‘आमा त्यो को हो ?’ छोरीले शंकास्पद हेराईले प्रश्न तेस्र्याई । मेरो अनुहारमा कालो बादल मडारिन थालेको थियो । के गरौं कसो गरांै भयो । आफुलाई नियन्त्रणमा राख्दै मैले भनें ‘तँ चिन्दिनस्, किन चाहियो तँलाई ?’ हरेक दिन वा धेरै पल्ट उसको मनमा यस्तै प्रश्नहरुको डेरा जमेको थियो । मनमा भएको बाँध फुटाउँदै उसले आँटले भए पनि मलाई सोध्ने प्रयत्न गरी । उसको प्रश्नहरुको उत्तर थियो तर म दिन सक्दिन थिएँ । उसले ति प्रश्नहरु सोध्न सक्छे भन्ने मलाई लागेको थियो । तर पनि मलाई ति प्रश्नको वास्ता पनि थिएन । मेरो आफ्नै छोरी हो सम्झाउन सक्छु भन्ने विश्वास पनि थियो । त्यो दिन मैले उसको प्रश्नको उत्तर नदिन सकिनँ । ढाँट्न सकिनँ । प्रयत्न धेरै गरें । उनका मनमा खेलेका धेरै प्रश्नहरुको जवाफको प्रतिक्षामा थिईन् उनी ।
मैले नचिनेको मानिस हाम्रो घरमा किन आएको त ? कि मलाई चिनाउनुस् । कि उ किन सधै आउँछ भन्नुस् ? मेरो अनुहार हेर्न लायक भएन । एक किसिमको डर, त्रास फैलिएको अनुभव सजिलै गर्न सकिने थियो । म चुप लागेर आफ्नो कोठाबाट निस्किएर सिधै बाथरुमतर्फ गएँ । छोरी पछि पछि आईन् । ढोका बन्द भैसकेको थियो बाथरुम भित्रबाट मैले उनी आएको देखिरहेको थिएँ । मेरो मनमा बलेको आगो झनै दन्किरहेको थियो । के गरौ ? कसो गरौं ? के भनौ ? कसो भनौं ? कसरी उनको मुख थुन्ने होला ? ढाँटौ भएन । नढाटौं त्यस्तो विषयको कुरा कसरी भन्न सक्नु ? मनको कुरा उनले बुझ्ने बेला पनि भएको थिएन । मनमा अनेक प्रश्नहरुले डेरा जमायो । विगत, वर्तमान र आगामी दिनमा हुन सक्ने र पार्न सक्ने प्रभावका बारेमा धेरै बेर सोचें । शौचालय भन्दा अर्काे उत्तम स्थान मैले भेटिन । कस्तो कष्ट भयो होला सम्झनुस् त ? जो कोहिले पनि संकट परे पछि गर्ने त्यहि हो । अझ धेरै संकट पनि ब्यक्तिहरुले त्यो भन्दा ठुलो जोखिम लिएर टार्न सक्छ ।
शौचालय गएको शौच आएर हैन । मनमा छड्किएको औडाहा कम गर्न थियो । एकछिन जस्तै लागेको थियो । आधा घण्टा भन्दा धेरै भई सकेछ । छोरी शौचालयको ढोका बाहिर उभिएर बसिरहेकी थिईन् । धेरै बेर ढोका नखोलेपछि उनी आफैले बाहिरबाट ढोका ढकढक गरिन् । म झस्याङ्ग भएँ । तत्कालै ढोका खोल्ने आँट पनि आएन । नखोली सुख पनि थिएन । के भनौ भनौ ? उसले सोधेको प्रश्नको जवाफ कसरी दिउँ ? त्यस्तै अनेक प्रश्नहरुका बाबजुत उत्तर फेला नपार्दै मैले शौचालयको ढोका खोलें । उनी ठिङ्ग उभिएकी थिइन् । मेरो जस्तै उनको मनमा पनि छट्पट्टाहट थियो । मैले आमालाई बेकारको प्रश्न सोधेछु जस्तो अनुभुति भएको हुनुपर्छ । नत्र आधा घण्टा भन्दा धेरै शौचालयमा किन बस्छ मान्छे ? सन्चो नभएको पनि हैन । भएको पनि छैन । सन्चो नभएको भनौ भने अस्पताल जानु पर्ने पनि हैन । उनलाई वास्तै नगरी म आफ्नै कोठामा गएँ । कोठामा पनि ढोका बन्द गरेर मनभरी रुने योजना बनाएँ । तर पनि उनले छाड्न मानिनन् । ढोकाको चुकुल लगाउन पाउँदा नपाउँदै उनि मेरो पछि पछि दौडिएर आएकी थिईन् ।
उनी भर्खर १४ वर्षकी थिईन् । उनमा केहि परिपक्वता देखिन्थ्यो । सायद दुःख पनि बुझेर होला । उनको मानसपटलमा हाम्रो घरमा रात परेपछि आउने नयाँ मान्छेसँग आमाको सम्बन्ध के छ ? वा छोरीसँगको सम्बन्ध के हुन सक्छ ? सधै आउँछन् अनि केहि समय पछि जान्छन् । उनको मनमा जमाएको त्यो प्रश्नको उत्तर नपाउँदासम्म उनले छाड्ने भईनन् भन्ने भए पनि मैले त्यहि प्रश्नका उत्तरहरु खोज्न भागिरहेको थिएँ । कहिले शौचालयको ढोका बन्द गरेर प्रश्नको उत्तर खोजें त कहिले आफ्नै ओछ्यानमा मुख छोपेर रोएर उत्तरका बारेमा सोचें । म आफै अनुत्तरित थिएँ छोरीलाई कसरी दिउँ उत्तर ? ढोकाको चुकुल खोल्न सहज थियो । उनि भित्र पसिन् । क्रोध र आवेग सहित फेरि प्रश्न गरिन् । म आज जसरी भए पनि जान्न चाहन्छु आमा को हुन् तिनीहरु ? म अब सानो छैन । मलाई सत्य कुरा भन्नुस् आमा । छोरीको यस्तो ढिपी देखेर मेरो निधारमा पसिनाका थोपाहरु बग्न थाले । कति झुट कुराहरुले आज सम्म चलिरहेको थियो तर आज त्यस्ता कुराले उनलाई विश्वस्त नहुने देखेर चुप लाग, अलि सानो स्वरले बोल, भाई बहिनी उठलान भन्दै सम्झाउने प्रयत्न गरें । उनी केहि संयमित भई्न । मैले दिने उत्तरको प्रतिक्षामा बसिन् । मेरो रातो पिरो भएको अनुहार नियाल्न थालिन् । आफुलाई कुनै कैदीलाई झै परिबन्दमा पारेको झै लाग्न थाल्यो । केहि क्षण अघि मुख छोपेर रोएको म छोरीसँगै भक्कानिएर रुन थालें । भक्कानिदै गर्दा मैले मनका बेदनाहरु पोख्न थालेछु । त्यतिबेला मैले कुनै झुट विषय बताउन सक्दिन थिएँ । मनमा भएका सबै कुराहरु पोख्न पाएकोमा हलुका पनि महसुस भयो । एकदिन न एक दिन उनिहरुले बास्तविकता थाहा पाई नै हाल्थे । आफ्नै सन्तानलाई ढाँट्नु पनि पाप नै हुन्थ्यो । आमाको बास्तविकता बुझे भने मात्रै सन्तानले सहयोग गर्न सक्थे भन्ने लाग्यो । चाहेर पनि मैले छोरीसँग आँशुसँगै सत्य बोल्दै गएँ । मलाई माफ गरिदेउ छोरी, म विवश छु । मैले तिम्रो बाबुको देहान्त पछि तिमीहरुको लालनपालन, पढाई खर्च धान्न नसकेर देहव्यापार गर्न थालेकी हुँ । म संँग अरु कुनै विकल्प थिएन र छैन पनि । उनी छाँगाबाट खसे झै भईन् । उनलाई पुरै ब्रम्हाण्ड नै आफु माथि खनिए जस्तै लाग्न थालेको थियो । कुनै भुत्ते खुकुरीले पटक–पटक रेटिएको भान गरिन् । थच्चक्क भुँईमा बसिन् र सुक्कँ सुक्कँ गरि रुन थालिन । यस्तो काम गर्नु भन्दा हामीलाई मारिदिनु भएको भए हुन्थ्यो नि आमा । किन यस्तो पेशा अंगाल्नु भएको ? अब गाउँलेले थाहा पाए भने हामीले कसरी मुख देखाउने ? उनी मेरो भन्दा धेरै बलिन्द्र आँशुको धारा बगाउँदै रुन थालिन् ।
म भाव शुन्य भएँ । कोठामा एक प्रकारको सन्नाटा छाएको थियो । बाहिर किराहरुको साम्राज्य चलेकोले भित्रसम्म पनि किराहरु कराएको आवाज प्रष्टैसँग सुनिएको थियो । त्यो सधैं हुन्थ्यो । तर आजा भित्रको सुनसान, पीडा नै पीडाको समय । वर्षात्मा झरी परे जस्तै आमा छोरीको आँखाबाट बगिरहेका आँशु । केहि बेर पछि उनी जुरुक्क उठेर आफ्नो कोठातर्फ जाँदै थिईन् । उनको मुखबाट मलाई गाली गुन्जिदै थियो । हामीलाई नपढाएको भए पनि हुन्थ्यो । कमसेकम आज यो दिन आउँदैन थियो । उनको चिन्ता आफ्नो नाम बदनाम हुन्छ भन्ने थियो । आमाले किन त्यसो गरिरहेकी छिन् ? किन सन्तानको शिक्षा र दिक्षाका लागि प्रयत्न गरिरहेकी छिन् त्यो बुझेकी पनि थिईन् । मैले भनेको कुरा पनि उनले कति सहज वा असहज बुझिन मैले सोधिनँ । तर पनि उनले त्यो दिन मैले गरेको ब्यवसाय वा मेरो पेशाप्रति उनको घृणा थियो । बरु सानैमा सबै सन्तानलाई मारिदिएको भए यो अवस्था वा पेशा गर्नु नपर्ने कुरा उनको भनाईबाट छर्लङ्ग थियो । उठेर आफ्नै कोठा तर्फ गएकी छोरीले ढोका ड्याम्म हुने गरी बन्द गरिन् । सुक्सुकाउदैँ भारी मन लिएर ओछ्यानमा पल्टिएको देखिन्थ्यो । सन्तान न हो । उनी निदाए पछि म पनि निदाउने प्रयत्न गरें । कतिबेला निदाए पत्तो भएन । भोलिपल्ट बिहानको ८ बजिसकेको थियो । सधैँ झै बिहानको घरधन्दा सकाएर आउँदा पनि छोरीले कोठाको ढोका खोलेकी थिईनन् । ढोका नखुलेको देखेर ढकढक्याउन थालें । स्कुल जाने बेला भैसक्यो किन न उठेकी ? ढोकामा हिकाएँ । भित्रबाट कुनै उत्तर आएन । जोड जोडले ढोकामा हान्न थालें । मनमा नानाभाँतीको शंकाले बास जमाउन थालेको थियो । ठुलो–ठुलो आवाजले बोलाउन थाले पछि चर्काे र अत्यासिएको स्वर सुनेर वरिपरीका छिमेकीहरु जम्मा हुन थाले । सबैले यतिबेरसम्म ढोका नखोल्नुको कारण कुनै गलत घटना भएको हुन सक्ने आशंका गरे । मलाई झनै औडाहा भयो ।
सबैको सल्लाह बमोजिम ढोका फुटायौं । उफ् रातो सलले आफ्नो घाँटीमा पासो लगाई कोठाको सिलिङ्मा झुण्डिएर आत्महत्या गरेकी छोरीको शव देखेर म त्यहि ढलें । कोलाहल मच्चियो । म अचेत भएँ । सबैले मिलेर मलाई अर्कै कोठामा लगेर राखेछन् । केहिले प्रहरीलाई फोन गरेर सुचना दिएछन । केहि छिनमै घटनास्थलमा प्रहरी आई पुगिसकेको थियो । उनको कोठाको राम्ररी निरीक्षण गरे पश्चात छोरीको हस्ताक्षर सहितको पत्र प्राप्त गरेछन् । जसमा उनले आफ्नो मृत्युको दोष कसैलाई पनि नजाने र आफुलाई जिवन देखि वितृष्णा जागि देहत्याग गरेको व्यहोरा उल्लेख गरेकी रहिछन् । यो घटना पश्चात गाउँघरमा उनले आत्महत्या गर्नुको कारणका बारेमा विभिन्न अड्कलबाजीहरु हुन थालेको थिए । कोहि प्रेममा धोका भएकोले आत्महत्या गरेको हुन सक्छ भन्दै थिए भने कोहि नजिकै आईरहेको एसएलसी परीक्षाको प्रेसरले गर्दा हुन सक्ने आशंका गर्दै थिए तर कसलाई के थाहा छोरीले आफ्नो आमाले रोजेको पेशाबाट असन्तुष्ट भएर देहत्याग गरेकी हुन् भन्ने कारण कसलाई थाहा थियो र ? केवल उनी अनि म ? उनले त देहत्याग गरिन् तर उनले बाबुको मृत्यु आफु ८ बर्षको हुदाँ भएको, घरमा स–साना नानीहरुको रेखदेख लगायात राम्रो बोर्डिङ्गमा पढाएर ठुलो मान्छे बनाउने महत्वाकांक्षा बोकेको, आमाले सम्पत्तिको नाममा सानो कच्ची घर बाहेक कुनै आम्दानीको स्रोत नहुँदा समाजमा मान्यता नपाएको, एकल महिला हुँदा भोगेका अनेक घृणाहरु सहेको, बाध्यताबश अंगालेको पेशा भन्ने बुझ्नै चाहिनन् । सहन पनि सकिनन् । विकल्पहरु अरु पनि हुन सक्थे होला । त्यो पनि भएन । मैले पनि त्यसलाई झुट बोलेर केहि भनेको भए पनि हुन्थ्यो होला । सायद त्यहि झुट बोल्न नसकेको परिणाम कहालीलाग्दो घटना हुन पुग्यो । उनिहरुकै लागि मैले खाई नखाई गरेको दुःख, शरीर विक्री गरेर हुर्काएका सन्तानहरुले नै बुझ्न सक्दैनन् । हो हामीले सन्तानलाई दिन नसकेको शिक्षा नै यहि हो । आजकाल हरेक घरमा यस्ता घटनाको शिकार अभिभावक बनिरहेका छन् ।
सुनेको छु यस्ता घटना न्यूनीकरण समुदाय सक्रिय हुँदैछ रे । सम्भव कसरी होला ? हामी जस्ता एकल महिलाका अधिकार, संरक्षण र रोजगारको सुरक्षा राज्यका निकायले लिन सक्छन् ? रोजगार नहुँदा सन्तानको पेट पाल्न शरीर नै विक्री गर्नु पर्ने परिस्थितिको अन्त्य हुन सक्ला र ? आजकाल मेरा दुई सन्तान पनि स्कुल जाँदैनन् । गए पनि फुर्सदमा जान्छन् । मैले त्यो पेशा त्यहि दिन देखि छाडें । अहिले हामी तीन जना नै मजदुरी गर्छाैं । आएको पैसाले घर भाडा तिर्छाै । भएको एउटा घर पनि बस्न नुहने भएको छ । समाजले हेर्ने दृष्टिकोण पनि फरक छ । सायद पछिल्लो समय आत्महत्या बढिरहनुका मुख्य कारणहरु यस्तै यस्तै छन् कि ? घटनाको मुख्य जडमा पुग्न सक्यौं भने उपचार पनि सहज हुन सक्छ कि ?
छोरीलाई खुशी दिन नसकेकी अभागी आमा
बनेपा, काभ्रे