्भ भित्रै छ । जे भए पनि त्यो कार्य एक आत्मा नभएका मानिसले गरे र केही मेलहरुबाट चेतावनी दिने वित्तिकै बन्द गरे । तर यस्तो यस्तो कार्य फेसबुकमा आफै पनि हुने रहेछ भन्ने कुरा थाहा पाउदैछु ।
    करिब ६ महिना अगाडी होला मेरो एक जना छिमेकी दाईले उसको वालमा आएको एउटा अश्लिल भिडियो क्लिक गर्ने बित्तिकै ५२ जना साथीहरुको वालमा पोष्ट भएको थियो । उक्त भाइरस कतिपय साथीहरु कतिपय बहिनीहरुको वालमा पनि परेकोले लाज तथा डरले दाईको पसिना नै निस्केको थियो । त्यहि प्रकृयाले मेरो वालमा पनि एउटा स्टाटस अपडेट भएछ । म त्यसदिन बाहिर थिए । म प्रायः मोवाइलबाट नेट नचलाउने हुनाले मैले फेसबुक खोल्ने चान्स त करिब जिरो नै भयो तर अचम्म दिउँसोको तीन बजेतिर मेरो फेसबुक वालमा स्टाटस चेन्ज भएछ । उक्त स्टाटस यस्तो थियो – फेसबुकमा अनलाइन हुने साथीहरु मध्ये ५ जनाले लाईक भ्याएछन र ४ जनाले कमेन्ट गर्न पनि भ्याएछन् । साथीहरु न हुन जिस्केर कमेन्ट त गरि हाल्छन । केही जिस्काइएर लेखिएका म्यासेजहरु इनबक्स भित्र पनि थिए । करिब तीन घण्टा सम्म अनभिज्ञ थिए । जब मैले फेसबुक खोले आफ्नो स्टाटस नै अर्कै छ । लौ यो त कमेन्ट गर्नु लाइक गर्नु स्वभाविक नै हो अचम्मको कुरा भएन । सोचे कसैले मेरो पासवर्ड थाहा पाउनेले उक्त काम गरे होलान् । तर अचम्म के भने त्यही समयमा उहि तरिकाले मेरा २३ जना फेसबुक मित्रको वालमा पनि बिभिन्न कुराहरु पोष्ट हुन गएछ । जब म होम पेजमा गएर पुरानो पोस्ट हेर्नको लागी मुनी मुनीको स्क्रोल दाब्दै हेर्दै गए उहि समयमा मेरै नामबाट सम्पुर्ण मेरा साथीहरुको वालमा के के लेखिएको देखेर निली काली भए । यसमा मेरा साथीहरुकोमा त छँदै थियो अझ आदरणीय गुरुहरुको वालमा पनि अश्लिल झै लाग्ने शब्दहरु पोष्ट भएको देखेर चित खाए । म सँग रहेका साथीहरु प्रायः सबै नै चिरपरिचितहरु मात्र भएको हुनाले मैले त्यस्तो पोष्ट उनिहरुको वालमा भएको देखेर मै बेहोस भए । हतार हतार सबैका वालमा गएर रिमुभ गर्न थाले करिब तिनवटा पोष्ट रिमुभ गरि सके पछि देखे एउटा ब्लक बटन त्यसमा क्लिक गर्ने बित्तिकै सबै साथीहरुको वालमा नदेखिने भयो । बल्ल शान्तिले स्वास फेरेँ । पछि यसो सोचि हेर्दा लाग्छ त्यो अन्य कसैले पासवर्ड चोरी गरेर खोलि पोष्ट गरिएको नभई सायद नजानिकन कुनै एक्लिकेसनमा थिचेपछि त्यस्तो हुन गएको हो । यदि त्यस्तो कुनै एप्लिकेशनबाटै उक्त कुराहरु पोष्ट हुनु थियो भने त जति खेर क्लिक ग¥यो उति नै खेर पोष्ट हुनुपर्ने । एकाउन्ट नै नखोलिएको बेला कसरी त्यस्तो भयो । तर फेरी ति सबै पोष्टको पछाडी कुनै भाइरसकै कारणले होला भन्ने शंका गरे मैले । यदि त्यो पासवर्ड चोरले नै गरेको हो भने पनि छानि छानि किन पोष्ट गर्नु ? जे होस नहुनु पर्ने भयो । त्यसैले साथीहरु तपाईहरु पनि होस गर्नुहोस कहिले काँही अन्य साथीहरुले इन्भाइट गरिएको त्यस्ता विभिन्न खाले एप्लिकेशनलाई क्लिक नगर्नुहोस् । सामाजिक सञ्जालका कारण हुन सक्ने सम्भावित जोखिम र दुर्घटनाबाट बचौं । 

रस्मि कटुवाल
बनेपा, काभ्रे